– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँजस्तै यो साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार सुन्ने तथा बुझ्ने क्रमलाई जारी राखेका छौँ । यो साता पहिलो दिनै सेयर बजारमा रौनक देखियो भने ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै पाइयो। 

बिहान ११ बज्दा नबज्दै अनामनगरस्थित स्टक ब्रोकर हाउस नम्बर ३४ भिजन सेक्युरिटिजमा पुगदा लगानीकर्ता आउने क्रम जारी थियो । हामी पनि भित्र पस्यौँ । भित्र एक लगानीकर्ताले सोध्दै थिए, ‘अब बैंककै पालो हो त ? के किनौँ ? ग्लोबल आइएमई बैंक ?’

सँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘यसको त पुँजी अलि बढी छ, कम पुँजी भएको एनएमबि हेर्ने हो कि ?’

सोही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने, ‘बैंकलाई मौद्रिक नीतिले नाफा बाँड्न रोक लागउँछ भन्ने हल्ला छ नि।’ 

उनीसँगै रहेका अर्का लगानीकर्ता आफूले पनि त्यस्तै हल्ला सुनेको भन्दै कोभिडको प्रभावले गर्दा बढी प्रोभिजन गर्नुपर्ने, नाफा बाँड्न नपाउने तथा सेयरमा कमाएको बाँड्न नपाउने भन्नेजस्तो हल्ला सुनेको बताए। 

केहीबेरको बसाइपछि हामी अनामनगरकै स्टक ब्रोकर नम्बर ५७ आर्यतार सेक्युरिटिजमा पुग्यौँ । त्यहाँ लगानीकर्ताको बाक्लै उपस्थिति भइसकेको थियो। लगानीकर्ताहरु छलफल गर्दै सेयर कारोबारमा व्यस्त थिए । एक महिला लगानीकर्ताले सोधिन्, ‘ए मास्टर साब ! के किन्ने हो ? आज त हाइड्रो पनि बढेको छ अनि बंैक पनि त्यस्तै बढेको छ।’ 

ती महिला लगानीकर्तालाई जबाफ दिँदै ती मास्टर साबले चस्मा पुछ्दै भने, ‘घटेको बेला अरुण हाइड्रो तथा एकेपीएल किन्नुपर्ने रहेछ।’
फेरि तिनै महिला लगानीकर्ताले सोधिन्, ‘नबिल किनौँ त ?’

छेऊमै रहेका अर्का एक पुरुष लगानीकर्ताले ठट्यौली पारामा भने, ‘के किन्ने भनेर अरुलाई सल्लाह दिन त  निकै कठिन छ, आफूले किनेपछि मात्रै भनौँल।’

लगानीकर्ताहरुबीच यस्तै गफ चल्दै थियो। त्यसबेलासम्म दिनको साढे १२ बज्दै थियो। बजार एकनासले बढी रहेको थियो । ब्रोकर हाउसमा ठेलमठेल भीड थियो। 

त्यहाँबाट हामी अनामनगरकै दिपशिखा धितोपत्र कारोबार कम्पनी स्टक ब्रोकर नम्बर ३८ मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै नै थियो। धेरैजसो नयाँ लगानीकर्ता देखिन्थे। केही पुराना लागनीकर्ता उभिएर गफगाफ गर्दै थिए। 

एक लगानीकर्ताले बैंक बढेकोतर्फ संकेत गर्दै भने, ‘अब किन्नका लागि नेपाल बैंक, सनराइज तथा सिटिजन्स बैंक नै हुन् ।’

त्यहाँबाट हामी बानेश्वरको स्टक ब्रोकर नम्बर ४१ लिन्च स्टक मार्केटमा पुग्यौँ । त्यहाँ पनि लगानीकर्ताका उपस्थितिले खुट्टा राख्ने ठाउँ थिएन । त्यत्तिकैमा एक लगानीकर्ताको मोबाइलमा घन्टी बज्यो। उनले आफ्नो मोबाइल लाउड स्पिकरमै राखेका थिए। उताबाट सोधियो, ‘के किन्ने हो ?’

ती लगानीकर्ताले जबाफ दिए, ‘ब्रोकरलाई नै सोध न ! सस्ता र बलिया बैंक नै हो, मैले जानको !’