– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी राजधानीका विभिन्न ब्रोकर हाउस पुग्यौँ। आज बिहानैबाट बजारमा गिरावट आइरहेको थियो।

आज हामी सबैभन्दा पहिले काठमाण्डौको कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थित राम्रै थियो। बजार निरन्तर ओरालो लागिरहेको थियो। 

ब्रोकर हाउसभित्र रहेका एक लगानीकर्ता ‘सेयर त घटेको समयमै किन्ने हो, अरुण काबेलीको सेयर २ प्रतिशत घटेर बसेर २ हजार कित्ता किन्नुपर्यो, यो अहिलेको हट्केक हो’ भन्दै ब्रोकरको टेड्रिङ शाखातिर उठेर गए। 

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘एनआरएन पनि बढ्यो, बढ्ने त हाइड्रो नै हो।’

केही क्षणपछि त्यहाँ केही महिला लगानीकर्ताहरु पनि नमस्कार भन्दै ब्रोकर हाउसभित्र छिरे। बजार घटेकोप्रति संकेत गर्दै तिनैमध्ये एक महिला लगानीकर्ताले भनिन्, ‘होइन बजार किन घटेका हो ? सरकारले चुनाव घोषणा गर्ने भनेकै छ त।’

उनीसँगै आएकी अर्की महिला लगानीकर्ताले समाचार देखाउँदै भनिन्, ‘भोलि घोषणा गर्ने कुरा छ।’

यो बेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार ३५ अंकले घटिसेकेको थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि कुरा गर्याँै। सञ्चालकले बजार घटबढ सामान्य भएको भन्दै सामजिक सञ्जालका धेरै नकारात्मक  टिकाटिप्पणीले  बजारलाई प्रभाव परेको र नियामक निकाय चुस्तदुरुस्त नहुँदा समस्या परेको पनि बताए। 

केही समयको बसाइपछि हामी अनामनगरस्थित आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। आज पनि जलविद्युत कम्पनीकै सेयरभाउ बढेकोतर्फ संकेत गर्दै एक लगानीकर्ताले भने, ‘यो सेयर बजारमा घट्दा किन्ने र बढ्दा बेच्ने भनेको हाइड्रो नै रहेछ।’ 

त्यहाँबाट हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पस्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। ब्रोकर हाउसमा  धेरै नयाँ लगानीकर्ताको उपस्थिति थियो। हामीले यहाँ पनि ब्रोकर सञ्चालक बजारको पछिल्लो अवस्थालाई लिएर छोटो कुराकानी गर्यौँ। बजार घट्नुलाई यहाँका सञ्चालकले पनि सामान्य रुपमा लिए। उनले बजार धेरै तल नआउने तर्क पनि गरे। 

केही समयको बसाइपछि हामी नयाँबानेश्वरस्थित लिन्च सेक्युरिटिज (स्टक ब्रोकर ४१) मा पुग्यौँ। त्यहाँ उपस्थित एक लगानीकर्ताले नेपाल लाइफले घोषणा गरेको बोनसप्रति संकेत गर्दै ठट्यौली पारामा भने, ‘डुबायो सपना सबै नेपाल लाइफले !’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘१४ प्रतिशत भनेको राम्रै हो त। आज हो प्यानिक, भोलिबाट बढ्छ।’