– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साताको पहिलो दिन आइतबार नेपालीको महान पर्व दसैँको घटस्थापना परेको कारण सेयर बजार बन्द रह्यो। हाम्रो नियमित सेसनमा आइतबार बजार बन्द भएकोले ब्रोकर हाउसभन्दा  बाहिर भेटिएका लगानीकर्ता तथा बजारसम्बद्ध पक्षको विचारलाई समेट्ने कोसिस गरेका छौँ। 

गत शुक्रबार लगानीकर्ताहरु नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिएको भन्दै नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्न गहनापोखरीमा साढे १० बजे भेला भएका थिए। त्यहाँ हस्ताक्षर संकलन र कागजपत्र तयार भइसकेपछि उनीहरु अख्तियारतिर लागे। अख्तियारको कार्यालयभित्र ३ जनामात्रै पस्न दिइयो। बाँकी लगानीकर्ता अख्तियारको गेटभन्दा केही पर भेला भए। 

सामजिक सञ्जालमार्फत भेला हुन आह्वान गरिएकोले लगानीकर्ताहरु आउने क्रम जारी थियो। एकजना कोट–पाइन्ट र कालो चस्मा लगाएको हेर्दा स्मार्ट देखिने लगानीकर्ताले भने, ‘यो हमाल र गभर्नरले  डुबाए। हमालले सप्लाई बढाउने र गभर्नरले क्याप लगाएर पैसा रोक्ने।’

फेरि आकाशतिर हेर्दै ती लगानीकर्ताले भने, ‘अब धेरै दिन टिक्न सकिएलाजस्तो छैन, यो सेयर बजारमा। असोजको ब्याज तिर्न पनि त्यस्तै मुस्किल छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘ब्याजमात्रै तिर्ने कुरा कहाँ हो र ? म त ३१०० को बिन्दुमा बजार पसेको। बजार घट्दा–घट्दा रोडमा आइपुगेँ। घरमा गाडी छ तर तेल हाल्ने पैसा छैन। त्यत्तिकै थन्काएको छु। कम बिजोग भएको छ।’

खल्तीबाट एउटा चिट निकाल्दै ती लगानीकर्ताले थपे, ‘त्यसमाथि मेरी त छोरीले यो दसैँमा पर्पल कलरको आइफोन चाहियो भनेर मागे कि छे। लौ हेर्नुस् छोरीले दिएको लिस्ट। हामी त बाबु–आमासँग नयाँ कपडा माग्न पनि डराउँथ्यौँ। अहिले त बच्चा पनि कति महँगा हुन् ? बाउको हालत ब्याज तिर्न नसक्नेछ। छोरा–छोरीलाई मागिदिए पुग्यो।’

त्यहीँ बसिरहेका अर्का एक लगानीकर्ताले भने, ‘मेरी छोरीले पनि यो दसैँमा स्कुटर चाहियो भनेर हैरान छ।’

अख्तियारको गेटबाहिर लगानीकर्ता यस्तै गलफती गर्दै थिए। केही समयपछि भित्र गएका लगानीकर्ताहरु मुद्दा दर्ता गरेर बाहिर आए। त्यसपछि लगानीकर्ता अर्को साता अदालमा मुद्दा हाल्न भेट्ने भन्दै छुटिए। 

हिजो शनिबार एउटा लगानीकर्ता संघले आयोजना गरेको कार्यक्रम पनि कम रोचक थिएन। नयाँबानेश्वरमा आयोजिन कार्यक्रम ११ बजेबाट सुरु भएको थियो। लगानीकर्ता र तिनका नेता आउने क्रम जारी थियो। दिउँसो करिब २ बजेसम्म औपचारिक सम्बोधन भएपछि बन्दसत्र सुरु भयो। त्यसपछि हलबाट बाहिर निस्केका लगानीकर्ताहरु चियापसलमा ग्रुप–ग्रुपमा चिया गफ गर्न थाले। एउटा ग्रुपमा चिरपरिचित प्राविधिक विश्लेषक, क्लबहाउसका यल दरबारदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजार बुझेका विज्ञहरुसम्मको भेला भयो। त्यसपछि त्यहाँ चियाको सानो कपको चुस्कीमै तुफान आउन थाल्यो। सबैको चासो अब सेयर बजार के होला ? भन्ने नै रह्यो। 

यसैबीच आफूलाई प्राविधिक विश्लेषक बताउने एक लगानीकर्ताले भने, ‘बजार १८५० मा टिक्यो भने टिक्यो होइन भने यसपालि क्वाटरल बटम हुने वाल छैन।’

चियाको सुर्पी तान्दै ती लगानीकर्ताले थपे, ‘हेर्नुस् बजार घटेपछि तपाइँले बेच्दिनँ भनेर कहाँ सुख पाउनुहुन्छ ? मार्जिन कल ट्रिगर भयो भने बजार कसैले थाम्न सक्दैन। बैंकले आफैँ सेयर बेचिदिन्छ। त्यसपछिको बजार केही भन्न सकिन्न। तर, आशा गरौँ बजारमा त्यो अवस्था नआओस्।’