– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँझैँ यो साताको पहिलो दिन आइतबार पनि हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर हाउसका सञ्चालकहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

देशमा भदौरे झरीले निरन्तरता पाइरहेकै बेला सेयर बजार पनि निरन्तर ओरालो लाग्दा ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको मनोभाव पनि केही बदलिएको देखियो। लामो समय बढेको बजारमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र आएपछि लगानीकर्तामा केही अन्योल छाएको पाइन्छ। 

यसै सिलसिलामा आज हामी सुरुआतमा काठमाण्डौको कालिकास्थानस्थित नेपाल स्टक हाउस ब्रोकर नम्बर १४  पुग्यौँ। नेपाल स्टक हाउसका सञ्चालकले ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनार्थ नियामकबाट एपीआई पोलिसी नपाएकोमा दुःखेसो पोखे। ती सञ्चालकले मेरो सेयरको पनि एपीआई आफूहरुले पाउनुपर्ने माग गरे।

विगतको उदाहरण दिँदै ती सञ्चालकले लगानीकर्तालाई हकप्रदको पछाडिमात्रै लाग्दा जोखिम हुने हुँदा सोचेर कारोबार गर्न सुझाव दिए। 

लगातार झरीको बेवास्ता गर्दै उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लै थियो। लगानीकर्ताहरुबीच जलविद्युत कम्पनीका सेयरभाउ बढेकोमा चर्चा चलिरहेको थियो। 

आज बिहान बजार खुल्नासाथ अरुण भ्याली हाइड्रोपावर र अरुण काबेली पावरको सेयरमा बढोत्तरी आएकोमा लगानीकर्ताहरु आश्चर्य मान्दै थिए। 

त्यहाँ ढाकाटोपी लगाएका एक लगानीकर्ताले भन्दै थिए,  ‘जीवन विकास लघुवित्तको सेयर ५ हजार माथि पुग्यो, मलाई १० कित्ता परेको छ, बेचौँ कि के गरौँ ?’ 

पछाडिको बेन्चबाट केही लगानीकर्ताले भन्दै थिए, ‘हामीसँग युनाइटेड मोदी हाइड्रोको सेयर छ तर बढ्दै बढ्दैन। हामीले बेचेपछि बढ्ने होला।’

अर्का एक लगानीकर्ताले थपे, ‘म त अहिले बेच्दिनँ।’

केहीबेरको बसाइपछि हामी न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज कम्पनी स्टक ब्राकर नम्बर ३२ मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै कम थियो। केही लगानीकर्ता मोबाइलमा बजार हेर्दै भन्दै थिए, ‘अब हाइड्रो र फाइनान्सबाट भने निस्कनु पर्छ। जलविद्युतमा संस्थापक निस्के भन्ने हल्ला आएको छ।’

केही समयको बसाइपछि हामी अनामनगरमा रहेको भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको राम्रै उपस्थिति थियो। यतिबेलासम्म दिउँसोको १ बज्दै थियो। बजार २० अंकले ओरालो लागेको थियो। 

त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो राष्ट्र बैंकको १२ करोडको सीमाले बजार घट्यो।’

फरक प्रसंगमा ती लगानीकर्ताले नजिकैको बन्दै गरेको भवनतर्फ संकेत गर्दै भने, ‘ऊ त्यो भवनमा बजेट अभावले काम रोकयो। पैसा जति राजस्वमार्फत सरकारले तान्यो। नयाँ मन्त्रिमण्डल नबन्दा र बजेट परिमार्जन हुन नसक्दा बैंकमा तरल्ताको अभाव हुने देखियो। अनि बजारलाई त असर गरिहाल्छ नि !’

त्यहाँबाट हामी अनामनगरमै रहेको आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ मा पुग्यौँ। त्यहाँ पनि लागनीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भने, ‘यो एचआईडीसीएल के गर्ने होला ? संस्थापकले जलविद्युतको सेयर बेचेर निस्के भन्छन्।’

उनीसँगै बसेका अर्को लगानीकर्ता भने, ‘अब भने साँच्चिकै सुरक्षित कम्पनीतिर लाग्ने बेला भयो।’

त्यतिबेलासम्म दिउँसोको २ बज्दै थियो। बजार भने ४५ अंकले घटिसकेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता सोचमग्न देखिन्थे।