-भक्तराज रसाइली
काठमाण्डौ । केही दिनदेखि लगातार घटिरहेको नेप्से इण्डेक्स मंगलबार हराभरा भयो। लामो समयदेखिको गिरावटको यात्रामा ब्रेक भई एकाएक दोहोरो अंकको उछाल आउँदा लगानीकर्तामा उर्जा र आशाको सञ्चार भएको छ ।
गत आइतबारदेखि त झन् फ्रीफल भई बजारको इण्डेक्समा भएको भारी गिरावट र नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा निरन्तरको उच्च गिरावटले आम लगानीकर्ताहरुको मनोदशा नराम्ररी खस्किएको थियो ।
पृथ्वीमा हरेक चीजको विकास र अन्तको विभिन्न चरणहरु हुने गर्दछन् । यसैगरी यो नियम सेयरबजारमा लागू नहुने त कुरै भएन । बजारलाई बियरिस र बुलको उपमा यसै कारण दिइन्छ, घटबढको चरण मापन गर्न ।
सेयर बजारको सुन्दर पक्ष नै सेयरको मूल्यमा हुने गिरावट र उछाल हो । यद्यपि लगानीकर्ताहरुले भने बजार सधैं बढोस् नै भन्ने धारणा पालेका हुन्छन्, जुन सधैं संभव हुन्न ।
बजार घटेर सेयरको मूल्यमा पहिरो जाँदा उनीहरु संगठित भई नियामक र सरकारसँग हारगुहार गर्छन् । नेपालकै सन्दर्भमा त अझ आन्दोलन नै गर्न समेत पछि पर्दैनन् । गत वर्ष इतिहासमै पहिलोपटक लगानीकर्ता आमरण अनसन बसेका थिए ।
त्यतिले मात्र नपुगेपछि विभिन्न संघसंगठन र अभियानका नाम दिएर राजनीतिक दलका नेता र सांसदलाई भेटेर पूँजीबजार सुधार हुनुपर्ने विचार समेत बेला बेला बुलन्द हुने गर्दछ ।
बजारको आफ्नै चक्र हुने गर्दछ । बजार घटबढ हुनुको मुख्य कारण सेयरको माग र आपूर्ति नै हो । विश्वव्यापी सिद्धान्तमा सेयरको मूल्य न्यून हुँदा खरिद चाप बढी बजार बढ्ने र सेयरको मूल्य उच्च हुँदा बिक्री चाप बढी बजार घट्ने हुन्छ । वास्तवमा यही सिद्धान्तले नै बजारको उत्तारचढावलाई नाप्ने गर्दछ । यसका अलावा सरकार र नियामकले लागू गरेका नीति निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आउने विविध घटनाक्रम लगायतले समेत सेयर बजार प्रभावित भइरहेको हुन्छ ।
बजार बढ्ने वा घट्ने अनेकन कारण हुनसक्छन् । विश्लेषकहरुले बन्द कोठामा बसेर बजार घटबढको विश्लेषण गर्नु उति साह्रो प्रभावकारी नहोला । ग्राउण्ड लेभलमै पुगेर लगानीकर्ताको मनोबललाई नबुझी बजार घट्ने वा बढ्ने कारणको सही पहेँलु पत्ता लगाउन सकिन्न । हामीले यही ठानेर यो सातादेखि लगानीकर्ताहरुको धारणालाई समेट्ने गरी ‘ग्राउण्ड जिरो’ स्तम्भ सुरु गरेका छौ । यो स्तम्भबाट बजारको वास्तविक चित्र बाहिर आउनसक्ने हाम्रो अनुमान छ । संयोग नै मान्नुपर्छ, हामीले यो स्तम्भका लागि सामाग्री संकलन गरेको पहिलो दिन नै बजारमा दोहोरो अंकको उछाल आयो ।
मंगलबार बिजशाला टिम केही ब्रोकर हाउस चाहारेको थियो । ब्रोकर कम्पनीहरुले नेप्सेमा भएका कारोबारहरु डिस्प्ले गर्नका लागि एक छुट्टै कोठा बनाएका हुन्छन् । डिस्प्ले रुममा लगानीकर्ताहरु कारोबार समय ११ बजेदेखि ३ बजेसम्म छलफल, मार्केट वाच र अन्तक्रिया गर्ने, सूचना आदानप्रदान र बजारको माहौलबारे बुझ्ने प्लेटफर्मका रुपमा प्रयोग गर्ने प्रचलन रहँदै आएको छ ।
हाल लगानीकर्ताहरुमा भएको मनोविज्ञान बुझ्दा खासै उत्साह र लगानीको मोह रहेको पाएनौं । उनीहरुले सरकारबाटै पूँजीबजारको विकास र विस्तारमा आवश्यकता महसुस गरी ठोस कदम नचालिए लगानी बढाउन बेकार झैं भएको भन्दै निराशा व्यक्त गरिरहेका थिए ।
