– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार पनि हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका समस्या तथा ब्रोकर सञ्चालकका विचार सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएका कारण बाटोमा चहलपहल निकै कम देखिन्थ्यो। माघको चिसो, कोभिडको प्रभाव तथा सवारीसाधन सञ्चालनमा गरिएका कडाइका बाबजुद पनि ब्रोकरहाउसहरु लागानीकर्ताको उपस्थिति र उत्साहमा भने कुनै कमी देखिएन। बिहान ११ बज्दा नबज्दै काठमाण्डौको कमलादीस्थित कोहिनुर सक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौँ। बजार बिहानदेखि नै बढोत्तरी आएको थियो। आधा घन्टा नबित्दै एक अर्बमाथिको कारोबार भएको थियो। ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘बजार त माथि नै जाने छाँट छ। आईजीआई अझै माथि नै जान्छ जस्तो छ।’
सोही ब्रोकर हाउसमा भेटिएका अर्का लगानीकर्ता ‘गोर्खाज फाइनान्स आज ५ प्रतिशतले घटे ५ हजार कित्ताजति किन्नुपर्छ’ भन्दै ब्रोकर कर्मचारी भएतिर उठेर गए।
त्यहीँ बसेका अर्का एक लगानीकर्ताले भने, ‘यो एनटीसीको सेयर ब्रोकर नम्बर ५८ ले उठाएको छ। कतिमा लगेर भिडाउने रहेछ ?’
उनीसँगै बसेका साथीले जबाफ दिए, ‘खोइ बढेको बढ्यै छ, केही थाहा भएन।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘हाइड्रोमै हो चमक आउने, ग्रिनलाइफ हाइड्रोको सप्लाई कम छ। ५० रुपैयाँ त पक्कै मर्छ।’
केही समयको बसाइपछि हामी कमलादीकै प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १०) मा पुग्यौँ। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार निरन्तर बढिरहेको थियो। कारोबार पनि ३ अर्बमाथिको भइसकेको थियो।
यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। कोही आफ्नै ल्यापटमा त कोही मोबाइलमा बजार हेर्न व्यस्त देखिन्थे। एक लगानीकर्ताले सोधे, ‘अब बजार के हाला ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘सेयर किन्न डराउनुपर्दैन, भोलुमले साथ दिएको छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले सोधे, ‘यो अप्पर के होला ?’
त्यहीँ एक लगानीकर्ताले भने, ‘म त एनजीपीएल हेर्दैछु। आज त पैसा हुनेले उठाउने नै दिन हो।’
केही समयको बसाइपछि हामी कमलादीस्थित श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५६)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक महिला लागानीकर्ताले सोधिन् ‘यो ग्रामीण विकास लघुवित्तको अवस्था के छ ?’
सँगै बसेका एक पुरुष लगानीकर्ताले जबाफ दिए, ‘राम्रै छ। दीर्घकालका लागि हुन्छ। माइक्रोमा उछाल आयो भने त माथि नै जान्छ।’
यतिबेलासम्म दिउँसोको १ बज्दै थियो। दिनभर सकारात्मक भएको बजार विस्तारै घट्दै थियो।
केही समयको बसाइपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर ३९)मा पुग्यौँ। लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही नयाँ लगानीकर्ता बजारमा सेयर के किन्ने भन्दै ब्रोकरसँग सल्लाह लिँदै थिए।
ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरु सेयर खरिदका लागि उत्साहित देखिन्थे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago