– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज हामी बिहान ११ बज्दा नबज्दै पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज  (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौँ। यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। आज बजार बिहान खुलेदेखि नै निरन्तर उकालो लागेको थियो। ब्रोकर हाउसमा फोनका घन्टी निरन्तर बजिरहेका थिए। 

उताबाट ब्रोरकहरुलाई के किन्ने भनेर सुझाव मागेको सुनिन्थ्यो। ब्रोकरले भने बजार ६०० अंकभन्दा बढी बढेकोले सचेत रहँदै कारोबार गर्न सुझाव दिँदै थिए। 

यत्तिकैका एक लागनीकर्ताले भने, ‘यो एभरेष्ट इन्स्योरेन्स र युनियन लाइफ इन्सोरेन्स मर्जको हल्ला छ, खास कुरा के हो ?’ 

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘एभरेष्ट र युनियन मर्ज भएर केही फरक पर्दैन। भाउ उस्तै–उस्तै छ। शिखरसँग भएको भए पो केही फाइदा हुने थियो।’

केही समयको बसाइपछि हामी पुतलीसडकमै रहेको श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति पातलो नै थियो। यो बेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार ८० अंकले बढेको थियो। कारोबरा पनि ४ अर्ब रुपैयाँभन्दा बढी भएको थियो। त्यहाँ उपस्थित लगानीकर्ताहरु बजार बढेकोमा मख्ख देखिन्थे।

एक लगानीकर्ताले भने, ‘गएको साता एचआईडीसीएल किनेको राम्रै भएको छ।’

सँगै बसेका अर्का लगानीकर्ताले सोधे, ‘के छ यसमा ?’

ती लगानीकर्ताले जबाफ दिए, ‘सस्तो छ।’

उनीहरु सँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘बजारमा फेरि चमक फर्कियो, बजारमा आजको कारोबार हेर्दा संस्थागत र पुराना लगानीकर्ता पसेको हुनुपर्छ। आज त कारोबार १० अर्बभन्दा बढी हुन सक्छ।’

त्यहीँ बसिरहेका एक लगानीकर्ता भने, ‘यो बजारमा म्युचुअल फन्डले पनि राम्रै चलखेल गर्छन्। ‘एचआईडीसीएल २२५ रुपैयाँमा उठाए, अहिले कति फाइदा गरे ?’, उनले जिज्ञासा राखे। 

त्यहाँबाट हामी पुतलीसडककै त्रिशूल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको कमैमात्र उपस्थिति थियो। उपस्थित लगानीकर्ता भने आज पनि बजार बढेकोमा दंग नै थिए। एक महिला लगानीकर्ताले भनिन्, ‘आज पनि बजार बढेपछि त अब माघ महिना त बजार बढ्ने नै हो। सबैतिर सकारात्मक माहौल बनेको छ। अब बजार माथि नै जान्छ।’

हामी त्यहाँबाट न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताका उपस्थिति बाक्लो थियो। एक लगानीकर्ता भन्दै थिए, ‘अब पैसा सस्तो भयो, बैंकले सेयर लोनका लागि डाकेका डाक्यै छन्।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘पैसा त सहकारीबाट पनि बजारमा आएको छ। माघ–फागुनमा अब बजार चम्कने नै हो।’