– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा लगानीकर्ताको विचार सुन्ने तथा जान्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) मा पुग्यौँ । आज बजारमा बिहानैदेखि हरियाली छाएको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो । एक लगानीकर्ता भने, ‘बजार त एक हप्ता नै बढ्ने हो, बरु आज बैंक बेचेर अब फाइनान्समा सिफ्ट हुने हो।’
यसो भन्दै ती लगानीकर्ताले एनसीसी बैंकको २ हजार कित्ता सेयर बेच्न आदेश दिए। उनले फेरि निराश हुँदै भने, ‘चल्ने त आखिरमा हाइड्रो नै रहेछ, अस्ति घाटामै १८ लाखजतिको हाइड्रो बेचियो ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले पनि बजार घटेर रुनु न हाँस्नु भएपछि चन्द्रगिरीको ७५ लाखको सेयर बेचेँ।’
त्यहीँ बसेका एक लगानीकर्ताले सोधे, ‘यो माइक्रो किन नबढेको हो, मसँग त सबै माइक्रो नै माइक्रो छ।’
सँगै बसेका लगानीकर्ताले जबाफ दिए, ‘यी माइक्रोहरु अब माघपछि बढ्छ नै।’
अर्का लगानीकर्ता भन्दै, ‘मैले पनि सीआईटी बेचेँ नि, के गर्नु बजार घटेपछि ?’
केही छिनमा उनकै मोबाइलमा घन्टी बज्यो। उताबाट एक लगानीकर्ताले सोधे, ‘बजार बढेको छ, के गर्ने हो ?’
उनले जबाफ फर्काए, ‘बजार त अझै बढ्छ नै, आधाजति नाफा बुक गर्नु नि !’
त्यही ब्रोकर हाउसभित्र बसेका एक लगानीकर्ता भन्दै थिए, ‘यो अप्पर पनि मलाई त सधैँ खप्पर नै भयो । अघिल्लोपटक ९०० मा उठाएँ, घटेर ५०० तिर आयो, अझै १४०० कित्ता छ, यो मार्केटमा कमाउन जानिएन ।’
यो बेलासम्म मध्याह्नको १२ बज्दै थियो । बजारमा निरन्तर उकालो लागेको थियो। सेयर कारोबार पहिलो एक घन्टामै झन्डै २ अर्ब कारोबार भइसकेको थियो। एक लगानीकर्ता भन्दै थिए, ‘यो बजारमा सधैँ सबैले कहाँ कमाउन सक्छ र ? यसैले बजार चलेको छ।’
हामी त्यहाँबाट अनामनगरस्थित आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौँ। यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। यो बेलासम्म बजारमा ७० अंकको बढोत्तरी आएको थियो। कारोबार पनि झन्डै ४ अर्बभन्दा बढी भएको थियो। त्यहाँ भने लगानीकर्ता अब लकडाउन हुन सक्ने चर्चा गर्दै थिए । एक लगानीकर्ताले भने, ‘अब स्मार्ट लकडाउन होला जस्तो छ। पहिला क्लब हाउस, स्कुल, क्लेज बन्द हुन सक्छन्।’
केही समयको बसाइपछि हामी अनामनगरकै इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोरक नम्बर ४५) मा पुग्यौँ। यहाँ पुरना लगानीकर्ताभन्दा नयाँ लगानीकर्ता नयाँ खाता खोल्न आएको देखिन्थे।
केही समयको बसाइपछि हामी हनुमानस्थानस्थित कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुग्यौँ । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ पनि लगानीकर्तामाझ आज सेयर किन्ने वा बेच्ने भन्ने विषयमा नै चर्चा थियो। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘आज सेयर के गर्ने हो ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार त अझै बढ्छ, केही दिन हेर्ने हो कि ?’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ता भने, ‘सेयर त घट्दा किन्ने र बढ्दा बेच्ने हो। तर आफ्नो त चञ्चले हात, बेचियो बिहानै।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19