– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएको छौँ। 

यसै सिलसिलामा आज हामी काठमाण्डौका अनामनगर र न्युप्लाजा आसपासका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ। सबैभन्दा पहिले आज हामी अनामनगरस्थित दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८) पुग्यौँ। त्यहाँ लगानीकर्ता आउने क्रम जारी थियो। केही लगानीकर्ता घटेको बजार हेरेर चिन्तित अवस्थामा देखिन्थे। केही भने सेयर घटेकै बेलामा किन्ने हो भन्दै आपसमा कुरा गर्दै थिए। 

दीपशिखामा भेटिएका एक लगानीकर्ताले भने, ‘लगानीकर्ताको मनाबल निकै खस्केका कारण नै बजार माथि जान नसकेको हो। बजारमा मारवाडी समूहले खास्सै पैसा लगाएका छैनन्। हाम्रो बजारमा मारवाडी समूह सक्रिय नभएसम्म बजार माथि जाँदैन।’

ती लगानीकर्ता आफ्नो जन्मदिनका अवसरमा ब्रोकर हाउसभित्र लड्डु बाँड्दै थिए।

मध्याह्नको १२ बजिसकेको थियो। बजार १७ अंकले घट्दा कारोबार समान्य भएको थियो।

दीपशिखाबाट हामी अनामनगरमै रहेको आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)मा पस्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। बजार लगातार घटेको थियो। ब्रोकर हाउसको डिस्प्लेमा एक जोडी परेवा बसेका थिए। यसैलाई जोडेर एक लगानीकर्ताले भने, ‘परेवा नै आएर डिस्प्लेमा बस्यो, अब त बजार बढ्नुपर्ने हो।’

ठट्यौली पारामा अर्का लगानीकर्ताले जबाफ दिए, ‘धरानतिर साँढे नै पल्टाए भन्छन्। अनि बजार कसरी बढ्छ ?’

आर्यतारमै भेटिएका एक लगानीकर्ताले भने, ‘यो बेला भनेको सेयर किन्ने समय हो। मैले त अघिल्लो बुलमा नेपाल लाइफको सेयर बेचेर भक्तपुरको दुवाकोटमा २ रोपनी जग्गा किनेँ।’

‘१८८१ को बुलमा नेपाल लाइफको सेयर ५ हजारसम्म पुगेको थियो। अझै बढ्छ भनेर राखियो। पछि हजार तल पनि आयो’, आफूलाई आर्मीको पेन्सेनर बताउने ती लगानीकर्ताले थपे, ‘घटेको बजारमा थपेर फेरि ३२०० को बुलमा भने मैले बेचेर जग्गामा हालेँ। त्यसैले घाटा भएको बेला थपेर होल्ड गर्न सके आउने बुलमा बेचेर घर–जग्गा जोड्न सकिन्छ।’ 

त्यहाँ केही समयको बसाइपछि हामी अनामनगरकै भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) पुग्यौँ। त्यहाँ पनि लगानीकर्तांहरुको उपस्थिति राम्रै थियो। बजार १९९० आसपास चल्दै थियो। बजार घटेकोले लगानीकर्ता पनि निराश नै देखिन्थे। 

भिजनबाट हामी न्युप्लाजामा रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। त्यहाँ लगानीकर्ता उपस्थित राम्रै थियो। बजारको हातल देखेर लगानीकर्तामा अन्यौलता देखिन्थ्यो। केही लगानीकर्ता भन्दै थिए, ‘बजार लगातार घटेको घट्यै छ, १९९० भन्दा तल चाहिँ जाँदैन।’

केही लगानीकर्ताले भने बैंकिङ इन्डेक्स एकपटक तल आएपछि मात्रै बजार फर्किने तर्क गर्दै थिए। यही ब्रोकरमा केही लगानीकर्ताले ठट्यौली पारामा धरानको साँढे काण्डले बजार बढ्न नसकेको तर्क गर्दै थिए।