– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले काठमाण्डौको विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

कारोबारको सुरुआती पहरमा सबैभन्दा पहिले हामी अनामनगरस्थित दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्र्रै थियो। लगानीकर्ताहरु डिस्प्ले र मोबाइलमा बजार हेर्दै गफमा मस्त थिए। बजार ७ अंकले बढेको थियो। कारोबार पनि सामान्य अवस्थामा हुँदै थियो। 

एक  लगानीकर्ताले बजार हेर्दै सोधे, ‘यो मौद्रिक नीति कहिलेसम्म आउला ?’

उनीसँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘यो शुक्रबारसम्म आउला कि ? नभए अर्को शुक्रबारसम्म त पक्कै आउँछ।’

बजार घटेकोप्रति इंगित गर्दै एक लगानीकर्ताले भने, ‘होइन मौद्रिक नीति राम्रो आउँदैन कि के हो ? बजार त बढ्नै सकेन।’

‘यो महाप्रसादको त भर छैन, उखानेको कार्यकर्ता हो। मौद्रिक नीति नआएसम्म कुनै भर छैन’, उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अर्थमन्त्रीले खुकुलो नीति ल्याउने भनेका छन् तर गभर्नरले के गर्छन् ?’

ती लगानीकर्ताले शिवम सिमेन्ट टप कारोबारमा आज पनि अगाडि आएको बताए। ‘टप ५ डिमान्डमा पनि शिवम नै रहेको छ’, ती लगानीकर्ताले भने। 

उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘मैले त शिवम २८०० इन्डेक्स हुँदा १२०० रुपैयाँतिर किनेको हो, कहिले आउँछ खोइ ?’

छेऊमै बसेका एक लगानीकर्ताले भने, ‘यो कम्पनी बढ्दा पनि झया्प्पै बढ्छ घट्दा पनि झ्याप्पै घट्छ। जोखिम लिनेलाई फाइदै छ।’ 

केही समयको बसाइपछि हामी अनामनगरकै आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता बजार हेर्दै गफमा मस्त थिए। कोही शिवम सिमेन्टकै चर्चा गर्दै थिए। कोही  भने लाइफ इन्स्यारेन्स कम्पनीहरुको चर्चा गर्दै थिए। 

एक लगानीकर्ताले आफूले हिमालयन लाइफ इन्स्योरेन्स किनेर राखेको बताए। केही लगानीकर्ताले  बैंकले ब्याजदर बढाएको पनि चर्चा गरे। 

हामीले केही समय ब्रोकर नं. ५७ का सञ्चालकसँग बजारका बारेमा भलाकुसारी पनि गर्यौँ। 

त्यहाँ उपस्थित एक लगानीकर्ता आफू ३० लाख रुपैयाँजतिको सेयर किन्न आएको के गरौँ भनेर ब्रोकरसँग सल्लाह मागे। ब्रोकरले केही बैंकले ब्याज बढाएपछि बजारको अवस्था फेरिएकोले केही दिन कुर्न सल्लाह दिए। 

त्यहाँबाट हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। केही लगानीकर्ताले मौद्रिक नीतिको चर्चा गर्दै थिए। एक लगानीकर्ताले अब आउने मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर  धितो कर्जालाई भन्दा मार्जिन कर्जालाई महत्व दिने भन्ने सुनेको बताए। 

उनीसँगै बसेका अर्का लगानीकर्ताले जबाफ फर्काए, ‘बिना तयारी सेयर धितो कर्जा रोक्यो भने त लगानीकर्ता चपेटामा नै पर्छन्। सबै ब्रोकरले अहिले नै मार्जिन कर्जा दिने अवस्थामा छैनन्। तयारी र अध्ययन गरेरमात्रै राष्ट्र बैंकले सेयर धितो कर्जामा हेरफेर गर्नुपर्छ।’

दिउँसोको २ बजिसकेको थियो। बजार विस्तारै लयमा फर्किंदै थियो। ब्रोकर हाउसमा लगानीकर्ता कारोबारमा मस्त देखिन्थे।