काठमाण्डौ । दुई सातादेखि नेप्से इण्डेक्समा देखिएको उकालो गतिमा साताको पहिलो कारोबार दिन आइतबार झिनो अंकले सुस्तता आए पनि कारोबार रकमको बलियो साथ यथावत नै छ ।
बढिरहेको बजारपछि उत्साहमय भएका ब्रोकर हाउसहरुमा हामी ग्राउण्ड जीरोको रिपोर्टिङका लागि पुगेका थियौं । यसपटकको हाम्रो क्षेत्र थियो पुतलीसडक र आसपासका ब्रोकर हाउसहरु ।
बढ्दो मार्केटमा लगानीकर्ताहरु पनि ब्रोकर हाउसमा ११ नबज्दै खचाखच थिए । हामी सुरुमा नेपाल सेयर मार्केट कम्प्लेक्समा रहेको ब्रोकर नम्बर २५ श्वेता सेक्युरिटीजमा पुग्यौं । त्यहाँ केही लगानीकर्ताहरु डिस्प्ले अगाडि बसिरहेका भेट्यौं भने केही लगानीकर्ता ट्रेडिङ कक्ष वरिपरि झुम्मिरहेका पायौं । अघिल्लो सातासम्ममा एनएमबी बैंकको सेयर ४०० उक्लन नसकेको सेयरमूल्य आज आइतबार ४०४ रुपैयाँ प्रतिकित्ता पुग्दा एक लगानीकर्ताले अब चाहि अझै बढ्छ होला भन्ने अड्कलबाजी गरे ।
‘अहिलेको बजार बढाइ बेमौसमको बाजा जस्तो लाग्यो।’एक लगानीकर्ताले अघिल्तिरबाट भने–‘अस्ति कम्पनीहरुको भकाभक लाभांश घोषणा गर्दा भने बजार केही भएन ।’
केही समयपछि एक लगानीकर्ताले शिवम् सिमेन्टको सेयरमूल्य ३०० मा आए खरिद गर्ने बताउँदै गर्दा शिवम्ले चलाएको बत्तीको पैसा डेढ अर्ब बढी बक्यौताकै कारण पनि बजारभाउ घट्ला भन्दै दाबी गरे ।
कारोबार द्रुतगतिमा भइरहेकाले डिस्प्लेमा पनि निकै छिटो छिटो परिवर्तन भइरहेको थियो । लगानीकर्ताहरु पनि बजारको चालमा लय मिलाउँदै सेयर खरीदबिक्रीको निर्णय लिइरहेका थिए ।
‘निर्मल प्रधानले घरखेत बेचेर सेयरमा हाल्नु भने पछि नै बजार बढ्यो । हो कि क्या हो ?’–एक लगानीकर्ताले भने ।
केही समयपछि भने इण्डेक्समा गिरावट आयो र लगानीकर्ताहरु घटेको इण्डेक्स देखेर चिन्ता मान्न थालेका देखियो । यसपछि भने हामी ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीजतर्फ उक्लियौं ।
हामी त्रिशक्ति सेक्युरिटीजमा पुग्दा लगानीकर्ताहरुको भीड नै थियो । एक लगानीकर्ताले एनटीसीको १० कित्ता सेयरले मार्केट म्यानुप्लेट किन गरेको होला ? भन्दै जंगिए । बजार पूँजीकरणमा एनटीसीको ठूलो योगदान भएकाले बजार घटाउन वा बढाउन कहिलेकाहीँ सानो कित्ता कारोबार गर्ने परिपाटीलाई ती लगानीकर्ताले व्यङ्ग्य गरिरहेकाथिए ।
‘मार्केट घट्यो भने त मान्छे बौलाउँछन्।’एक महिला लगानीकर्ताले भनिन् । प्रत्युत्तरमा अर्का पुरुष लगानीकर्ताले ‘बौलाइसकेको’ जिकिर समेत गरे । ‘खरिद चाप बढ्दैछ, बजार हरियो होला ।’एक लगानीकर्ताले आशा व्यक्त गरे । यत्तिकैमा त्यहाँ आएकी एक महिला लगानीकर्ताले बिदेशमा भएका नेपालीहरुले समेत हिजोआज २०–३०–५० लाखको सेयर उठाइरहेका दाबी गरिन् । ‘उनीहरु बिदेशमा बसेर पनि परिवारलाई सेयर किनाउँदै गरेको पाइयो।’उनले प्रष्ट्याइन् ।
सोही ब्रोकर हाउसमा देव विकास बैंकलाई प्राइम बैंकले माघपछि मर्ज वा एक्विजिसन गर्ने भन्दै एक लगानीकर्ताले ठोकुवै गरेका पनि भेटियो । यस्तै भलाकुसारीका क्रममा मार्केट डिस्प्लेमा नेप्से अपडेट आउन बन्द हँुदा एक लगानीकर्ताले आक्रोशित मुद्रामा भने–‘मार्केट बढ्न थालेपछि जहिल्यै सिस्टम बिग्रिन्छ(बिगारिन्छ?) ।’
यसपछि भने हामी शंकरदेव क्याम्पसभित्रका गल्लीहरुमा रहेका ब्रोकर हाउस चिहाउन पुग्यौं । ब्रोकर नम्बर ४९ अर्थात् अनलाइन सेक्युरिटीजमा पस्दा ४–५ जना लगानीकर्ता अलिक छुट्टाछुट्टै बसेका थिए । कोही मोबाइल चलाइरहेका थिए भने कोहीका आँखा डिस्प्लेतर्फ थियो । रिसेप्सन छेउमा भने नयाँ लगानीकर्ताहरुको कारोबार खाता खोल्ने लाम थियो । केहीबेर बस्दा पनि कोही लगानीकर्ता आपसमा नबोलेपछि भने हामी ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीजमा पस्यौं । यहाँ पनि निकै हल्लाखल्ली र भीडभाड थियो । यत्तिकैमा एक लगानीकर्ताले घटिरहेको बजारमा आशा जगाउन ‘२ बजे बजार रन्किएला नि’ भन्दै बर्बराए । यसैबीच एक लगानीकर्ताले ‘नेप्से ११ सय ७५ विन्दू नआउला कि’ भन्दै दाबी गरे ।
केही क्षणपछि त्यहाँ अर्थमन्त्रीको बोली र व्यवहारप्रति निकै चर्को बहस चल्यो । अर्थमन्त्री खतिवडाकै कारण बजार प्रभावित भएको उनीहरुले आरोप लगाइरहे ।
हामी ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजमा उक्लियौं । त्यहाँ आएका एक लगानीकर्ताले मुक्तिनाथ विकास बैंकको राम्रो अन्तर्वार्ता आउँदासमेत भाउ बढेन भन्दै चिन्ता मानिरहेका पायौं । ‘हाइड्रो सेक्टरका लागि प्याकेज तयारी ल्याउने क्रममा सरकार रहेको र सो सम्बन्धी फाइल मन्त्रीपरिषद्मा अड्केको भन्ने मैले सुनेको हुँ।’एक पाका लगानीकर्ताले जिकिर गरे । ‘हाइड्रो सेक्टरमा ग्लोबल वार्मिङको असर परेको छ त्यसमा त हाइड्रो व्यवसायीको के गल्ती र ?’ अर्का लगानीकर्ताले भने । हाल हाइड्रो व्यवसाय निकै रुग्ण व्यवसाय भइरहँदा धितोपत्र दोस्रो बजारमा समेत सेयरमूल्यमा पहिरो गइरहेको छ । केही समयपछि एक लगानीकर्ताले ‘जसरी बढेको थियो त्यसरी बजार घट्यो’ भन्दै चिन्ता मानेको भेटियो । ‘बढेको बेला बेच्न भ्याउनु भयो नि हैन ?’अर्का लगानीकर्ताले नजिकै रहेका आफ्ना सहपाठीलाई सोधे ।
आजको कारोबार समय सकिन आधाघण्टा मात्र बाँकी छँदा हामी प्रदशर्नीमार्गमा रहेको ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटीज उक्लियौं । यहाँ पनि लगानीकर्ताहरुको निकै बाक्लो भीड थियो । लगानीकर्ताहरु एकआपसमा कुराकानी गर्दै रमाइलो मानिरहेका पायौं । ‘आज कारोबार रकम बढेर ८०–९० करोड पुग्नुपर्छ।’एक युवा लगानीकर्ताले भविष्यवाणी गरे । ‘हैन सुरुमा त मार्केट निकै मच्चिएको थियो !’एक लगानीकर्ताले आश्चर्यमुद्रामा भने । पछाडिबाट अर्का लगानीकर्ताले ‘मार्केट यस्तै हो घच्याकघुचुक भइहाल्छ नि’ भन्दै चित्त बुझाए ।
केही समयपछि एक लगानीकर्ताले आज नेपाल बैंक बढेको थियो, लत्रक्कै पर्यो।’ बस्याल (प्राविधिक विश्लेषक विष्णु बस्याल)फण्डाकै कारणले आज बजार नबढेको त्यहाँ रहेका अधिकांश लगानीकर्ताको ठहर थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago