– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज बिहानै पत्रपत्रिकामार्फत बैंक तथा वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको थियो। ब्रोकर हाउसमा लगानीकर्ताहरुबीच बैंकहरुको रिपोर्टका विषयमा नै बढी चर्चा सुनिन्थ्यो। 

आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। 

बजार बिहान कारोबार खुलेदेखि नै एकोहोरो घटेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो। बजार घटेकोमा लगानीकर्ता अश्चर्यमा  थिए। 

केही लगानीकर्ताले बैंकहरुको रिपोर्ट पनि मौद्रिक नीतिजस्तै भएको प्रतिक्रिया दिए। एक लगानीकर्ताले भने, ‘मौद्रिक नीति पनि नराम्रो आएको होइन तर बजार घट्यो। आज बैंकहरुको रिपोर्ट पनि नराम्रो आएको होइन तर बजार घट्यो।’ 

उनीसँगै बसेका अर्का लगानीकर्ताले अब बजारको लय बैंकहरुले आगामी महिनाका लागि तय गर्ने ब्याजदरले निर्धारण गर्ने बताए। ‘बैंकहरुले ब्याजदर बढाएनन् भने बजार बढ्छ। होइन भने बजार यस्तै हो’, ती लगानीकर्ताले भने। 

केही समयको बसाइपछि हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य थियो। लगानीकर्ता घटेको बजारप्रति निराश देखिन्थे। 

यत्तिकैमा एक लगानीकर्ताले भने, ‘आज बजार फर्किंदैन।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार घटेको बेला नै हो सानिमा, एभरेस्टजस्ता बैंकको सेयर खरिद गर्ने।’

उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘मलाई त शिवमले डुबायो। यो बजार आशै–आशको रहेछ। आश गर्ने बस्ने।’

त्यहाँबाट हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८)मा पुग्यौँ। दिउँसोको १ बजिसेकेको थियो। बजार एकोहोरो घटिरहेको थियो।

त्यहाँ भने लगानीकर्ताहरु आनन्दले गीत गाएर बसिरहेका थिए। त्यत्तिकैमा कोर्ट–पाइन्ट लगाएका एक लगानीकर्ता ब्रोकर हाउसभित्र छिरे। भित्र रहेको एक लगानीकर्ता सोधे, ‘वकिल साहेब बजार के हुन्छ ?’

‘बजार २०६० बाट तल खसेमा केही अंक तल आउन सक्छ। हिमालयन लाइफ र सोल्टी होटेलमा गरेर एक ठूलै लगानीकर्ताले २ अर्ब पैसा बजारबाट लगे। बजारमा पैसाकै अभाव हो’, ती वकिल भनिएका लगानीकर्ताले जबाफ दिए, ‘आज सुरुको १ घन्टामा बजार १० मिनेट पनि बढेर टिक्नै सकेन। बजारमा लिक्विडिटी ट्रयाप नै हो।’

‘नयाँ ब्रोकरहरुले वर्किङ क्यापिटलको पैसाले सेयर किनेका थिए। अब उनीहरुलाई त्यो पैसा अवश्यक पर्ने भएकोले बेच्दा पनि बजार घटेको हो’, ती  लगानीकर्ताले थपे, ‘पैसा ठूलाबडाले लगे। बजारमा नयाँ पैसा आएन। त्यसैको प्रभाव परेको हो बजारमा। ठूलाले पैसा लगे बजारका कारोबारी ट्रयापमा परे।’