– भक्तराज रसाइली
काठमाण्डौ । भर्खरै सकिएको राष्ट्रिय पर्व दसैं र तिहारको रौनकझैँ सुखद् नबनिरहेको सेयरबजार प्रायः स्थिर अवस्थामा देखिन्छ । माग र आपूर्तिको रस्साकस्सीले नेप्से इन्डेक्सले आकार लिन्छ । यही नेप्से इन्डेक्सकै आधारमा पनि कतिपय लगानीकर्ताले सेयरको लगानीमा प्रारम्भिक निर्णय लिने परिपाटी छ ।
दोस्रो बजारमा सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले फोन, इमेल, भाइबर, ह्वाट्स एप, अनलाइन कारोबार अनि स्वयं ब्रोकर हाउसमै गएर संलग्न हुने गरेका छन् । सेयरबजारमा सूचनाको मध्यविन्दू मानिएको ब्रोकर हाउसमा सूचना चुहिएला कि वा भनौँ माहौल तथा मनोविज्ञान बुझ्नलाई समेत जाने लगानीकर्ताको पनि बाक्लै लर्को रहन्छ । बजारमा आएका तिनै लगानीकर्ताले ब्रोकर हाउसमा आएर गर्ने मन्थनलाई हुबहु उतार्ने बिजशालाको निरन्तरता यो साता अनामनगरमा रहेका ब्रोकर हाउस पुगेका थियौँ ।
हिजो आइतबार सदाझैँ साताको कारोबार सुरु हुने पहिलो दिन हामी अनामनगरस्थित ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज पुग्यौँ । घडीको सुईले ११ बजेको संकेत दिँदै थियो अनि लगानीकर्ताहरु पनि ब्रोकर हाउसमा आउने क्रम जारी नै थियो ।
१०/१२ जनाको उपस्थितिले भीड बाक्लिँदै गर्दा बीचैमा एक लगानीकर्ताले नेपाल बंगलादेश बैंकको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिएकोमा सो कम्पनीको मूल्यअनुसारको लाभांश प्रस्ताव मनासिव नै रहेको तर्क पेस गर्दै थिए । केमा छ न्यूज भन्ने आवाज पछाडिबाट आयो । अनि तिनै लगानीकर्ताले बिजशालामा हेर्नू नि भन्दै जवाफ दिए । म पनि बिजशालाको प्रतिनिधि भएकाले मेरो मनमा खुसी छायो, यस कारण कि हाम्रा डेस्कका डेडिकेटेड सहकर्मी साथीहरुले नेप्सेमा प्रकाशित सूचनाहरु शीघ्र प्रकाशन गरेकोमा बेग्लै आनन्द पनि आइरहेको थियो ।
यसैबीच त्यहीँ रहेकी एक महिला लगानीकर्ताले बोनस दिँदा कर तिर्न जानुपर्ने अप्ठ्यारो भएको गुनासो पोखिन् । बरु कम बोनस दिएर करकट्टी गर्नुपर्ने धारणा उनले राखिन् ।
अर्की महिला लगानीकर्ता भने बैंक खातामा कुन कम्पनीको नगद लाभांश आएको हो, खुट्याउनै गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरिन् । यसैगरी एक पुरुष लगानीकर्ताले रैराङ हाइड्रोपावरले सान्जेन हाइड्रोपावरलाई जित्यो भन्दै चिच्याए । रैराङको सेयरमूल्य १७६ रुपैयाँ पुग्दा सान्जेनको भने १६८ रुपैयाँमा त्यतिबेला कारोबार हुँदै थियो तर नेप्सेमा सूचीकृत भएयता सान्जेनको सेयरमूल्यले जितिरहेको थियो । ‘अब रैराङको सेयरमूल्य बढ्ला जस्तो लाग्यो निकै कारोबार भयो’, त्यहीँ रहेका अर्का लगानीकर्ताले अड्कल गरे ।
अकस्मात फर्मल ड्रेसमा ठाटिएर आएका एक युवा लगानीकर्ताले अबको हप्ता दस दिनभित्र नेप्सेले कुन दिशा तय गर्ने हो निर्धारण हुने दाबीसमेत गरे ।
हामी ब्रोकर हाउस चहार्दैै जाँदा अनामनगरमै रहेको ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिमा पुग्यौँ । हामीले सक्सेस स्टोरी लेखिसकेकी एक महिला लगानीकर्ताले बजार अब के होला भन्दै हामीसामु कौतुहलता जाहेर गरिन् । ‘नकिनूँ मनले मान्दैन, बजार घट्दै छ । बजार पनि कहिल्यै नबुझिने भइयो’, उनले मलिन स्वरमा भनिन् ।
यत्तिकैमा त्यहीँ रहेकी अर्की एक महिला लगानीकर्ताले चाहिँ अब माटो खनेर पैसा ल्याउनुपर्ला भन्दै हँस्यौली वातावरण सिर्जना गरिन् । ‘अब त पैसा पनि सिध्दियो, माटो खन्दा आउने भए ल्याएर हाल्न हुन्थ्यो’, ती महिलाले थपिन् । हुन पनि एक जमात लगानीकर्ताले बजारमा भएभरको पैसा खन्याएपछि हाल यस्तो पीडाबाट गुजार्नु परेको सत्यता उनले पनि बोलेकी थिइन् ।
अनि हामी ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीमा पुग्यौं । बजार घट्ने क्रम जारी नै थियो । ब्रोकर हाउसमा रहेको डिस्प्लेमा रातो रङ पोतिँदै थियो । त्यहाँ भने लगानीकर्ता मौन देखिन्थे। लगभग चकमन्न अवस्था थियो ।
केही व्यक्तिहरु आफ्नै धूनमा गीत हेरिरहेका कोही भने अनलाइन समाचारमा घोत्लिरहेका भेटिए । यसैबीच त्यहाँ एक लगानीकर्ता भने बजारको गिरावटले हो कि अन्य कारण मस्त सुतिरहेका देखिन्थे ।
नेप्से इन्डेक्स गिरावटसँगै त्यहाँ आएका लगानीकर्ता पनि उठ्ने क्रम बढिरहेको पाइयो । बजार घटेसँगै निराशामा रहेका लगानीकर्ताहरु बजारको चमक नआउँदाको यो दृश्य स्वभाविक पनि हो । नेप्से इन्डेक्स घट्दै जाँदा ब्रोकर हाउसहरु पनि रित्तिने चलन नेपालमा नौलो भने होइन ।
साताको पहिलो दिनको कारोबार समाप्ति हुनै लागिरहेको थियो अनि त्यहीँदेखि तलतिर रहेको ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिजमा बिजशाला पुग्दा सुनसान नै थियो । ८/१० लगानीकर्ताको उपस्थिति रहे पनि नेप्सेको भित्तामा पोतिएको रातो रङ टुलुटुलु हेरिरहेका भेट्यौँ ।
यसैबीच अनामनगरमै रहेको ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटिजमा पुग्दा केही लगानीकर्ता आपसमा कुराकानी गर्दैै थिए । एक लगानीकर्ता प्रभू बैंकको सेयरमूल्य ३ सयमा होस् भन्दै जपिरहेका थिए । त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘बुद्धचित्तको रुख नरोपी भएन, पैसाको साह्रै दुःख भयो । अब सेयरबजार हैन बुद्धचित्तको रुख रोप्न पर्ला ।’
हुन पनि हाल नेप्सेको गिरावटले लगानीकर्तामा नैराश्यता जगाई अन्य पेसातर्फ ध्यानाकर्षण गर्दै गरेको बताइन्छ । यत्तिकैमा झोकाइरहेका एक लगानीकर्ता उठेर बजार १ हजारमा आएको छैन अब डेढ सय अंक घट्न बाँकी नै छ भन्दै जिकिर गरे । अनि अर्का लगानीकर्ताले प्रम केपी शर्मा ओलीका कारण बजार घटेको दाबी गरिरहेका बेला अर्का लगानीकर्ताले हामी आफ्नै कारणले बजारमा उत्तारचढाव आएको तर्क सारे । सोही ब्रोकर हाउसमा आएका एक लगानीकर्ता भने सेयर मार्केटलाई सतीले सरापेको भन्दै गनगनाइरहेका भेट्यौँ ।
लगानीको सजिलो माध्यम बनिरहेको सेयर लगानी सेयर कारोबार सूचकमा भएको उत्तारचढावलाई सहर्ष स्वीकार्दै इन्डेक्स गिरावटबाट नआत्तिई धैर्य गर्न सकेको खण्डमा सेयर खरिदबिक्रीले राम्रै प्रतिफल दिन सक्छ भन्ने सकारात्मक सोच सबैमा आओस् । यस साताको कारोबार सुखद्पूर्ण होस् भन्दै बिजशाला टिमको तर्फबाट शुभेच्छा ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago