– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सधैँझैँ यो साताको पहिलो दिन आइतबार पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार र समस्या सुन्ने तथा बुझ्ने क्रमलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै राजधानीको अति व्यस्त ठाउँ पुतलीसडकस्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौँ। यहाँ लगानीकर्ताको उपस्थिति पातलो थियो। अहिले अनलाइन प्रविधिबाट कारोबार गर्ने भएकोले हुन सक्छ धेरै लगानीकर्ता घर तथा आफ्नै अफिसबाट कारोबार गर्न थालेको पाइयो।
आज बिहानैबाट सेयर बजारको सूचकमा केही बिक्री दबाब परेको थियो। त्यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘लगानीकर्ता मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेका छन्। ४–१२ को ठाउँमा ४–२७ हुन्छ भन्ने सुनिएको छ, हेरौँ के हुन्छ ?’
उनीसँगै बसेका अर्का लगानकर्ताले भने, ‘यही बुधबारसम्म आउने भन्ने सुनिएको छ, हो त ?’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘हुन सक्छ। राष्ट्र बैंक घनिभूत रुपमा लागेको सुनिएको छ।’
यस बेलासम्म दिनको १२ बजिसकेको थियो। बिहानको पहिलो प्रहरमा बजार २० अंकभन्दा बढीले घटेको थियो भने कारोबार पनि जम्मा १ अर्ब रुपैयाँमा सीमित रहेको थियो।
प्रिमियर सेक्युरिटिजका एक सञ्चालकले आफूहरु उपत्यकापछि आफ्नो शाखा पोखरा र स्याङ्जाको वालिङमा पनि खोल्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको तर बोर्डमा अध्यक्ष नभएकोले काम हुन नसकेको बताए। अहिलेको बजार मजबुत नै रहेको ती ब्रोकरको भनाइ थियो।
केही समयको बसाइपछि हामी प्रदर्शनीमार्गस्थित सेक्योर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौँ। यहाँ पनि लगानीकर्ताको उपस्थिति कमै थियो। एक लगानीकर्ता भन्दै थिए, ‘यो अपी पावरमा फसियो कि क्या हो ? जति किन्यो उति घट्छ।’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार बढेपछि बढ्ने भनेको हाइड्रो र बैंक नै हो, त्यसैले घटेको बेला अरुण काबेली र ज्योति विकास बैंक किनेर राख्नुपर्छ।’
यो ब्रोकरमा पनि हामीले सञ्चलकसँग बजारका बारेमा र नियामक निकायमा आउने नेतृत्वका विषयमा केही छलफल् गर्यौँ। ब्रोकर सञ्चालकले भने, ‘अबको दुई साताभित्रै नेप्से र सेबोन दुवैले नेतृत्व पाउन सक्छ। बजार पनि सकारात्मक हुन सक्छ।’
केही समयको बसाइपछि हामी अनामनगरस्थित भिजन सेक्युुरिटिज (स्टक ब्रोकर नम्बर ३४) पुग्याँै। यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘नेप्से सूचकको २७५० मा खड्को छ रे। यहाँभन्दा माथि नै रहुन्जेल बजार घट्दैन भन्छन्, बजारका ज्योतिषहरु !’
ती लगानीकर्ताले थपे, ‘मैले बेष्ट फाइनान्स ३५० रुपैयाँमा किनेको थिएँ, राम्रै फाइदा भएको छ। हामीसँग धेरै किन्ने पैसा भएन के गर्नु ? अप्पर पनि थोरै किनेर राखेको छु।’
त्यहाँबाट हामी नयाँबानेश्वरस्थित लिन्च स्टक मार्केट (ब्रोकर नम्बर ४१) पुग्यौँ। यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। यो बेलासम्म दिनको २ बज्दै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘सेयर बजारमा घट्दा नै किन्ने हो, मौका आउलाजस्तो छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago