काठमाण्डौ । ब्रोकर हाउसमा गएर दोस्रो बजारमा धितोपत्रमा लगानी गर्दै आएका लगानीकर्ताहरुको कुराकानी र सोचाइलाई जस्ताको तस्तै उतार्ने बिजशालाको ग्राउण्ड जीरोका लागि आज आइतबार हामी अनामनगरतर्फ लाग्यौं ।

सेयर बजारको दोस्रो हब मानिँदै आएको अनामनगरमा हामी आइतबार ११ बजे ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटीजमा उक्लियौं । गत साता नेप्से इण्डेक्स उकालो लागेर लगानीकर्ताहरुको मनोविज्ञान बढ्दै गइरहेको परिप्रेक्ष्यमा आइतबारको बजार के होला भन्ने जिज्ञासा हामीसामु पनि थियो । ११ बजेसँगै भिजनमा लगानीकर्ताहरुको भीड बाक्लिदै थियो भने बजारले केही अंक सकारात्मक लय समात्न भौतारिरहेको देखिन्थ्यो । 

हामीभन्दा अगाडि रहेका एक लगानीकर्ताले ११–१२ सयमा पीआइसीको सेयर किन्न नपाएको तर अहिले ३७५ रुपैयाँमा आइसक्यो भन्दै बर्बराए । 

‘अब के गर्नु त सम्पत्तिको शुद्धिकरणको बितण्डा आइहाल्यो।’ एक लगानीकर्ताले चिन्तित मुद्रामा बोले । यति भन्दा नभन्दै ‘हाउगुजी हो यो सबै’ अर्का लगानीकर्ताले दाबी गरे । 

गत साता बुधबार ब्रोकरहरुलाई सम्पत्ति शुद्धिकरणको प्रयोजनका निमित्त भन्दै बोर्डले लगानीकर्ताको आर्थिक विवरण पेश गर्न पत्राचार गरेको थियो । शुक्रबार सो पत्रका विषयमा विभिन्न मिडियामा छाएपछि आइतबार बजारमा खेल्ने खेलाडीका लागि यो मसला भयो ।

सस्तोमा सेयर उठाइ चलखेल गर्ने मौकाका रुपमा केहीले लिनसक्ने हाम्रो प्रारम्भिक अनुमान थियो । हुन त बजारमा आएका न्यूजलाई बङ्गयाई चलखेल गर्ने ठाउँ नै भएकाले हामीले यसलाई सामान्य नै मान्नुपर्छ । 

सोही ब्रोकरहाउसमा केही समयपछि एक लगानीकर्ताले भने–‘नेपालीले कमाउन मारवाडीले सेयर किन्दिनुपर्ने नत्र नकमाउने भन्ने धारणा छ ।’ 

यसपछि हामी ब्रोकर नम्बर ५७ अर्थात आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज चढ्यौं । लगानकर्ताहरुको बाक्लै जमघट रहेको सो ब्रोकर हाउसमा पस्दा ‘मार्केट घट्यो नि’ भन्दै चिन्ता मानिरहेका लगानीकर्ता भेट्यौं । ‘म्यासेज आयो रे सम्पत्ति शुद्धिकरणको, यस्तै हो मार्केट बढ्या बेला तर्साउने’–एक पाका लगानीकर्ताले बोले । 

केही मिनेटपछि एकजना लगानीकर्ताले ‘के छ न्यूज’ भन्दै जिज्ञासा राखेर आए । ‘सरकारले खाताको विवरण यहाँबाट(ब्रोकर कम्पनीहरु) पनि मागेको छ रे ।’ एक अर्का लगानीकर्ताले बताए । 

सो ब्रोकरहाउसबाट दोस्रो बजारमा लगानीमा सक्रिय लगानीकर्ताहरु गत साता शुक्रबार पिकनिक गएका रहेछन् । अधिकांश सयम उनीहरुको पिकनिक समीक्षा नै भएको सुन्न सकिन्थ्यो । ‘बजार बढ्छ भनेर पिकनिक गइयो, उत्साह थियो बरै ।’एक महिला लगानीकर्ताले बोलिन् । 

‘बजार बढ्नै नदिने मान्छे लागेका रहेछन्।’एक पुरुष लगानीकर्ताले जवाफ दिए । यत्तिकैमा एक महिला लगानीकर्ताले चाहिँ भनिन्–‘यस्ता आइरहन्छन् फेरि एकदुई दिन पछि भुल्छन।’

ग्राउण्ड जीरोकै सिलसिलामा हामी रानाभाट कम्प्लेक्समा रहेको ब्रोकर नम्बर ३८ दिपशीखा धितोपत्र कारोबार कम्पनीमा उक्ल्यिौं । यहाँ पनि लगानीकर्ताहरुको निकै बाक्लो भीड देखिन्थ्यो भने उता स्टक ब्रोकर विष्णु ओझाको क्याबिनमा लगानीकर्ताहरु झुम्मिरहेका देखिए । 

दिपशीखामा रहेको डिस्प्ले पछाडि हामी बसिरहँदा एक लगानीकर्ताले भने–‘भ्रष्टचारीले पैसा यहाँ ल्याउँछन् नि त ।’ यहाँ पनि उही सम्पत्ति शुद्धिकरणकै भलाकुसारीमा लगानीकर्ताहरु बहस छेडिरहेका पायौं । एकजनाको मोबाइलमा ‘चौतारीको बर’ भन्ने चर्चित लोकदोहोरी बज्दा अर्का लगानीकर्ता हात हल्लाउँदै रमाइरहेका भेटिए । 

यसपछि दिपशीखाबाट हामी ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजमा पस्यौं । निकै शान्त अवस्थामा लगानीकर्ताहरु कुर्सीमा बसिरहेका पायौं । आ–आफ्नै मोबाइलमा केही मार्केट अपडेट त कोही न्यूजमा आँखा डुलाइरहेका देखिन्थे ।

यसलगत्तै हामी हनुमानस्थानमा रहेको ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटीज उक्लियौं । यही ब्रोकरहाउसका संचालक नरेन्द्र सिजापति यसपालि नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका निम्ति आवेदन दिएका ८ जनामध्येका एक हुन् । हामी कालिका सेक्युरिटीजमा रहेको डिस्प्लेतर्फ जाँदा कारोबारको अन्तिम समयमा बजारले सकारात्मक लय समात्ने तर्खर गर्दै थियो । 

‘आज मार्केट पोजिटिभ भयो भने मार्केट १३ सय हो ।’–अगाडिबाट एक लगानीकर्ताले दाबी समेत गरे । ‘माइक्रोफाइनान्स बढेको छ, बैंक बढेको छैन ।’–अर्का लगानीकर्ताले भने । ‘बैंकको संख्या ७ वटा हुने रेन्त ।’एक लगानीकर्ताले बोल्दाबोल्दै अर्का लगानीकर्ताले ‘हावा कुरा हो’ भन्दै तीखो टिप्पणी गरे र भने–‘२० वटा बनाएर देखाओस् न । हेर न एनटीसीले मार्केट हरियो बनाए, अनि गाली चाहिँ अर्थमन्त्रीलाई, लगानीकर्ता आफैं खेलाडी छन् मार्केट चलखेलका लागि’ उनले भने । 

‘बैकिङ नबढी नेप्से नै बढ्दैन।’अर्का लगानीकर्ताले जिकिर गरे । 

‘नेपाल बैंक जस्तो बलियो कम्पनीको मूल्य बढ्दैन, एनआइसीको ४०० मुनि झर्दैन ।’एक लगानीकर्ताले विचार राखे । 

मार्केट पोजिटिभ भयो भन्दै सबै खुशी भए । साताको कारोबारको पहिलो दिन आइतबारको अन्तिम १५ मिनेट समयमा बजारमा करिब ४ अंकले बढेर बजार बन्द भयो ।