– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँजस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका गतिविधि बुझ्ने क्रमलाई निरन्तरता दिएका छौँ। 

आर्थिक वर्षको पनि पहिलो कारोबार दिन सेयर बजारमा हरियाली तथा लगानीकर्तामा उत्साह तथा उमंग देखियो। ब्रोकर हाउसहरुमा विभिन्न कामले लगानीकर्ताको उपस्थिति  बाक्लै देखियो। अनलाइन प्रविधिको विकाससँगै अहिले घरमै बसेर कारोबार गर्नेको लगानीकर्ताको जमात बाक्लै छ। तर पनि ब्रोकर हाउसहरुमा लागनीकर्ताको चहलपहल उत्तिकै देखियो। 

आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको कमलादीमा रहेका विभिन्न ब्रोकर हाउस घुम्यौँ। सबैभन्दा पहिले हामी प्रज्ञान सेक्युरिटिज स्टक ब्रोकर १० मा पुग्दा लगानीकर्ता फाट्टाफुट्ट आउने क्रम जारी थियो। एक लगानीकर्ता कुर्ची तान्दै अर्को साथीलाई सोधे, ‘होइन अब केले लिड गर्ला यो सेयर बजारमा ?’ 

सँगैका साथीले जबाफ दिए, ‘लघुवित्त र विकास बैंक नै हो।’ 

यत्तिकैमा अर्का एक लगानीकर्ताले सोधे, ‘राजनीति के होला ?’

अर्काले जबाफ दिए, ‘जे भए पनि बजार स्थायी नै हुन्छ, अर्थमन्त्री पनि पुँजी बजारप्रति सकारात्मक नै छन्। अब बजारमा उछाल आउनेछ।’

केही नयाँ लगानीकर्ता ‘अहिले सेयर किनेर कहिले लाभांश पाइन्छ ?’ भन्दै पुराना लगानीकर्तासँग सोधीखोजी गर्दै थिए। 

त्यहाँबाट हामी स्टक ब्रकर नम्बर ३५ कोहिनुर सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ पनि नयाँ तथा पुराना लगानीकर्ताको उपस्थिति राम्रै थियो। नयाँ लगानीकर्ताहरु डिम्याट अद्यावधिक गराउन तथा नयाँ खाता खोल्न व्यस्त थिए। पुराना लगानीकर्ताहरु कारोबार तथा हिसाबकिताब गर्न व्यस्त थिए। 

एक लगानीकर्ताले भने, ‘यसपालि फर्स्ट माइक्रोफाइनान्सलाई रिपोर्ट निकाल्न कामाना सेवा विकास बैंकले पछि पार्यो नि !’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब कामना सेवा विकास बैंक नै अब्बल होलाजस्तो छ।’

केही समयको बसाइपछि हामी मल्ल एन्ड मल्ल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ११ पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति पातलो थियो। भएका लगनीकर्ता भन्दै थिए, ‘अब धेरैले टीएमएस लिएर घरबाटै कारोबार गर्न थाले अहिले त ब्रोकरमा फाट्टाफुट्टमात्रै आउँछन्।’

केही लगानीकर्ता भने हाइड्रो बेचेर निफ्रा किनेको बढ्दै नबढेको भन्दै गुनासो गर्दै थिए। एक लगानीकर्ताले सँगै बसेका अर्का लगानीकर्तासँग सोधे, ‘तपाइँले त भारतमा पनि सेयर कारोबार गर्नुभएको हो क्यारे, फाइदा कता बढी हुन्छ ?’

ती लगानीकर्ताले जबाफ दिए, ‘अहिलेको माहौल हेर्दा त नेपालमै बढी हुने देखियो।’

त्यहाँबाट हामी स्टक ब्रोकर नम्बर ३३ पुग्दा लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही लगानीकर्ता डिम्याटको फर्म भर्दै थिए भने केही कारोबारमा व्यस्त देखिन्थे। यतिबेलासम्म दिनको १ बजिसकेको थियो। बजार ६० अंकभन्दा बढीले सकारात्मक आएको थियो।

त्यत्तिकैमा एक महिला लगानीकर्ताले भनिन्, ‘साउन आयो महिलाको हात पनि हरियो बजार पनि हरियो भएको छ। तीज लागेपछि बजार पनि कतै रातै हुने त होइन ?’