- अर्जुन तिमिल्सिना

काठमाण्डौ । नियमितझैँ यो साताको पहिलो दिन आइतबार हामीले राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार बुझ्ने क्रमलाई निरन्तरता दिएका छौँ। 

बिहान ११ बज्दा नबज्दै हामी सुरुमा काठमाण्डौको कमलादीस्थित स्टक ब्रोकर नम्बर ३५ कोहिनूर सेक्युरिटिज पुगेका थियौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। सुरुमा बढेको बजार विस्तार घट्न थालेपछि एक लगानीकर्ताले भने, ‘अहिलेसम्म बैंकले राम्रै लाभांश घोषणा गरेका छन्। सिटिजन्स बैंकको पनि भाउअनुसार त ठिकै हो तर झन लाभांश घोषणा गरेपछि घट्न थाल्यो। केही नदिने फाइनान्सहरु भने बढेका छन्।’ 

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘माछापुच्छ्रे बैंक पनि ठिकै छ नि, अहिलेको मूल्यअनुसार।’

त्यहीँ उपस्थित अर्का लगानीकर्ताले लघुवित्तमा पनि विस्तारै आकर्षण आउन सक्ने भन्दै साना किसान लघुवित्तको किन्न उपयुक्त हुने सल्लाह दिए। उनीसँगै बसेका एक लगानीकर्ताले भने आफूले अलि छिटो लघुवित्तको सेयर किनेर घाटा भएको भन्दै अघिल्लो हप्ता किनेको सेयरको पैसा तिर्न भन्दै काउन्टर तिर गए। 

सोही ब्रोकर हाउसका एक अधिकारी भने मन्त्रिमण्डल विस्तार भयो भने बजारमा सकारात्मक माहौल आउन सक्ने बताए। उनले ठट्यौली पारामा भने, ‘नेपाल हो, अर्थमन्त्री नै फेरिन पनि के बेर ?’

सबै माहोल सकारात्मक हुँदा पनि बजार घट्नुमा लगानीकर्ताले विश्वास गुमाएको ती अधिकारीले प्रतिक्रिया दिए। 

त्यत्तिकैमा एक लगानीकर्ताले ती अधिकारीलाई फोनमार्फत महालक्ष्मी विकास बैंक भोलुममा बेच्ने आए भने राखिदिन अनुरोध गरे।  

केही समयको बसाइपछि हामी हात्तीसारस्थित स्टक ब्रोकर नम्बर ११ मल्ल एन्ड मल्ल सेक्युरिटिज पुग्याँै। त्यहाँ भने लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। केही लगानीकर्ता भने मोबाइलमा हेर्दै बजार घटेकोमा अनौठो मान्दै थिए। एक लगानीकर्ताले भने, ‘अघिल्लो बुलिस ट्रेन्डमा बुल सकिने बेलामा लाभांश घोषणा गर्यो कि बजार घट्ने हुन्थ्यो, अहिले पनि त्यस्तै हुने त होइन ?’

सँगै बसेका एक लगानीकर्ताले उनीसँग असहमति जनाउँदै भने, ‘अहिले नै बुल कसरी सकिन्छ ? दसैँ लागेको हो, केही दिनमा बजार फेरि फर्किन्छ।’
पुतलीसडककै न्युप्लाजास्थित स्टक ब्रोकर नम्बर २६ एसियन सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। यतिबेलासम्म दिउँसोको १ बज्दै थियो। बजार ५० अंकभन्दा बढीले घटिसकेको थियो। 

त्यत्तिकैमा एक लगानीकर्ता भन्दै थिए, ‘यही बेला हो किन्ने।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अहिले किन्ने अलि बेला भएको छैन, पर्खनुहोस् बजारमा अझै करेक्सन हुन सक्छ।’

केही समयको बसाइपछि हामी पुतलीसडकस्थित स्टक ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ केही पुराना लगानीकर्ता बजारको विश्लेषण गर्दै थिए। 

एक लगानीकर्ताले भने, ‘यो बजार अहिले नै यसरी घट्नुपर्ने त होइन। तर यो मझौला लगानीकर्ता, जसको १ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म नेटवर्थ भएका छन्, उनीहरु ३००० को विन्दु माथि बेचेर बजार पसेकै छैनन् अनि कसरी बजार माथि जान्छ ?’

ती लगानीकर्ताले थपे, ‘सानाले त धान्नेमात्रै हो, बजार माथि लाने त मझौला लगानीकर्ता नै हुन्।’

उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘आउने त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले अहिले ल्याएका सबै नीतिबाट पछि हट्छ। त्यसपछि मात्रै बजार माथि जान्छ। बजार माथि नै जाने हो, प्रतीक्षा एउटा गुड न्युजको मात्र।’