– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँजसो यो साताको पहिलो दिन आइतबार हामीले राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने तथा बुझ्ने प्रयासलाई निरन्तरता दिएका छौँ। 

आज पनि बिहान ११ बज्दा नबज्दै हामी काठमाण्डौको खिचापोखरीस्थित मार्केट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५ मा पुग्यौँ। दसैँको प्रभावका कारण त्यहाँभित्र भन्दा बाहिरी पसलहरुमा मानिसको चहलपहल बढी देखिन्थ्यो। बिहान सुरुमा बजार करिब २० अंक बढिसकेको थियो। यत्तिकैमा एक  लगानीकर्ताले भने, ‘अब करेक्सन सकिएजस्तो छ, बजार बढिरहेको छ।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यसपालि अरुले हाइड्रोमा राम्रो कमाए, मैले त आँटै गर्न सकिनँ।’

केहीबेरको बसाइपछि हामी न्युरोडको धर्मपथस्थित जेएफ सेक्युरिटिज स्टक ब्रोकर नम्बर ७ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति न्यून थियो। ब्रोकर हाउसका सञ्चालकले अहिले चाडपर्व लागेकोले पनि लगानीकर्ता कमै आउने जानकारी दिए। ‘अनलाइन भइसकेपछि अहिले कागजको झन्झट हराएको छ’, ती सञ्चालकले भने,  ‘लगानीकर्ताहरु धेरैजसो घरबाटै कारोबार गर्न रुचाउने गर्छन्, अहिले कारोबारका लागि धेरै पनि सहज भएको छ।’

अहिले सबै लगानीकर्ताको हातहातमा सिस्टम भएकोले ब्रोकरलाई समयमै सेयर किनबेच गरिदिएन भन्ने धेरैको गुनासो समाधान भएको पनि ती सञ्चालकले तर्क गरे। 

सोही ब्रोकर हाउसमा भेटिएको एक लगानीकर्ताले अब सबैतिर सहज भएकोले डिस्प्ले पनि खोल्नुपर्ने माग गरे। ‘फिल्म हल खुले, स्कुल–कलेज पनि खुले, अब डिस्पेले किन नखोल्ने ?’ ती लगानीकर्ताले प्रश्न गर्दै भने, ‘ब्रोकरमा बसेर चिया खाँदै बजार हेरेको मज्जा नै बेग्लै !’

केही समयको बसाइपछि हामी पुतलीसडकस्थित अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ९ मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति न्यून नै थियो। केही समय हामीले ब्रोक सञ्चालकसँग बजारको अवस्था र दसैंका  बारेमा  गफगाफ गर्यौँ। 

ती सञ्चालकले यो सेयर धितो कर्जामा लगाएको सीमाले संस्थाका लागि भने धेरै अनुयुक्त भएको तर्क गरे। व्यक्तिको हकमा भए पनि यो संस्थालाई नै सेयर धितो कर्जाको सीमा लगाउनुले बजारमा कस्न नै खोजिएको ती सञ्चालकको तर्क थियो। 

त्यहाँबाट हामी अनामनगरस्थित स्टक ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटिजमा पुग्यौँ। यतिबेलासम्म दिउँसोको २ बज्दै थियो। बजारमा केही करेक्सन आएको थियो। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो कृषि बैंकको राम्रै छ नि, २८–३० प्रतिशत लाभांश त देला ?’

‘सरकारी बैंक हो, अरुले जति नदेल’, सँगै बसेका ब्रोकर सञ्चालकले भने, ‘तपाइँसँगै राम्रा सूचना छ भने किनिहाल्ने हो।’

तिनै लगानीकर्ताले फेरि सोधे, ‘सीआईटीले चाहिँ कति देला ?’ 

जबाफमा ती सञ्चालकले भने, ‘ठिकै देला।’

सँगै बसेका एक लगानीकर्ताले भने, ‘कति साँचो हो, खोई एनएलआईसी, एलआईसी र सूर्या लाइफमा विशाल ग्रुप र संघाई गु्रपको ठूलै लगानी रहेको छ भन्छन्। नेपाल लाइफ र सूर्या लाइफ मर्ज होलान् ? पहिला नेपाल लाइफको सीईओ सूर्या लाइफमा आएको छ क्यारे, के सूर्या लाइफ लिँदा हुन्छ ?’

जबाफ आयो, ‘सूर्या लाइफ १ हजार रुपैयाँबाट घटेर ७०० रुपैयाँमा आएको छ, जे भए नि किन्दा हुन्छ अब। इन्सुरेन्सको यो न्यून विन्दु नै हो।’