– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सधैँजसो आज आइतबार पनि ग्राउन्ड जीरो सेसनका लागि हामीले राजधानीमा रहेका विभिन्न ब्रोकर जाने क्रमलाई निरन्तरता दियौँ।
यही सिलसिलामा हामी बिहान ११ बजे नै काठमाण्डौको नक्सालस्थित नासा सेक्युरिटिज स्टक ब्रोकर नंं. ५८ मा पुग्यौँ। त्यहाँ लगानीकर्ताहरुको रामै्र उपस्थिति थियो। कोही आफ्नो ल्यापटपमा हेर्दै थिए त कोही डिस्प्लेमा आँखा घुमाउँदै थिए।
करिब ११ः३० तिर बजार झन्डै ३५ अंक घटिसकेको थियो। यत्तिकैमा एक लगानीकर्ताले सोधे, ‘सगरमाथमा अवस्था के छ ?’
राम्रो लाभांशको सम्भावनालाई देखाउँदै अर्को लगानीकर्ताले भने, ‘आज बजार नघेटेको भए त यसमा त सर्किट नै लग्थ्यो होला।
फेरि अर्का लगानीकर्ताले थपे, ‘यसको बजारमूल्य २ हजार पुग्छ अब।’
बजार घट्दै थियो। एक लगानीले भने, ‘बजारमा बुल सकिन लागेको त होइन ?’
त्यसैमा अर्कोले एनएचपीसीको अघिल्लो बुलको प्रसंग उठाउँदै भने, ‘यसको मूल्य २०० माथि नपुगेसम्म त बुल कहाँ सकिन्छ र ?’
त्यसैमा अर्कोले ‘ग्रीन डेभलपमेन्ट बैंक त एनआईसी एसियासँग जाने चर्चा छ नि’ भने।
त्यसैमा अर्कोले शिखरमा ठूलो बायर आएको देखाउँदै थपे, ‘शिखर इन्स्योरेन्सको मूल्य कति पुग्ला ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘आज एनटीसी १ हजार कित्ता बेचेँ, अब अरु नबेच्ने।’
त्यसैमा केही लगानीकर्ताहरुले आरएमएडीसीमा एकछिन अघि ठूलो बायर थिए अहिले सबै हटेको प्रसँग उठाए। बैंकहरु नबढेकोमा गुनासो गर्दै एक लगानीकर्ताले भने, ‘अहिले किनेर फाइदा छैन।’
त्यत्तिकैमा एकजनाले अघिल्लो हप्ता एभरेष्ट बैंक बेचेको प्रसंग उठाउँदै भने, ‘तपाइँले बेच्नू भो, सामजिक सञ्जालमा गाली हामीले खायौँ।’
त्यहाँ केही समयको बसाइपछि हामी भर्खर नयाँ भवनमा सरेको नक्सालस्थित सनी सेक्युरिटिज स्टक ब्रोकर नं. ४२ पुग्यौँ। त्यहाँ भने लगानीकर्तालाई डिस्प्ले हेर्ने कुनै सुविधा थिएन। त्यत्तिकैमा लाइनमा बसेका एक लगानीकर्ताले आफूले करिब एक महिनापहिले बेचेको सेयरको पैसा अझैसम्म खातामा नआएको भन्दै ब्रोकरको अकाउन्ट शाखामा गुनासो राख्दै थिए। उनले भने, ‘न फोन उठ्छ न पैसा आउँछ, यस्तो त भएन नि !’
कोही लगानीकर्ता भर्याङमा बसेर मोबाइलमा बजार हेर्दै थिए भने कोही मोबाइलमा बजार कसरी हेर्ने भन्दै घुम्दै थिए।
त्यहाँबाट हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज बोकर नं. २८ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता भर्याङमै बसेर बजार हेर्दै थिए। त्यहाँ लगानीकर्तालाई बस्ने कुनै व्यवस्था थिएन। लगानीकर्ता आफ्नो सुरमा मोबाइलमै बजारको गतिविधि निहाल्दै थिए।
डिल्लीबजारमै रहेको अर्को स्टक ब्रोकर कुमारी स्टक हाउस पुग्यौँ। त्यहाँ सुनसान थियो। सीमित लगानीकर्ता डिम्याट तथा केवाईसी खोल्ने काममा व्यस्त थिए।
पुतलीसडकस्थित त्रिशक्ति पब्लिक लिमिटेड स्टक ब्रोकर नं. ४८ पुग्दा लगानीकर्ताहरु घटेको बजार हेर्दै मस्त गफिँदै थिए। यत्तिकैमा एक लगानीकर्ताले ‘शिखर इन्स्योरेन्सको मूल्य अझै कति पुग्ला ?’ भनेर जिज्ञासा राखे।
अर्कोले बजार घटे पनि किन्ने पैसा नभएको बताए। ‘बजार जे भए नि हामीले हेर्ने त हो नि’ भन्दै उनले पछुतो मनाऊ गरे।
त्यसपछि हामी न्युप्लाजास्थित स्टक ब्रोकर नं. ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज पुग्दा त्यहाँ पुरानाभन्दा नयाँ लगानीकर्ता बढी देखिन्थे। केही समयको बसाइपछि त्यहाँबाट निस्किँदा ब्रोकर हाउसकै अगाडिको चिया पसलमा केही लगानीकर्ता मोबाइलमा बजार हेर्दै चियाको चुस्किमा मस्त देखिन्थे। यतिकैमा एकजनाले भने, ‘यो नेपाल लाइफको मूल्य अझै कति पुग्ला ?’
अर्कोले भने, ‘मैले त गत असारमा नै ८००–९०० रुपैयाँमा दसौँ हजार कित्ता बेचेँ। राखेको भय त अहिले एक–डेढ करोड नै हुने रहेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago