– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामीले केही नयाँ र पुराना ब्रोकरमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। सबैभन्दा पहिले आज हामी भर्खरै मात्रै कारोबार सुुरु गरेको कमलपोखरीस्थित म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ६२)मा पुग्यौँ। म्याक्स सेक्युरिटिज अन्य ब्रोकर हाउसभन्दा सुविधासम्पन्न रहेको देखियो। त्यहाँ लगानीकर्तालाई फराकिलो स्पेसमा पार्किङ सुविधादेखि आफ्नै ल्यापटप राखेर शान्त वातवरणमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ। त्यहाँ उपस्थित धेरै लगानीकर्ताले आफैँले कम्प्युटरमा प्राविधिक चार्ट हेरेर कारोबार गरेको देखिन्थ्यो।

आज बजार घटेको अवस्थामा पनि म्यास सेक्युरिटिजमा लगानीकर्ताको उपस्थिति भने राम्रै थियो। एक लगानीकर्ताले भने, ‘बैंकबाट सेयर लोन पनि आइरहेको छ, बजार घट्नुपर्ने कारण नै छैन।’

घटेको बजारलाई इंगित गर्दै अर्का लगानीकर्ताले भने, ‘एचडीएल किनौँ भनेको केही दिन हेर्नुपर्ला जस्तो छ।’

उनीसँगै बसेका एक लगानीकर्ताले दसैँ अगाडि एकपटक बजार बढ्ने आशा व्यक्त गरे। ती लगानीकर्ता भने, ‘यसपालि दसैँ कात्तिकमा छ। एकपटक त बजार बढ्छ नै।’

मध्याह्नको १२ बजिसकेको थियो। बजार घटिरहेको थियो। 

म्याक्समा केही समयको बसाइपछि हामी कमलपोखरीमा रहेको क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। लगानीकर्ता बजारको गफमा मस्त देखिन्थे। एक लगानकर्ता भने, ‘केही समय पहिलेसम्म युनिलिभर कम्पनीको सेयरभाउ १८००० रुपैयाँ थियो। हेर्दाहेर्दै डबल भयो। घट्ला र किनौँला भन्दा–भन्दै माथि गयो।’

उनीसँगै बसेका अर्का लगानीकर्ता बजार घटेर हैरान भएको भन्दै निराश व्यक्त गर्दै थिए। 

त्यहीँ भेटिएका ढाका टोपी लगाएका एक पुराना लगानीकर्ताले भने, ‘अब ८ महिनापछि भारतमा चुनाव हुँदैछ। त्यसपछि नेपालको बजार पनि बढ्छ।’

ती लगानीकर्ताले यसपालि भारतमा कांग्रेसले आईले चुनाव जित्ने दाबी पनि गरे। ‘त्यसो भए नेपाललाई पनि फाइदा हुन्छ। प्रायः नेपाल र भारतका लगानीकर्ता एउटै हुन्’, ती लगानीकर्ताले भने, ‘त्यहाँको चुनावपछि नेपालको सेयर बजारमा पनि बुल आउँछ। नेपालको सेयर बजारमा अझै केही समय १००–२०० अंक तलमाथि हुन सक्छ। बजारमा बुल नै आउन भने सरकार नै अदलबदल हुनुपर्छ। भारतमा सरकार फेरिएपछि नेपालमा पनि फेरिन सक्छ।’ 

अपराह्नको १ बज्दै थियो। ब्रोकर हाउसमा फोनका घन्टी बज्दै थिए। सेयर कारोबार जम्मा ५० करोड रुपैयाँको मात्रै भएको थियो। बजार झिनो अंकले घटबढ गर्दै थियो। 

त्यहाँबाट कमलादीस्थित श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६)मा पुग्यौँ। यहाँ पनि लगानीकर्ता गफमै मस्त देखिन्थे। घटेको बजारलाई जोड्दै एक लगानीकर्ताले भने, ‘यो बजारबाट फुत्किनै नसकिने रहेछ। बढ्दा अझै बढ्ला जस्तो लाग्ने र बेच्नै नसकिने अनि घट्दा अझै घट्ला जस्ता लाग्ने किन्नै नसकिने।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो बजारको कमाइ हावाको कमाइ हो।’