कारोबारको पहिलो ११ बजेको प्रहरमा हामी न्यूप्लाजास्थित ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीज प्रालिमा पुग्यौं । सवा ११ बजेतिर ३–४ जना लगानीकर्ताहरु पछाडिको सिटमा बसे । त्यहाँ आएका लगानीकर्ताहरुले बजार फर्कने कुनै छाँटकाँट नदेखिएको दाबी गर्दै असोजपछि बजार झनै घट्ने अड्कलबाजी गरिरहेका थिए । त्यहीँ रहेका एक अर्का लगानीकर्ताले सरकार परिवर्तन र कुनै अप्रत्यासित परिवर्तन नभएसम्म बजार नउक्सने बताए । ‘म त फेरि १०९८ इण्डेक्स आउने लक्षण देख्छु ।’बीचैमा एक व्यक्तिले थपे ।
ठूला लगानीकर्ताहरु बजारबाट पलायन भइसके भन्दै एक गोरा वर्णका व्यक्तिले भने–‘भारतको अर्थतन्त्र खत्तम भयो, अब नेपालमा पनि त्यसको असर त पर्छ नै ।’
हामी १२ बजेको आसपास पुतलीसडक सेयरमार्केट कम्प्लेक्स बिल्डिङमा रहेको ब्रोकर नम्बर २५ श्वेता सेक्युरिटीज प्रालिमा पुग्दा सदाझैं लगानीकर्ता खचाखच थिएनन् । महिला लगानीकर्ताहरु आउने क्रम जारी थियो । ‘खै मार्केट कहिले माथि फर्कन लागेन त हौ ।’ एक महिला बर्बराउँदै थिइन ।
‘अम्बो हेरन झरेको ।’ एक अर्की महिला लगानीकर्ताले आत्तिदै भनिन् ।
सानिमा बैंकले २१ प्रतिशत लाभांश दिनेभन्दा पनि किन्न डर लागेको त्यही रहेकी अर्की महिला लगानीकर्ताले सुनाइन् । ११५६ नेप्से इण्डेक्स झरेपछि एकाएक बजार बढ्न गई ११६५ पुग्यो, जुन निरन्तर बढ्न पनि थाल्यो । त्यहाँ धेरै दिनपछि बढेको बजार र हरियो पोतिँदा लगानीकर्ताहरु निकै हर्षित देखिन्थे । अनि त कारोबार कक्षमा खरिदबिक्रीको आदेश पोष्ट्याउन थाल्दा माहौल एकाएक परिवर्तन भएर उत्साहपूर्ण भयो ।
ब्रोकर नम्बर २५ बाट निस्केर हामीले कमलादीतिर जाने निर्णय गर्यौं । अनि लाग्यौं ब्रोकर नम्बर ३३ अर्थात दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि, त्यहाँ करिब १ बजे आसपास पुग्यौं । त्यहाँ लगानीकर्ताहरु तटस्थ नै देखिन्थे । कुनै हर्ष र विस्मात थिएन । ‘लगातार घटेको भन्दा बढ्यो राम्रै भयो ।’एक पुरुष लगानीकर्ताले बोले । बजार वृद्धिले बेच्ने कि होल्ड गर्ने भन्ने द्विविधामा पारेको भन्दै अर्का लगानीकर्ताले सुनाए । अनि एकछिनमा पुनः इण्डेक्स घट्न थाल्यो त्यसपछि पुनः उनीहरु पनि सुस्ताउन थाले ।
करिब साढे १ बजेतिर हामी हात्तीसारतिर बढ्यौं । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सञ्चालन गरेको ब्रोकर नम्बर ३५ मा पुग्दा लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । सेयर बजारको घटाइ र सस्तो सेयर किनेर थुपार्दाका कारणले होला सायद एक हसिँला युवा लगानीकर्ताले ठट्यौली पारामा भने–‘कट्टू किन्ने पैसा पनि छैन ।’
बजार घट्ने त्यस्तो कुनै क्लु नै नपाएकोमा सोही ठाउँमा भेटिएका अर्का लगानीकर्ताले चिन्ता व्यक्त गरे । ५० प्रतिशत लाभांश आउने हो भने पनि बजारको गिरावटले नथाम्ने एक लगानीकर्ताले दाबीसमेत गरे । त्यही भीडमा अर्का एक लगानीकर्ताले ‘बजार त बढ्नै पर्छ’ भन्दै सकारात्मक अभिव्यक्ति दिए ।
यसपछि हामी स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको कार्यकक्षतर्फ हानियौं । ‘आजबाट चाहिँ बजार फर्कने आशा मलाई थियो ।’उनले कुराकानीका क्रममा भने । सरकारले बजार सन्तुलन र स्थायीत्वका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोष लगायतलाई अनिवार्य सेयर किन्न निर्देशन दिनुपर्ने धारणा बिजशालासमक्ष राखे । केही समयको चियागसिपलाई बिट मारेर हामी बिजशाला कार्यालय रहेको तीनकुनेस्थित कार्यालयमा आइपुग्दा बजार दोहोरो अंकले बढिसकेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago