– अनन्त्य सुन्दर

काठमाण्डौ । सेयर बजारमा विगत केही दिनदेखि निरन्तर पहिरो जाने क्रम जारी छ। स्थानीय निकायको चुनावको घोषणापछि बढ्छ भनेको बजार बढ्न नसकेको अवस्था थियो। त्यसमाथि बैंकहरुले फागुनमा ब्याजदर बढाएपछि घट्दो बजारलाई झन आगोमा घ्यु थप्दिने काम गरेको छ।

हरेक आइतबारझैँ आज हामीले विभिन्न ब्रोकर हाउसमा गएर लगानीकर्ता र बजारको कुरा सुन्ने कार्य जारी राखेका छौँ। आज ब्रोकर हाउसमा उपस्थित अधिकांश लगानीकर्तामा बैंकहरुप्रति आक्रोश देखिन्छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाइपलाइनमा रहेका कम्पनीहरुको आईपीओ निष्कासन सुरु गरेको छ। त्यसैले अधिकांश ब्रोकर हाउसमा ब्रोकर खाता खोल्ने नयाँ लगानीकर्ताको संख्या हिजोआज बाक्लो देखिन्छ।

‘मध्य भोटेकोशीको आईपीओ परेको थियो। त्यसैले सेयर बेचौँ भनेर ब्रोकर खाता खोल्न आएको’, अनामनगरस्थित दीपशिखा सेक्युरिटिज (ब्रोकर नम्बर ३८)मा उपस्थित एक लगानीकर्ताले भन्दै थिए।

‘बजार अहिले नै ८० अंकले घटिसक्यो। अब कति दिन अझै घट्ने हो थाहा छैन। अहिले किन बेच्नु ? अलिक दिनमा बजार बढेपछि बेच्नु’, सँगै बसेका अर्का लगानीकर्ताले मोबाइलमा बजार हेर्दै सुझाव दिए।

‘राष्ट्र बैंकले पनि यी बैंकहरुलाई केही गर्छ जस्तो छैन। बैंकहरुले भटाभट ब्याजदर बढाए। चुनावको हल्लाले नबढेको बजार अब त झन् के बढ्ला?’ प्रश्न गर्दै अर्का लगानीकर्ता भन्दै थिए, ‘आफूसँग भएको सेयर बेचौँ घाटामा छ। सेयर थपौँ भन्दा पैसा छैन। न त यी बैंकले लोन नै दिन्छन्।’ 

ती लगानीकर्ताको कुरा सुनेर छेउमा बसेका अर्का लगानीकर्ताले भने, ‘अहिले सेयर बेच्ने होइन किन्ने बेला हो।’

अनामनगरस्थित आर्यतारा सेक्युरिटिज (ब्रोकर नम्बर ५७) मा आ–आफ्नो मोबाइलमा बजार हेर्दै बसेका लगानीकर्ता झन्डै ८० अंकले घटेको बजार केहीबेरमा ७० अंकमा झर्यो भनेर खुसी देखिन्थे।

‘ब्याजदरले नै हो बजार यत्रो अंकले घटेको?’, एक लगानीकर्ता प्रश्न गर्दै थिए। 

प्रतिउत्तरमा अर्का लगानीकर्ताले भने, ‘बजार बढ्नका लागि नै घट्ने हो। भोलि कि त पर्सि बजार फर्किने नै हो।

‘अप्पर अहिले ठीक छैन। ईपीएस नै नेगेटिभ निकाल्यो। शिवश्रीले पनि गतिलो रिपोर्ट निकालेन’, अर्का लगानीकर्ता भन्दै थिए। 

‘लिबर्टीले चैतबाट बत्ती बल्दैछ। त्यसैले अहिलेको लागि लिबर्टी ठीक छ’, उपस्थित अर्का लगानीकर्ताले थपे।

‘हाइड्रोको आकर्षण नै बेग्लै छ’, त्यहीँ उपस्थित अर्का लगानीकर्ता भन्दै थिए, ‘बजार घट्दा सबै घट्छन्। तर बढ्दा सबैभन्दा बढी बढ्ने भनेको हाइड्रो नै हो। त्यसैले अपी ४०० मा आयो भने १ करोडको किन्छु।’

न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज (ब्रोकर नम्बर ३२) मा उपस्थित लगानीकर्ताहरु भने बजार घट्नुको पछाडिको प्रमुख कारण नै बैंकहरु हो भन्दै थिए। छेउमा बसेका अर्का लगानीकर्ताले भने, ‘सबै लगानीकर्ता चुनावको समाचारले बजार बढ्छ भन्थे। तर, बजारमा १० वटा ब्रोकरहरु मिलेर घटाएको भन्ने हल्ला छ। बजार त यिनै बैंक र ब्रोकरहरु खेल्ने ठाउँ बनेको छ।’

‘विश्लेषकहरु २७९० मा सपोर्ट छ भन्छन्’, अर्का लगानीकर्ताले बोली नसक्दै उपस्थित अर्को लगानीकर्ताले थपे, ‘२७९० होइन। २७६० चाहिँ हो।’ 

छेउमा बसेका अर्का लगानीकर्ता भने, ‘धर्काको पनि के विश्वास गर्नु। पहिला–पहिला सुरुमा बजार घट्दा पछि हरियाली हुन्थ्यो। हेरौँ आज के हुन्छ !’

पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (ब्रोकर नम्बर २५)मा भने पुराना लगानीकर्ता कम र नयाँ ब्रोकर खाता खोल्न आएका लगानीकर्ताको संख्या बढी देखिन्थ्यो। त्यहाँ उपस्थित एक लगानीकर्ता भन्दै थिए, ‘यी ट्रेडरहरुलाई हाइड्रो कति मनपरेको। बजार घट्दा पनि हाइड्रो नै किन्छन्। बढ्दा पनि हाइड्रो नै।’

छेउमा बसेका अर्का लगानीकर्ता ‘निफ्रा र एनटीसीमा के पाक्दै छ ?’ भनेर प्रश्न गर्दै थिए। 

प्रश्नको उत्तर दिँदै सँगै बसेका अर्का लगानीकर्ताले ठट्टा गर्दै भने, ‘एनटीसीले बोनस सेयर दिन्छ भन्ने हल्ला गरेर महँगोमा बेचाउन होला नि।’    

दुवै लगानीकर्तालाई सुझाव दिँदै अर्का लगानीकर्ताले थपे, ‘निफ्रा, एनटीसीभन्दा पनि अपी किन्ने बेला हो। छिट्टै राइटको खबर आउने हल्ला छ। त्यसैले म त अहिले त्यही एभेरेजिङ गर्न लागिपरेको छु।’