– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउस पुग्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज बजार बिहान केही समय बढे पनि दिनभर नै घटेर कारोबार भएको थियो। 

आज हामी पुगेका अधिकांश ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। मध्याह्नबाट सामान्य झरी परिरहेको थियो भने सेयर बजार पनि एकोहोरो घटेको थियो। 

लगानीकर्ताको विचार सुन्ने र बुझ्ने क्रममा आज हामीले नक्साल र पुतलीसडकका केही ब्रोकर हाउसमा पुगेका थियौँ। सबैभन्दा पहिले हामी नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। बजार सामान्य अंकले घटेको थियो। 

त्यहाँ उपस्थित केही लगानीकर्ता बजार घटेकोमा मौद्रिक नीतिमात्रै नभएर अघिल्लो साताको सुनकाण्ड पनि रहेको खासखुस गर्दै थिए। एक लगानीकर्ताले भने, ‘सेयर बजारकै ठूला भन्ने लगानीकर्ता सुनकाण्डमा परे, मारवाडी भाग्दैछन् पनि भन्छन। त्यसको दबाब सेयर बजारमा पर्ने नै त भयो नि।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले क्लब हाउसले बजार घटाएको आरोप लगाउँदै थिए। 

मध्याह्नको १२ बजिसेकेको थियो। बजार निरन्तर घटेको थियो। 

नासाबाट हामी पुतलीसडकको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो। लगानीकर्ता ब्रोकर हाउसभित्र भन्दा बाहिर चिया पसलमा भेटिए। चिया गफमा नै एक लगानीकर्ताले भने, ‘बजार आज फर्केला जस्तो छैन। टीएहरुले बजार घट्छ नै भन्छन्।’

चियाकै सुर्कीसँगै अर्का लगानीकर्ताले भने, ‘२०८० मा  सपोर्ट छ, बजार पनि लगातार घटेको छ। अब केही दिनमै फर्किन्छ।’

त्यहीँ एक लगानीकर्ताले भने, ‘इन्स्योरेन्स कम्पनीका संस्थापकहरुले अर्बौं रुपैयाँ बजारबाट लगेका छन्, बजार झट्टै फर्किन गाह्रो छ।’ 

त्यहाँबाट हामी पुतलीसडककै अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। एक लगानीकर्ता आफूले २ सातादेखि नबिल बैंकमा ५ करोडभन्दा बढी सेयर लोनको आवेदन दिएको तर एप्रुभ नभएको गुनासो गर्दै थिए। ‘मैले सबै कागज पुर्याए आवेदन दिएको छु। मेरो आम्दानीको स्रोत पनि पुग्छ। तर, बैंकले लोन नै दिन्न’, निराश हुँदै ती लगानीकर्ताले भने, ‘बजार घटेको छ। सेयर किन्न नपाएर तनाब भएको छ। यस्तो भएपछि बजार कसरी बढ्छ ?’

उनीसँगै बसेका अर्का लगानीकर्ताले आफूले पनि एउटा विकास बैंकबाट सेयर कर्जा लिन चाहेको तर ब्याज महँगो भएपछि पछाडि हटेको सुनाए। 

त्यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ट्रेड गर्नलाई सिटी होटेल ठीक रहेको बताए। ‘कम्पनी बलियो त होइन तर कित्ता थोरै भएकोले ट्रेड गर्न सिटी होटेल ठीक छ’, ती लगानीकर्ताले भने।