– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सेयर बजारमा रौनक कायमै छ। ब्रोकर हाउसहरुमा अहिले कारोबार खाता खोल्नेहरुको लर्को लाग्ने गरेको छ। 

आज धितोपत्र कारोबार हुने पहिलो दिन आइतबार सधैँजसो हामी आफ्नो ग्राउन्ड जीरो स्तम्भका लागि हामी राजधानीका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने क्रमलाई जारी राखेका छौँ। यसै सिलसिलमा बिहान ११ बज्दा नबज्दै हामी नक्सालको नागपोखरीस्थित ब्रोकर नं. ५८ नासा सेक्युरिटिज पुग्यौँ। यो ब्रोकर हाउसमा सबैलाई पस्नै अनुमति छैन। गेटमै सोधपुछ गरेर आवश्यकलाई मात्रै भित्र पठाइने अनौठो व्यवस्था रहेछ। गेटमै सोधपुछपछि हामी भित्रै पस्यौँ। करिब १०–१२ वटा कम्प्युटरमा लगानीकर्ताहरु व्यस्त देखिन्थे। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अप्पर तामाकोशीको सेयरले आज सर्किट नै हान्छ कि क्या हो ?’

आडैमा बसेका अर्का लगानीकर्ताले जबाफ फर्काए, ‘आज त लगानीकर्ता बैंकबाट प्रफिट बुक गरेर जलविद्युततिर लागेजस्तो छ।’

त्यत्तिकैमा अर्का लगानीकर्ताले अरुण भ्याली हाइड्रोपावरको सेयरको चर्चा गर्दै भने, ‘यसको पनि छिटै राइट आउँदैछ, अब बढ्छ कि ?’
केही लगानीकर्ताहरु सान्जेनको पनि चर्चा गर्दै थिए। 

त्यहीँ एक लगानीकर्ताले एउटा बैंकको १ लाखभन्दा बढी कित्ता सेयर बेच्न लिखित आदेश दिए तर ब्रोकरले भोलि बेचिदिने भन्दै डीआईएस छोड्न आग्रह गरे। यतिबेलासम्म दिनको १२ बजिसकेको थियो। ब्रोकरमा चिया बाँड्न थालियो। लगानीकर्ता चियाको चुस्कीसँगै फेरि किनबेचमै व्यस्त भए। 

केहीबेरको बसाइपछि हामी ब्रोकर नं. ३३ दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा पुग्दा नयाँ तथा पुराना लगानीकर्ताको उपस्थिति बाक्लै थियो। धैरैजसो पुरानाभन्दा नयाँ लगानीकर्ता देखिन्थे। एक पुराना लगानीकर्ताले शिखर इन्स्योरेन्सको चर्चा गर्दै भने, ‘यसको त पुँजी कमै छ, मूल्य त ३५ सय पुग्छ कि जस्तो छ।’

केही समयको बसाइपछि हामी पुतलीसडकस्थित मिदास सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताहरुको भीडभाड देखिन्थ्यो। त्यत्तिकैमा एकजना कलेज पढ्नेजस्ता देखिने लगानीकर्ताले आफ्ना साथीहरुलाई भने, ‘आईपीओमा त निकै फाइदा हुन्छ, मैले त नछुटाइ भरेको छु।’
त्यहाँ पनि भित्र पस्नलाई सकस नै थियो। काम सोधेर आवश्यकलाई मात्रै पठाइने गरिन्थ्यो। 

त्यसपछि हामी न्युप्लाजास्थित ब्रोकर नं. २६ एसियन सेक्युरिटिज पुग्यौँ। त्यहाँ एक पुराना लगानीकर्ता भन्दै थिए, ‘नाफा आयो, मैले लघुवित्तका सेयरहरु बेचिदिएँ।’