- अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा लगातार गिरावट आइरहेको छ। ब्रोकर हाउसहरुका लगानीकर्तामा अन्यौल र आशा दुवै देखिन्छ।
यसै सिलसिलामा सधैँको साताझैँ आइतबार पनि हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौँ। आज बिहान ११ बज्दा नबज्दै हामी काठमाण्डौको कमलपोखरीस्थित डाइनामिक मनी म्यानेजर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४ पुग्यौँ। ब्रोकर हाउसमा लागानीकर्ता आउने क्रम चलिरहेको थियो। लगानीकर्तामा केही छट्पटी देखिन्थ्यो।
उक्त ब्रोकर हाउसभित्र रहेका एक पाका लगानीकर्ताले केही इन्स्योरेन्स कम्पनीको सेयर बेच्दै सँगैको साथीलाई सोधे, ‘यो राधी जलविद्युतको सेयरमूल्य कति छ ? मैले त १२०० रुपैयाँमा किनेको ३६ प्रतिशत बोनस सेयर खाँदा पनि घाटा नै भयो। १५०० रुपैयाँ पुग्छ भनेर किनेको थिएँ।’
ती लगानीकर्तासँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘६०० रुपैयाँको आसपासमा आएको छ।’
ती पाका लगानीकर्ताले भने, ‘५० प्रतिशत नै घटेछ नि, ३६ प्रतिशत लाभांश खाएर के गर्नु ?’
अर्का लगानीकर्ताले फेरि थपे, ‘१५० प्रतिशत हकप्रद त बाँकी नै छ नि। १५०० रुपैयाँ त आवश्य पुग्छ।’
तिनै लगानीकर्ताले अब लघुवित्त कम्पनी ३५ प्रतिशतले घटेकोले अब बढ्ने आशा गरे। सेयर बजारमा आफ्ना लामो अनुभव रहेको बताउने ती लगानीकर्ताले अघिल्लोपटकको बियरिसमा ४ वर्ष निक्कै पीडादायी भएको सुनाए। उनले भने, ‘सेयर बजारले धनी–गरिब चिन्दैन, लगाव र ज्ञान बढी हुनुपर्छ।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजारमा २५ अंकको गिरावट आइसकेको थियो। तिनै लगानीकर्ता भने, ‘ग्लोबल आइएमई लघुवित्तको सेयर २८०० रुपैयाँमा किनेको थिएँ, त्यो पनि घटेर २००० रुपैयाँभन्दा तल आएको छ। सेयर बजार भनेको के हो ? बुझ्नै सकिएन।’
त्यहाँबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३९ मा पुग्यौँ। त्यहाँ पनि लागानीकर्ताको उपस्थिति बाक्लै थियो। त्यहीँ बसेका एक लगानीकर्ताले गुनासो गर्दै भन्दै थिए, ‘केही दिन पहिला शिवश्री हाइड्रो र प्रोगेसिभ फाइनान्स ४०० रुपैयाँका दरमा बेचेर ३६५ रुपैयाँतिर किनेको थिएँ, अहिले दुवैमा घाटा छ।’
त्यहीँ रहेका अर्का एक लगानीकर्ता भने एचआईडीसीएलको हकप्रद भर्न छुटेकोमा पछुतो मान्दै थिए। उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘अक्सनमा नआउँदै क्यापिटलमा गएको भए भर्न पाइन्थ्यो नि त।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले बजार २६०९ भन्दा तल आए जोखिम हुने तर्क गरे। उनले भने, ‘सेयर बजारमा बढोत्तरी छिटो आयो, अब कोभिडको प्रभाव फेरि नआए बजार २ वर्ष यस्तै हुन पनि सक्छ।’
केही समयको बसाइपछि हामी त्यहाँबाट कालिकास्थानमा रहेको नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ मा पुग्याँै। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘अघिल्लो बुलमा २५०० रुपैयाँमा किनेको एभरेस्ट बैंकको सेयर मैले अहिलेसम्म राखेको छु।’
यतिबेलासम्म नेप्से इन्डेक्स २६०० तल झरेको थियो। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यसपालिको दसैँमा च्यांग्रा खान गाह्रो हुने भो, यता सेयर घट्ने उता च्यांग्राको मूल्य बढ्ने पो हुने भो।’
त्यही ब्रोकरमा अर्का लगानीकर्ताले मनकामन लघुवित्त घटेकोमा गुनासो गर्दै थिए। उनीसँगै बसेका एक लगानीकर्ता भने बजार ६०० अंक घट्दा पनि सेयरभाउ नघटेकोमा नबिल बैंकको प्रशंसा गर्दै थिए।
केही समयको बसाइपछि हामी अनामनगरस्थित आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ मा पुग्यौँ। त्यहाँ रहेका लगानीकर्ता पनि बजार घटेकोमा निराश देखिन्थे। यत्तिकैमा एक महिला लगानीकर्ता कुमारी बैंकले जम्मा ६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेकोमा अचम्म मान्दै थिइन्।
ती महिलासँगै बसेका एक पुरुष लगानीकर्ता भने एकपटक बेचेर पनि फेरि पसेर गल्ती गरेको भन्दै पछुतो मान्दै थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago