काठमाण्डौ । हनुमान हाइड्रो पावर कम्पनीले ४३.२ मेगावाट(मेवा) क्षमताको छिलुङ्ग खोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । 

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा रहेको छिलुङ्ग खोलामा आयोजना निर्माण गर्न लागेको हो । कम्पनीले चुमनब्री गाउँपालिका ३ भएर बग्ने छिलुङ्गखोलाको पानी प्रयोग गरेर नदी प्रबाहमा (आरओआर) आधारित उक्त आयोजना निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन पूरा गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन समेत वन तथा वातावरण मन्त्रालयले यसअघि नै स्वीकृत गरिसकेको छ ।

आयोजनाको बाँध सिर्दिबास गाउँ र विद्युतगृह चिलुन गाउँ र चुमचेट गाउँ नजिकै  रहनेगरी डिजाइन तयार पारिएको छ । आयोजनामा ८ हजार ८४५ मिटर लामो हेडरेस पाइप र १ हजार ९३८ मिटर पेनस्टक पाइप रहनेछ । विद्युतगृह भुमिगत हुनेछ ।

आयोजनाबाट वार्षिक ऊर्जा उत्पादन सरदर २५८ .५१ गिगावाट हुनेछ । प्रस्तावित आयोजनाबाट ४८ महिनापछि विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 
 

उत्पादीत विद्युतलाई नेपाल विद्युत् प्राधिकरणद्वारा निर्मित लापान सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ ।

विद्युत् विकास विभागले प्रस्तावित उक्त आयोजनाको निर्माण तथा सञ्चालन गर्दा भूक्षय, वायू प्रदूषण जस्ता प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय दिन सर्वसाधारणमा अनुरोध गरेको छ ।