काठमाण्डौ । कुनै पनि कम्पनीले आह्वान गरेकै भरमा सेयर खरीदका लागि पैसा खन्याइरहनुुभएको छ भने एकछिन पख्नुुहोस् । तपाईले कतै गैरकानूनी सेयरमा लगानी गरिरहनुु भएको त छैन ? केही जलविद्युत कम्पनीहरुले धितोपत्र बोर्डमा दर्ता नै नगरी सेयरमा लगानी गर्न सार्वजनिक रुपमै सूचना प्रकाशित गरेपछि लगानीकर्ता ठगिने संभावना देखिएको हो । 

बोर्डले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट व्यवस्था गरेकोमा कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको पाइएको बताएको छ । 

‘यसरी धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारण समक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकोले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्बन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई सूचित गरिन्छ ।’ बोर्डले विज्ञप्तिमा भनेको छ ।  

बोर्डले यसरी गैरकानुनी ढंगबाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्नसक्ने भन्दै यस्ता धितोपत्रहरुमा लगानी नगर्न र नगराउन लगानीकर्तामा आग्रह समेत गरेको छ । 

बोर्डले विगतमा यस्ता गैर कानुनी ढंगबाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थाहरुलाई धितोपत्र निष्काशन गर्न रोक लगाएको र लगानीकर्ताहरुलाई समेत सर्तक गराइएको समेत उल्लेख गरेको छ ।