– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज सेयर बजार दिनभर थोरै अंकले बढेको थियो भने ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य थियो। सबैभन्दा पहिले हामी थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। त्यहाँ डिस्प्ले खोलिएको थिएन। तर, लगानीकर्ताहरु मोबाइलमा बजार हेरेर गफमा व्यस्त थिए। 

बजार ५ अंकले मात्रै बढेको थियो। लगानीकर्ताहरु बजारप्रति खासै विश्वस्त थियनन्। आफूलाई अनुभवी कारोबारी बताउने एक लगानीकर्ताले बजार अझै केही समय साइडवेज चल्ने दाबी गरे। उनले भने, ‘आफूलाई ठूला भन्ने लगानीकर्ता अझै बजार पस्नै मानेका छैनन्।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘त्यस्ता ठूला भन्ने लगानीकर्ताहरुले सर्वसाधरणलाई भारी बोकाउने र बजार छोड्ने हुन्।’

फेरि ती अनुभवी बताउने लगानीकर्ताले भने, ‘होटेल सेक्टर फेरि एकपटक माथि जान सक्छ।’

त्यतिबेलासम्म मध्याह्नको १२ बजिसेकेको थियो। बजार सामान्य अंकले नै बढेको थियो। 

थ्राइभबाट हामी सन सेक्युरिटिज (स्टक ब्रोकर नं. ६४)मा पुग्यौँ। त्यहाँ भेटिएका लगानीकर्ता पनि बजारप्रति खासै सकारात्मक थियनन्। 

त्यहीँ भेटिएका एक लगानीर्ताले भने, ‘यही गर्भनर रहेसम्म बजार माथि जाँदैन। यिनले अझै एउटा मौद्रिक नीति ल्याउन भ्याउँछन्। त्यो बेलासम्म बजार यस्तै हो। कि त सरकार फेरिन पर्यो कि गर्भनर। होइन भने बजार यस्तै हो।’

अब बजार बढे पनि २३०० सम्म पुग्न सक्ने ती लगानीकर्ताको भनाइ थियो। ‘त्यहाँभन्दा माथि जाँन्दैन’, ती लगानीकर्ताले भने, ‘म त बेचेर निस्कने हो।’

त्यहाँ केही समयको बसाइपछि हामी सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगनीकर्ताले भने, ‘बजार घटेर लगानीकतालाई हृदयघात नै भयो भन्छन्। नियामक भने कमिसन लिएर मस्त छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले आफ्नो पनि पीडा सुनाउँदै भने, ‘हाम्रो पनि पीड त के कमी छ र ? हामी त मुटु दह्रो बनाएर बसेर पो हो।’

बजार २५०० हुँदा आफूले डेढ करोडमा गाडी बेचेर नयाँ लिन खोजेको ती लगानीकर्ताले सुनाए। ‘तर, नयाँ मोडेलको गाडी लकडाउनले आइदिएन’, उनले भने, ‘मलाई पैसा लिएर बस्न मन लगाने। त्यो पैसा सबै सेयरमा हालेको थिएँ, अहिले ५० लाखमा झरेको छ। तर, पनि हिँडेकै छौँ, सम्हालिएकै छौँ आफूलाई।’

उनीसँगै बसेका एक लगानीकर्ताले हाँस्दै भने, ‘मेरो पनि अवस्था कम छैन। मैले २९०० रुपैयाँमा नेपाल लाइफको सेयर किनेको थिएँ, अहिले त्यो रकममा त ४ कित्ताभन्दा बढी आउँछ। शिखर इन्स्योरेन्सको सेयर पनि २००० रुपैयाँ माथि किनेको थिएँ, त्यो पनि यस्तै छ। घटेको बेला शान्त बस्नुपर्छ, फेरि आउँछ बजारमा बुल।’

आज हामी विभिन्न ब्रोकर हाउसमा पुग्दा लगानीकर्ताहरुबीच आशा र निराशा दुवै देखिन्थ्यो। कोही बजार यो गर्भनर रहुन्जेल बढ्दैन भन्ने तर्क गर्थे। कोही अब सरकार र राष्ट्र बैंकलाई धेरै नै दबाब परेको दाबी गर्दै थिए। 

सरकारले बजारलाई रेस्क्यु गर्न ढिलो भइसकेको केही लगानीकर्ताको मत थियो। सरकारले ढिलो–चाँडो केही न केही गर्नैपर्ने उनीहरुको भनाइ थियो। 

केही लगानीकर्ता सी ग्रेडले गर्भनर डाँडामाथि पुगिसकेको र अब उनी आफैँले केही न केही गर्ने भन्दै थिए।