– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यो साता पनि हामीले पर्यटकीय नगरी पोखराकै लगानीकर्ता र ब्रोकर सञ्चालकको विचारलाई निरन्तरता दिएका छौँ। 

सबैभन्दा पहिले आज हामी पोखराको न्युरोडमा रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पुग्यौँ। आज पनि बजार खुले देखि नै निरन्तर घटेको थियो। ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता निराश देखिन्थे। 

नासामा भेटिएका एकछत्रे टोपी लगाएका लगानीकर्ता निराश हुँदै भन्दै थिए, ‘यो बजारमा पस्नु गल्ती भएछ। बजार घट्दा–घट्दा हैरान भयो। ब्याज बढेको बढ्यै छ। अब त हात ठड्याउनुको विकल्प रहेन। सकुन्जेल त सेयर बेचेर नै ब्याज तिरेको हो। अब कुनै विकल्प रहेन।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले निराश हुँदै भने, ‘अस्ति बेचेको भए पनि हुने रहेछ। यो बजारमा लोन नभए केही छैन तर लोनले नै रहेछ गाह्रो बनाउने रहेछ।’

मध्याह्नको १२ बजिसेकेको थियो। बजार निरन्तर घटिरहेको थियो। 

केही समयको बसाइपछि हामी न्युरोडमै रहेको नेपाल  स्टक हाउस (स्टक ब्रोकर नं. १४)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति समान्य थियो। लगानीकर्ता बजार हेर्नभन्दा पनि डिस्प्लेमा क्रिकेट हेरेर मस्त देखिन्थे। उनीहरुलाई बजारको कुनै चासो थिएन। 

त्यहाँबाट हामी न्युरोडमै रहेको इन्भेस्टमेन्ट म्यानेजमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ५३)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो। त्यस ब्रोकरका सञ्चालकले घर–जग्गामा भन्दा लगानी सेयरमा नै उपयुक्त हुने बताए। ‘तर सेयर बजारमा विश्वास नभएका कारण अझै  ३–४ महिना साइडवेजमै चल्न सक्ने देखिन्छ’, उनले भने। 

त्यहाँबाट हामी न्युरोडकै प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२ मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति शुन्य थियो। डिस्प्ले पनि बन्द नै थियो।

केही सयमपश्चात हामीले केही समयपहिले मात्रै पोखरा आएको सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा पुग्यौँ। त्यहाँ डिस्प्ले भने खुलेको थियो तर लगानीकर्ता उपस्थिति शून्य थियो। ब्रोकर सञ्चालकले पनि बजारमा विश्वास नहुँदा म्युचुअल फन्ड तथा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजार घटेको बताए। 

ब्रोकर हाउसबाहेक हामीले पोखरामा केही बैंकर र बजार जानकारसँग पनि बजारको पछिल्लो अवस्थाको विषयमा सोधखोज गर्यौँ। बैंकरहरुले ब्याज घट्दा पनि मानिस कर्जा खोज्नै नआएको बताए भने बजार जानकारहरु सेयर किन्दा–किन्दा हैरान भएकोले अब नथप्ने मुडमा देखिन्थे।