– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौँ। आज बजार खुलेदेखि नै निरन्तर घटिरहेको थियो। ब्रोकर हाउसमा आएका लगाानीकर्ताहरुले आफ्नो मोबाइल तथा आइप्याडमा बजार हेर्न मस्त देखिन्थे। केही लगानीकर्ता आपसमा खासखुस पनि गरेको देखिन्थ्यो। यत्तिकैमा एक लगानीकर्ता ‘अब त नेसनल हाइड्रो पावर कम्पनीको सेयर बेच्न पर्यो’ भन्दै ४२० रुपैयाँमा ५०० कित्ता बेच्न आदेश दिए।
ब्रोकर हाउसका कर्मचारीहरुको मोबाइलमा पनि तारन्तार घन्टी बजिरहेको थियो। एक लगानीकर्ताले ब्रोकरका कर्मचारीलाई फोन गरेर साहास उर्जा कम्पनीको आईपीओमा परेको सेयर बेच्न आदेश दिए। ती कर्मचारीले सेयर बेचेपछि मेरो सेयरमार्फत अनिवार्य रुपमा ईडीआईएस आफैँ गर्नुपर्ने भन्दै सम्झाउँदै थिए।
यति बेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार ४० अंकले घटिसकेको थियो।
केही समयपछि हामी खिचापोखरीस्थित मार्केट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५) मा पुग्यौँ। यहाँ पनि लगानीकर्ता मोबाइल तथा आइप्याडमै बजार हेरेर बसिरहेका थिए। एक लगानीकर्ताले भने, ‘यो गोर्खाज फाइनान्स १३०० तिर किन्नेले त अहिले बुझे होलान् है बल्ल ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘नबिलभन्दा गोर्खाज फाइनान्स त कसरी माथि हुन्छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘यो मुक्तिनाथ १ हजार पुग्छ भनेर राखेको ठ्याक्कै आधा पो भो, कसलाई थाहा हुन्छ र सेयरको मूल्य कति हुन्छ भनेर ?’
केही समयको बसाइपछि हामी इन्द्रचोकस्थित एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) मा पुग्याँै। त्यहाँ लगानीकर्ताको उपस्थित निकै पातलो थियो। एक लगानीकर्ता आफूलाई बैंक खाता नम्बर नमिलेको भन्दै ब्रोकरले दुःख दिएकोमा आक्रोश पोख्दै थिए। उनले आफू धादिङबाट यति कामका लागि आएको भन्दै गुनासो पोखे।
यो बेलासम्म दिनको १ बज्दै थियो। बजार निरन्तर घटिरहेकै थियो। बजार ६० अंकले घट्दा कारोबार भने ३ अर्बको पनि भएको थिएन।
केही समयको बसाइपछि हामी पुतलीसडकस्थित अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ताको जोडी भने बच्चा नै बोकेर ब्रोकर हाउसमा सेयर कारोबार गर्न भन्दै आएका थिए। उनीहरुले ब्रोकरसँग केवाईसी फर्म माग्दै भन्दै थिए, ‘सेयर किन्ने भनेको त यस्तै घटिरहेको समयमा हो, अब कतिसम्म घट्ला र ?’
त्यहाँ हामीले केही सयम ब्रोकर सञ्चालकसँग पनि बजारको पछिल्लो अवस्थाका बारेमा गफगाफ गर्यौँ। ती ब्रोकर सञ्चालकले पनि बजार धेरै घटिसकेकोले छुट्टै फर्किन सक्ने भन्दै लगानीकर्तामा आत्मविश्वासको अभाव देखिएको प्रतिक्रिया दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19