– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज हामी पुतलीसडक आसपासका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने कार्यलाई निरन्तरता दिएका हौँ। सेयर बजार आज खुलेदेखि नै घटेको थियो।

सबैभन्दा पहिले हामी पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६)मा पुग्यौँ । त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। बजार पहिलो प्रहरमै २२ अंकले घटिसकेको थियो । बजार घटे पनि कारोबार भने राम्रै भएको थियो। 

प्राइमोमा भेटिएका केही लगानीकर्ताले बैंकहरुले आज प्रकाशित गरेको असोज महिनाको ब्याजदर कारण बजार घटेको बताए। ‘अर्थमन्त्रीलाई केही  बैंकका सीईओले त पत्याएनन्, गर्भनरले झन् के टेर्लान् र ?’, एक लगानीकर्ता भने।

अर्का लगानीकर्ताले भने, ‘१२ करोडको सीमा पनि तत्काल हट्ने देखिँदैन।’ 

त्यहीँ केही लगानीकर्ताले ठट्यौली पारमा अब सेयरभन्दा पनि चिनी र जीराको व्यापारतिर लाग्दा फाइदा हुने बताउँदै थिए। 

प्राइमोबाट हामी अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)मा पुग्यौँ। मध्याह्नको १२ बजिसकेको थियो । बजार लगातार घटिरहेको थियो । त्यहाँ पनि लगानीकर्ताबीच बैंकले ब्याजदर बढाएकै विषयमा चर्चा चलिरहेको थियो। 

‘गभर्नरले अर्थमन्त्रीका कुरा टारेको टार्यै गरेका छन्। अर्थमन्त्रीले १२ करोडको क्याप हटाउन त पहिले नै भनेका हुन्, त्यतिबेला त टेरेनन्, अब झट्पट गर्लान् जस्तो लाग्दैन’, अनलाइन सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ताले भने, ‘गभर्नर आज आउने भन्ने सुनेको छु। यी बैंकहरुले पनि यसै ब्याजदर बढाएका छैनन् । यहाँ केही न केही कुरा पक्कै छ।’

त्यहाँ लगानीकर्ताबीच शिवम सिमेन्ट र सोल्टी होटेल खुबै चर्चा चलिरहेको थियो। ‘यी कम्पनीहरु खेल्नका लागि हुन्, होल्ड गर्न भने हुन्न’, अर्का एक लगानीकर्ताले भने, ‘२०–२५ रुपैयाँ आएपछि बेचिदिए हुन्छ।’

त्यहाँबाट न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा पुग्यौँ । त्यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो । एक लगानीकर्ता गभर्नर र सरकारलाई श्राप्दै थिए। ‘अर्थमन्त्रीलाई बैंकहरुले त टेरेनन्, गर्भनरले झन् के सुन्लान् ?’, एक लगानीकर्ताले भने, ‘यस्तै हो भने यो बजारमा आश गर्ने ठाउँ नै रहेन।’ 

आज बजार दिनभर घट्दा लगानीकर्ता निराश देखिन्थे। प्रायः सबै लगानीकर्ता ब्याजदर बढ्दा सेयर बजार घटेको बताउँथे । केही लगानीकर्ताले प्रधानमन्त्री फर्केपछि सरकार फेरिन सक्ने पनि आँकलन गर्दै थिए। केहीले मंसिरसम्म बजार नबढ्ने ठोकुवा पनि गरे । केहीले भने १२ करोडको क्याप हटेमा बजार फेरि माथि जाने पनि सक्ने झिनो आशा व्यक्त गरे।