-भक्तराज रसाइली
काठमाण्डौ । यस साताको सेयर कारोबारको पहिलो दिन नेप्से सूचक दोहोरो अंकले घट्दै ११ सय ४०को विन्दूमा थामिएको छ । 

पछिल्ला दिनहरूमा नेप्से सूचकमा आएको गिरावटसँगै सूचिकृत कम्पनीको मूल्यमा लगातारको पहिरो जारी नै छ । उसै त नेपाली सेयर बजारमा साताको सुरुवाती दिनमा गिरावट आउने प्रचलनलाई आज दोहोरो अंकको गिरावटले नेप्से सूचक, सेन्सेटिभ सूचक र उपसमूहका सबै सूचक रातो पोतियो ।

बजार माग र पूर्तिको ब्याकरण हो, जसमा बजार घट्नुको यकिन कारण आजसम्मै कसैले ठोकूवासाथ भन्न सक्दैनन् । यद्यपि देशको अर्थतन्त्र, विश्व अर्थतन्त्र र लगानीकर्ताको मनोवैज्ञानिक असरका केही झिल्काले समेत अर्थ राखेको हुन्छ ।

यस साता सेयर बजारको हब मानिने पुतलीसडकका ब्रोकरहाउसमा बिजशाला टिमले चाहार्दा  हामीले लगानीकर्ताहरुमा खासै उत्साहित भएका पाएनौं । बजार बढ्दा जोशिने र घट्दा निराश हुने लगानीकर्ताको व्यवहारलाई हामीले समेट्ने प्रयास गरेका छौं । 

वास्तवमा बजार बढ्दा वा घट्दा बजारलाई भने कहिले जस जाँदैन, कारण एकथरिका लगानीकर्ता बजार घटोस् सेयर उठाउने  ध्याउन्नमा मग्न हुन्छन् भने अर्कोतिर बजार बढे सेयर बेच्ने र नाफा बूक गर्ने सोचाइमा हुन्छन् र यही प्रवृतिले नै माग र आपूर्तिको समेत प्रतिनिधित्व गर्दागर्दै बजारले रोमाञ्चक रूप धारण गर्दछ।

करिब १२ बजेतिर पुतलीसडकको शंकरदेव क्याम्पस नजिकै रहेको ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडमा पुग्दा महिला लगानीकर्ताको बढी बाहुल्यता देख्यौं । अफिसको फर्मल ड्रेसमा जाने एक महिलाले खतिवडा ( अर्थमन्त्री डा युवराज खतिवडा) हुञ्जेल बजारमा पहिरो जाने भविष्यवाणी गर्दै थिइन् । ‘कित्ता घटेन ब्यारे बिट्टा पो घट्या हो त’  त्यहीँ छेउमा बसेका एक पुरुष लगानीकर्ताले बोले।

यसपछि शंकरदेव क्याम्पस भित्रको गल्लीमा रहेका ब्रोकर हाउस पस्ने जमर्कोमा हामी ब्रोकरहरुका राजा टप ब्रोकर अनलाइन सेक्युरिटीज प्रालि पुग्दा भने  एक युवा लगानीकर्ताले होल्ड गर्ने समय हो भन्दै चित्त बुझाएको सुन्यौं । बजार घटेको बेला ब्रोकर हाउस रित्तो हुन्छन्, तर ब्रोकर नम्बर ४९ मा भने निक्कै बाक्लै उपस्थिति थियो लगानीकर्ताहरुको । त्यहीँ छेउमा बसेका एक लगानीकर्ताले नेप्से सूचक ११५० बाट झर्यो भन्दै चिन्ता मानिरहेका भेटिए । त्यहाँ हामी केहीबेर बसिरहँदा प्रायः राजनीतिक र समसामयिक राष्ट्रिय गतिविधिकै विषयमा गफ चलिरहेको पाइयो।

सोही गल्लीभित्र रहेको ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीज प्रालिमा पस्दा केही सीमित १०–१२ जना लगानीकर्ताहरु डिस्प्ले रूममा गफ्फिएका भेट्यौं । त्यति नै बेला अगाडि सिट तिरबाट एउटा आवाज आयो । जसमा फर्किन्छ भन्यो किन्यो नघटेको कुन छ भन्दै प्रश्न तेर्स्याइरहेका लगानीकर्ता भेट्यौं । सो ठाउँमा नै भेटिएका अर्का लगानीकर्ताले ‘हाइड्रो (हाइड्रोपावर सेक्टर)को कुरै नगर, जाक्किसक्यो’ भन्दै तर्किए। 

चार–पाँच दिन पछि मार्जिन कल आउने त्रासमा एक लगानीकर्ता बर्बराउदै थिए। सोही ठाउँमा अर्का लगानीकर्ताले हरेक सेक्टर धराशायी छ अनि कसरी सेयर किन्ने ? भन्दै प्रश्न गरिरहेका थिए । ‘बहुमतको सरकार भनेर नै जाकिएको हो ।’ अर्का एक लगानीकर्ताले सरकारप्रति  तीव्र असन्तुष्टि पोखे। 

‘अब राम्रो हुन्छ भन्दाभन्दै उस्तै भयो।’ हाँस्दै एक लगानीकर्ताले हसिलो वातावरणको सिर्जना गरे ।

घडीमा पौने तीन बजेको थियो । कारोबार समय मात्रै १५ मिनेट, अनि हामी हतार–हतार ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीज प्रालिमा उक्लियौ । अफिसको सुरुमै डिस्प्ले देखेकाले हाम्रो आँखा पनि त्यही पुग्यो । सबै राता अनि सूचक गिरावट कायमै । अनि त्यहाँ बसिरहेका लगानीकर्तालाई हेर्दा भने रमाइलो मानिरहेका पायौं । उनीहरू सूचकको रातोमा चिन्ता लिनुका सट्टा मजाक ठट्टामै भुलिरहेका देखिन्थे। ‘अब बजार अझै ५० अंकले गिर्ला ।’ एक लगानीकर्ताले बोले । 

३ बज्न १० मिनेट बाकी थियो । ब्रोकर नम्बर ३७ मा भेला भएका आधाभन्दा बढी लगानीकर्ता बाहिरिसकेका थिए भने बाँकी लगानीकर्ता हरियो होला कि त भन्ने व्यग्र प्रतीक्षामा रहेको देखिन्थ्यो। 

त्यसपछि हामी सोही ब्रोकर हाउसका धर्मराज सापकोटालाई सेयर बजारबारे समयसामयिक भलाकुसारी गर्दा स्टक ब्रोकर एसोसिएसनका महासचिव समेत रहेका सापकोटाले आगामी असोज १० गते एसोसिएसनको एजीएम हुन लागेको जानकारी समेत दिए । 

सेयर बजारको सुन्दर पक्ष भनेकै बढ्ने र घट्ने नै हो । सबै लगानीकर्ता नेप्से सूचक  हरियो हुँदा नरमाउन सक्छ्न भने सबै लगानीकर्ता रातो हुँदा चिन्ता नलिर्इ अवसरकै रूपमा पनि लिइरहेका हुनसक्छन् । आइतबारको ग्राउण्ड जीरोबाट यस्ते प्रवृति देखियो ।