– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुग्यौँ। त्यहाँ हामीले लगाानीकर्ताको विचार सुन्ने र जान्ने कार्यलाई निरन्तरता दियौँ।
आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५) पुग्यौँ। बजार खुलेदेखि नै नेप्सेमा बढोत्तरी भइरहेको थियो।
श्वेता सेक्युरिटिजमा केही पुराना लगानीकर्ता भलाकुसारी गर्दै थिए। एक लगानीकर्ताले अबको ३ वर्षसम्म सेयर बजारको भविष्य निकै उज्ज्वल रहेको बताए। ‘अब चुनाव भएपछि नेपालको अर्थतन्त्र पनि चलयमान हुन्छ’, ती लगानीकर्ताले भने, ‘प्रजातान्त्रिक पार्टीले चुनाव जित्ने सम्भावना छ, नयाँ सिराबाट देशको अर्थतन्त्र सुरु हुन्छ।’
ती लगानीकर्ताले अब कुनै पनि नेताले पुँजीबजारका विषयमा नकारात्मक कुरा बोल्न नसक्ने दाबी पनि गरे। ‘सबै नेताहरुले पुँजी बजार छुन नहुने रहेछ भन्ने बुझिसके’, उनले भने।
श्वेतामै भेटिएका अर्का एक लगानीकर्ताले भने, ‘मैले आज बजार बढ्छ भनेको होइन, देख्नुभयो ? चुनावको वातारवरण बनेपछि त बजार अवश्य नै बढ्छ।’
केही समयको बसाइपछि हामी नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) पुग्यौं। यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ताले मोबाइल हेर्दै भने, ‘आज बजारमा खरिदको राम्रो दबाब छ। २ बजेपछि त सबै सप्लाई बजारले खाइदिन्छजस्तो छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘खरिद दबाब आयो भने बढ्ने त हाइड्रो सेक्टर नै हो। अहिलेसम्मको सेयरमूल्य हेर्दा बुटवल पावर निकै सस्तो र सुरक्षित देखिन्छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘अप्पर पनि एक हजारको बाटोमा छ।’
त्यहाँबाट हामी नक्सालमै रहेको थ्राइभ सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १३) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भने, ‘यो बजार हल्लाले बढ्ने हो। आज बजारमा चुनावको हल्ला राम्रै छ। आज बजार राम्रै बढ्छ। भोलि त भन्न सकिन्न।’
‘बजारमा पैसा अझै सहज भएको छैन’, बजार बढेकाप्रति संकेत गर्दै अर्का लगानीकर्ताले भने।
त्यहाँबाट हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) पुग्यौँ। एक लगानीकर्ताले भने, ‘निफ्रामा त सकारात्मक सर्किट लाग्यो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले बेचेँ नि, कस्तो ब्याड लक बेचेपछि बढ्छ।’
त्यही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने, ‘बजारमा १० अर्ब माथिको भोलुम आयो भने आगामी यात्रा सुखद् नै हुन्छ।’
उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘अघिल्लो पल्ट बढ्दा किनेको पैसा ब्रोकरलाई तिर्न धेरैको बाँकी थियो, अब भने मिल्ने भयो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19