– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी अनामनगरस्थित केही नयाँ र पुराना ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार सुन्न र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। हामी सबैभन्दा पहिले नयाँ ब्रोकर भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१ पुग्यौँ)। त्यहाँमा लगानीकर्ताको उपस्थिति राम्रै थियो। 

बजार पहिलो प्रहरमै घटेको थियो।  लगानीकर्ता आ–आफ्नो ल्यापटपमा कारोबारमा मस्त देखिन्थे। त्यहाँ लगानीकर्ताबीच १२ करोडको क्याप परिमार्जनका विषयमा चर्चा चलेको थियो। 

एक लगानीकर्ताले आफूले विशेष सूत्रबाट प्राप्त खबरअनुसार गभर्नरले हाल देशबाहिर रहेका अर्थमन्त्रीलाई १२ करोडको क्याप आउने मौद्रिक समीक्षामा मात्रै हटाउन सकिने जानकारी गराएको बता। ‘मौद्रिक समीक्षासम्म पर्खिन गभर्नरले अर्थमन्त्रीलाई मोबाइलमा म्यासेज पठाएर आग्रह गरेका छन् रे’, ती लगानीकर्ताले भने, ‘गर्भनरले १२ करोडको क्याप हटाउन त हटाउलान् तर अहिले नै बजारमा सुनिएजस्तो तत्काल राष्ट्र बैंकले बोर्ड बैठक डाकेर हटाइहाल्ने देखिँदैन।’

त्यहाँ अन्य लगानीकर्ता भने बजार आज घटे पनि भोलिबाट फर्किनेमा ढुक्क थिए। मध्याह्नको १२ बजिसेकेको थियो। बजार सामान्य अंकले मात्रै घटेको थियो। 

त्यहाँबाट हामी आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। त्यहाँ पनि १२ करोडको क्यापकै विषयमा छलफल भइरहेको थियो। एक लगानीकर्ताले भने, ‘बजारमा सोमबार राष्ट्र बैंकको बोर्ड बैठक बस्दैछ भन्ने हल्ला छ। सायद १२ करोडको क्याप हट्ला। अर्थमन्त्रीले पनि विदेशबाट फर्किनुभन्दा पहिले नै हटाउन भनेका छन्।’

त्यहाँबाट हामी भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)मा पुग्यौँ। त्यहाँ पनि १२ करोडकै विषयमा चर्चा चलिरहेको थियो। लगनीकर्ताबीच भने अन्यौलमा थियो। एक लगानीकर्ताले भने, ‘दसैँ पनि आयो। असोजको ब्याज पनि तिर्ने बेला आएको छ। बजारमा मनोबल बढेर पैसा आएन भने त बजार टिक्न गाह्रो छ।’ 

भिजनबाट निस्केर हामी कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता बजार हेर्न व्यस्त देखिन्थे। गभर्नरले १२ करोडको क्याप हटाउन आलटाल गरेको भन्दै लगानीकर्ता आक्रोशित देखिन्थे।