– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सधैँको जस्तै यो साताको पहिलो दिन आइतबार पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार तथा समस्या सुन्ने क्रमलाई निरन्तरता दिएका छौँ।
आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको कमलादीस्थित कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुगेका थियौँ। यो ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही नयाँ लगानीकर्ता डिम्याट तथा केवाईसी खोल्न र अपडेट गर्न व्यस्त देखिन्थे। पुराना लगानीकर्ताहरु भने आफ्नो मोबाइलमा बजार हेर्नमै मस्त देखिन्थे।
यत्तिकैमा एक पुराना लागानीकर्ताले गुनासो गर्दै भने, ‘यो नबिल म्युचुअल फन्डले सेयर किन खातामा नपठाएको होला ?’
सँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘आउँदै होला।’
‘एउटाबाट कमायो, अर्कोबाट गुमायो, यस्तै रहेछ सेयर बजार, लंगुरबुर्जा खेलेजस्तै’, उनीहरुसँगै बसेका एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘अब यो मौद्रिक नीतिको समीक्षा नआएसम्म बजारले बाटो लेलाजस्तो छैन।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार २० अंकजतिले घटेको थियो। त्यही ब्रोकरमा एक लगानीकर्ताको मोबाइमा घन्टी बज्यो। उताबाट जबाफ आयो, ‘राष्ट्र बैंकमा मिटिङ बसेको छ रे ब्याजदरको विषयमा, केही सर्कुलर आउलाजस्तो छ, चनाखो हुनु है।’
केही समयको बसाइपछि हामी कमलादीमै रहेको प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। ब्रोकर हाउसभित्र रहेका एक लगानीकर्ताले भने, ‘बैंकमा पैसा नै छैन भन्छन्।’
सँगै बसेका अर्का लगानीकर्ताले उनको भनाइ सकिन नपाउँदै भने, ‘बैंकमा पैसा नभएर के भयो त ? सेयर बजारमा अहिले धेरै लगानीकर्ताले सहकारीबाट लगानी गर्छन्। मेरो त ५–६ वटा सहकारीमा चिनजान छ, त्यहीँबाट सजिलै २०–२५ लाख लोन पाइहालिन्छ।’
अहिले बजारमा पैसाको अभावभन्दा पनि नयाँ गुड न्युजको अभाव रहेको ती लगानीकर्ताले मत राखे। ‘सेयर बजारमा स्वपँुजीले पनि चलेको छ। नयाँ सकारात्मक समाचार आओस् त पैसा त जताबाट पनि आइहाल्छ’, ती लगानीकर्ताले भने, ‘कोरिया, जापानबाट पनि लगानी गरेका छन् नि !’
त्यहाँ एक लगानीकर्ताले आयात बढी भएर पनि तरलता अभाव भएको तर्क गर्दै थिए। उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो बजारमा ट्रिक गर्ने र गोप्य सूचनामा चल्नेले कमाउने रहेछन्, हामी त त्यस्तो परिएन।’
केही समयको बसाइपछि हामी कमलादीकै श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो।
एक लगानीकर्ताले भने, ‘यो डिस्प्ले किन नखोलेको होला ? अब त फिल्म हल पनि खुलिसके। मोबाइलमा हेर्नुभन्दा त डिस्प्लेमा हेर्न निकै मज्जा हुन्थ्यो।’
अर्का लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्दै भने, ‘डिप्रोक्स लघुवित्त र शिखर इन्स्योरेन्समा त राम्रै कमाइएको थियो नि ! पछि लाइफ इन्स्योरेन्स र हाइड्रोमा गुमाइयो।’
सँगै बसेका एक लगानीकर्ताले अर्का लगानीकर्तालाई देखाउँदै भने, ‘उहाँलाई हेर्नुहोस्, उहाँले त १०० रुपैयाँमा गोर्खाज फाइनान्सको सेयर किनेर १ हजार रुपैयाँ माथि बेच्नुभयो। सेयर बजारमा लाग्नेको सिंहको जस्तो मुटु हुनुपर्छ। खोलेहाँसको जस्तो धैर्यता हुनुपर्यो नि ! तपाइँहरु साग बेचे जसरी सेयर बेच्ने अनि कसरी कमाइ हुन्छ त ?’
हामी त्यहाँबाट न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६ पुग्यौँ। त्यहाँ केही पुराना लगानीकर्ता र ब्रोकर सञ्चालकबीच बजारका विषयमा गफगाफ चल्दै थियो। केही सकारात्मक समाचारको प्रतीक्षामै बजार रहेको उनीहरुको निचोड थियो। उनीहरु भन्दै थिए, ‘बजार २६०० भन्दा तल त कुनै हालतमा आउँदैन, सबै लगानीकर्ता गुड न्युजकै प्रतीक्षामा छन्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago