– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको जस्तै यो साताको पहिलो कारोबार दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसपालि हामी पोखराका केही ब्रोकर हाउस पुगेका थियौँ।
बिहान ११ बज्दा नबज्दै हामी सबैभन्दा पहिले पोखराको न्युरोडस्थित नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। एक लागनीकर्ता भन्दै थिए, ‘नेपाल लाइफ बेचिएन, अहिले त आधा नै घट्यो, अब म त बेच्दिनँ। कम्पनी राम्रो छ। राखे पनि फाइदै हुन्छ।’
त्यहाँ हामीले ब्रोकर सञ्चालकसँग पनि कुराकानी गर्यौँ। ब्रोकर सञ्चालकले आज लगानीकर्ताहरु आत्तिएर फोन गरिरहेको प्रतिक्रिया दिए। पोखरेली लगानीकर्ता र अन्यमा फरक रहेको भन्दै उनले भने, ‘पोखरेली लगानीकर्ताले सेयर बजारमा घाटा खाँदैनन् किनकि उनीहरुले उधारोमा सेयर किन्दैनन्।’
ती सञ्चालकका अनुसार पोखराका ८० प्रतिशत लगानीकर्ताले आफ्नै स्वपुँजीबाट मात्रै सेयर किन्छन्। ‘आफ्नै स्वपुँजीमा लगानी गर्नेहरु बजार अलिकति घट्दैमा डराउनुपर्ने हुँदैन’, ती सञ्चालकले भने।
केही समयको बसाइपछि हामी पोखराको न्युरोडमै रहेको कुमारी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १) मा पुग्यौँ। दिनको १ बज्दै थियो। बजार ४० अंक जतिले घटेको थियो। एक लगानीकर्ता आफूलाई ब्रोकरले पैसा समयमै नहालिदिने गरेको भन्दै गुनासो गर्दै थिए। ‘हरेक पटक सेयर बेचेर फोन नै गर्नुपर्ने रहेछ’, उनले भने।
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने बजार निकै घटेकोले अब मार्जिन कलको सम्भावना रहेको बताए।
त्यहाँ केही समयको बसाइपछि हामी न्युरोडमै रहेको त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (स्टक ब्रोकर नम्बर ४८) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ता आज बजार घटेकोमा र २३७० भन्दा तल आएकोमा आश्चर्य मान्दै भन्दै थिए, ‘यस्तै पारा हो भने अब यो सेयर बजार बन्द नै गर्नुपर्छ। यो नियामक निकाय र सरकारले पुँजीबजारलाई निकै उपेक्षा गरेको पाइयो।’
त्यहाँबाट हामी पोखराको धेरै लगानीकर्ता जाने ब्रोकर प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौँ। यहाँ भेटिएका एक लगानीकर्ता पनि बजार घटेकोमा चिन्तित थिए। उनी भन्दै थिए, ‘२० लाख लगानी गरेको आधा हुन थाल्यो, अब के गर्ने ?’
उनीसँगै बसेका एक लगानीकर्ता भन्दै थिए, ‘बजार सधैँ घटेको घट्यै त गर्दैन नि। अब कति त घट्ला र बजार ?’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago