– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिलसिलामा आज हामी राजधानीका विभिन्न स्थानमा रहेका ब्रोकर हाउसहरु पुगेका थियौँ। 

आज बिहानैदेखि काठमाण्डौमा वर्षा भएका कारण ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति पातलो देखिन्थ्यो। सबैभन्दा पहिले हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। बिहानैदेखि बजार बढेको थियो। त्यहाँ उपस्थिति एक लगानीकर्ताले आज बजार बढेर नै बन्द हुने दाबी गरे। 

उनीसँगै बसेका अर्का लगानीकर्ताले अब सस्तो र राम्रो वाणिज्य बैंकको सेयर किनेर राख्दा हुने तर्क गरे। उनले भने, ‘वित्तीय विवरणको हिसाबले सानिमा बैंकको सेयर किन्न उपयुक्त देखिन्छ। एभरेस्ट बैंकको सेयर पनि उठाउँदा ठीकै हुन्छ।’ 

इम्पेरियलमा केही लगानीकर्ताले होटेल सेक्टर पुनः चल्ने पनि तर्क गर्दै थिए। 

मध्याह्नको १२ बजिसेकेको थियो। बजार ११ अंकले बढेको थियो भने कारोबार पनि विस्तारै बढ्दै थियो। 

सोही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले आफूले झुक्किएर कुमारी बैंक किनेको बताए। उनीसँगै बसेका अर्का लगानीकर्ताले लामो समयदेखि कुमारी बैंकको सेयर खसेको खस्यै गरेको बताए। ‘एनसीसीलाई मर्ज गरेपछि अब राम्रो हुने आशा गर्न सकिन्छ’, ती लगानीकर्ताले भने। 

इम्पेरियलमा केही समयको बसाइपछि हामी  हनुमानथानस्थित कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। 

कालिकामा भेटिएका एक लगानीकर्ताले आजबाट कारोबारमा आएको घोराही सिमेन्टप्रति इंगित गर्दै भने, ‘यो कम्पनीले सिमेन्टभन्दा पनि सेयर बेचेर कमाउने देखिन्छ। यसमा सर्वसाधारण फस्ने पनि उत्तिकै सम्भावना छ।’ 

मौद्रिक नीतिपछि बजार घटेको भन्दै कालिकामा अर्का एक लगानीकर्ताले भने ‘एम अधिकारी’ र प्राविधिक विश्लेषकहरुलाई गाली गर्दै थिए। उनीसँगै बसेका एक लगानीकर्ताले अब बैंकको ब्याज स्थिर हुँदै जाँदा बजार बढ्दै जाने तर्क गरे। ‘बरु एनबीएको बैठक कहिले बस्दैछ ? ब्याज के हुनेछ ? त्यो खोज्नुपर्ने भयो।’

सँगै बसेका अर्का लगानीकर्ताले अहिले नै ब्याज बढिहाल्नुपर्ने अवस्था नरहेको बताए। ब्याज नबढेर स्थिरमात्रै रह्यो भने पनि बजार एकपटक राम्रै बढ्ने ती लगानीकर्ताले दाबी गरे। 

उनलाई नै समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘मैले बोलेका कुरा भिडियो रेकर्ड गरेर राख्नुहोस्, बजार दसैँसम्म २४०० माथि पुग्छ।’

त्यहाँबाट हामी नयाँबानेश्वरस्थित लिन्च सेक्युरिटिज (स्टक ब्रोकर नं. ४१) पुग्यौँ। त्यहाँ एक लगानीकर्ता आफू अल्पकालीनभन्दा पनि दीर्घकालीन लगानीकर्ता रहेको बताउँदै थिए। ‘मसँग त ३४०० रुपैयाँमा किनेको एभरेस्ट बैंकको सेयर पनि छ। ४००० रुपैयाँ माथिको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर पनि छ’, ती लगानीकर्ताले भने, ‘बजारमा धेरैपटक बुल आयो तर बेच्नै सकिएन। कित्ता थपिएको छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने आफू अल्पकालीन कारोबारी रहेको दाबी गरे। ती लगानीकर्ताले भने, ‘बैंकमा पैसा त प्रशस्तै छ भन्छन्। तर, लगानीकर्ता सेयर लोन लिन नै गएका छैनन्, किन हो ?’

सँगै बसेका साथीले जबाफ दिए, ‘पहिले त सेयर लोनको ब्याज सिंगल डिजिटमा हुन्थ्यो। सेयर लोन लिनेको घुइँचो नै हुन्थ्यो र पो बजार बढ्थ्यो। अहिले त ब्याज पनि महँगो छ। सेयर लोन पनि बजारमा आएको छैन।’

उनीलाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘अब आउने महिना बैंकहरुले ब्याजदर के गर्छन ? त्यसपछि मात्रै बजारले बाटो लिन्छ। ब्याज नबढे त बजार बढ्ने नै हो।’