– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालकको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज सेयर बजारमा अघिल्लो साताभन्दा केही फरक रौनक देखिन्थ्यो। लगानीकर्ताहरु बिहानदेखि नै मौद्रिक नीतिको प्रतीक्षामा देखिन्थे। ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहल पनि राम्रै देखिन्थ्यो। 

आज हामीले सबैभन्दा पहिले नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। बजार सामान्य अंकले बढेको थियो। तर, लगानीकर्ताहरु भने दोधारमा देखिन्थे। 

यत्तिकैमा एक लगानीकर्ताले भने, ‘आज मौद्रिक नीति आउँछ भनेका छन्। १२ करोडमा हेरफेर गर्ला र  ? जोखिम भारमा केही हेरफेर गर्ला कि ?’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने जोखिम भार १५० बाट १२५ भन्ने सुनिन्छ। ‘केही न केही त हेरफेर हुन्छ नै’, ती लगानीकर्ताले भने। 

त्यहाँबाट हामी कमलादीस्थित मल्ल एन्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नं. ११)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताबीच मौद्रिक नीतिकै चर्चा चलिरहेको थियो। हामीले त्यहाँ केही समय ब्रोकर सञ्चालकसँग पनि भलाकुसारी गर्यौँ। ब्रोकर सञ्चलकले पनि जोखिम भारमा केही परिर्वन हुन सक्ने बताए। ‘१२ करोडको सीमामा त केही होलाजस्तो लाग्दैन मलाई’, ती सञ्चालकले भने। 

ती ब्रोकर सञ्चालकले अहिले बजारमा सेयर लोन आउन थालेको पनि बताए। ‘हाम्रा केही पुराना लगानीकर्ताले नबिल बैंकबाट ११ प्रतिशतमा कर्जा लिएको जानकारीमा आएको छ’, ती सञ्चालकले भने, ‘अहिले दैनिक ४–५ जनाले कर्जा लिइरहेका छन्। अझै पनि बैंक रिकभरीमै लागेका छन्।’ 
मौद्रिक नीति आएपछि बजार दिगो रुपमा चल्ने ती सञ्चालकका भनाइ थियो। 

दिउँसोको १ बज्दै थियो। बजारमा मौद्रिक नीति चुहेको हल्ला पनि चल्दै थियो। 

केही समयको बसाइपछि त्यहाँबाट हामी कमलादीमै कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। यो ब्रोकर हाउसमा पनि हामीले ब्रोकर सञ्चालक र लगानीकर्तासँग कुराकानी गर्यौँ। त्यहाँ पनि मौद्रिक नीतिकै चर्चा थियो। 

दिउँसोको १ बजिसेकेको थियो। बजार निरन्तर बढेको थियो। त्यहाँ भेटिएका एक लगानीकर्ताले पनि जोखिम भारमा नै केही हेरफेर हुन सक्ने आँकलन गर्दै थिए। लगानीकर्तालाई नै समर्थन गर्दै ब्रोकर सञ्चालकले भने, 'ब्रोकर हाउसमार्फत सेयर मार्जिन कर्जाको व्यवस्था पनि आउन सक्छ। मार्जिन लेन्डिङ आएमा १२ करोडले केही फरक पर्दैन।’ 

त्यहाँबाट हामी कमालादीमै रहेको दक्षिण काली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)मा पुग्यौँ। दिउँसोको २ बजिसकेको थियो। त्यहाँ लगानीकर्ताको उपस्थिति ठीकै थियो।  

राष्ट्र बैंकले मौद्रिक नीति पनि सार्वजनिक गरिसकेको थियो। मौद्रिक नीतिलाई इंगित गर्दै एक लगानीकर्ताले भने, ‘मौद्रिक नीति नराम्रो आएन। जोखिम भारलाई सम्बोधन भयो। विस्तृत त सर्कुलरपछि थाहा होला। अब बजारको बढाइ दिगो हुन्छ। लगानीकर्ता ढुक्क भए हुन्छ।’

त्यहाँबाट निस्केपछि हामी राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी पत्रकार सम्मेलनमा पुग्यौँै। याक एन्ड यती होटेलमा कार्यक्रम राखिएको थियो।  विशिष्टदेखि बैंकरसम्म र पत्रकारहरु चुपचाप बसेका थिए। यत्तिकैमा केही पत्रकारले चर्चा गरे, ‘जे भए पनि यो मौद्रिक नीति सेयर बजार र घर–जग्गामैत्री नै आएको छ।’

पत्रकारको कुरामा सँगै बसेका केही बैंकरले मन्द मुस्कनले समर्थन जनाए।