– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताझैँ आज आइतबार पनि हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार तथा समस्या सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौँ। आज बजार खुलेदेखि नै लगातार बढेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो। लगानीकर्ता उत्साहित नै देखिन्थे।
यत्तिकैमा एक लगानीकर्ताले बैंक नबढेको गुनासो गर्दै भने, ‘यो सानिमा बैंक भनेर किनेको त सौतेनी आमा पो परेछ, नबढेर हैरान भो!’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘रक्सी (एचडीएल) खानुहोस् भन्दा मान्नु भएन, अनि कसरी हुन्छ त ?’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले पोर्टफोलियो देखाउँदै भने, ‘बजार ३२०० हुँदा त राम्रै फाइदा भएको थियो, अहिले त घटेर ३० हजार रुपैयाँजति मात्रै फाइदा छ। घटे पनि नाफा घटेको हो, केही छैन।’
सोही ब्रोकरमा हामीले केही समय सञ्चालकसँग पनि भलाकुसारी गर्यौँ। ब्रोकर सञ्चालकले अहिले माहोल राम्रै भएकोले र दायर पनि व्यापक भएकोले बजारमा कम्पनी छानेर लगानी गर्न डराउनु नपर्ने तर्क गरे। अल्पकालका लागि ठ्याक्कै भन्न गाह्रो भए पनि अहिलेको बजारमा दीर्घकालीन सोच राखेर लागानी गर्न कुनै समस्या नरहेको उनको दाबी छ।
ती सञ्चालकले पुँजीबजारले समग्र देशको उद्योगधन्दा र देश विकासलाई योगदान दिने उल्लेख पनि गरे।
केही समयको बसाइपछि त्यहाँबाट हामी नक्सालस्थित नासा सेक्युरिजिट (स्टक ब्राकर नम्बर ५८) मा पुग्यौँ। यो ब्रोकरमा अन्यत्रभन्दा माहोल निकै फरक देखिन्थ्यो। यो बेलासम्म दिनको १ बज्दै थियो। बजार झन्डै ४० अंकले बढिसकेको थियो।
एक लगानीकर्ताले भने ‘बजारले २८१० विन्दुलाई ब्रेक गर्यो, अब माथि नै जान्छ’ भन्दै थिए।
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बढ्ने त हाइड्रो र विकास बैंक नै हुन्, चिलिमे जलविद्युत पनि अब बढ्छ।’
उनीहरुसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘भोलिसम्म सबै बैंक तथा वित्तीय संस्थाको रिपोर्ट आउँछ, बजारलाई सकारात्मक नै प्रभाव पार्छ।’
त्यहीँ रहेका एक लगानीकर्ताले भने, ‘बजार घट्दा आँखुखोलाले उल्टो सर्किट हानेको थियो, अहिले त बढेको छ।’
केही समयको बसाइपछि हामी त्यहाँबाट नक्सालमै थ्राइभ ब्रोकरेज हाउस (स्टक ब्रोकर नम्बर १३) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो।
एक पुराना अनुभवीजस्तै देखिने लगानीकर्ताले भने, ‘बैंकमा पैसा राख्नुभन्दा त सेयर बजारमा धेरै फाइदा हुन्छ। उता वर्षमा एक लाखको ७ हजार आउँछ भने सेयर बजारमा एकै हप्तामै आउँछ। आफू चल्न जान्नुपर्यो, त्यत्ति हो।’
‘मैले त घटेको बेला सान्जेन र रसुवागढी ३ हजार कित्ता किनेको थिएँ, अहिले नै एक लाखभन्दा बढी फाइदा भइसक्योे। बैंकमा पैसा राखेको भए त कहिले हो, कहिले फाइदा हुने ?’, ती लगानीकर्ताले आफ्नो मोबाइल देखाउँदै भने, ‘अब राष्ट्र बैंकले जसरी पनि सेयर कर्जाको सीमा परिवर्तन नगरी सुखै छैन।’
त्यहाँबाट हामी नक्सालमै रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो।
एक महिला लगानीकर्ताले भनिन्, ‘निफ्रा ६०० तिर किनेकी थिएँ, कहिले आउला खोइ त्यो मूल्य ? डिप्रोक्स पनि १८०० तिर किनेको घाटै भएको छ।’
उनीसँगै बसेका एक पुरुष लागनीकर्ताले भने, ‘अलिकति नाफा आउँदा बेच्न पनि जान्नु पर्छ नि !’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago