– अर्जुन तिमिल्सिना

पोखरा । सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने प्रयासलाई निरन्तरता दिएका छौँ। यसपालि भने हामी पोखरामा रहेका विभिन्न ब्रोकर हाउस पुग्यौँ। 

बिहान ११ बज्दा नबज्दै हामी पोखराको न्युरोडस्थित कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति पातलो थियो। हामीले केही समय कोहिनूरका सञ्चालकसँग पोखराका लगानीकर्ता र ब्रोकरका समस्या, लगानीकर्ताको मनोविज्ञान तथा उनीहरुले सेयर कारोबार गर्दा गर्ने व्यवहारका विषयमा छलफल गर्यौँ। ब्रोकर सञ्चालकले अहिले यहाँका लगानीकर्ता पनि एमसीसी र चुनावकै कारण अन्यौलमा रहेको बताए। ‘तर पनि लगानीकर्ताहरु घटेर सेयर बेच्न चाहिरहेका छैनन्’, ती सञ्चालकले भने। 

पोखराका सेयर लगानीकर्ता पनि हाइड्रो कम्पनीका सेयरमा बढी आकर्षित भएको देखिन्छ। त्यसपछि विकास बैंक र वित्त कम्पनीमा अकर्षित भएको पाइन्छ। ‘अहिले ९५ प्रतिशत लगानीकर्ताले टीएमएसबाटै कारोबार गर्ने र थोरै मात्रै प्रथामिक सेयर बेच्न ब्रोकर हाउसमा आउने गरेका छन्’, ती सञ्चालकले भने, ‘टीएमएसमा भने नभएको सेयर बिक्री हुने समस्या यहाँ पनि देखिने गरेको छ। हाई भोलुमको सेयर कारोबार गर्दा सिस्टमा ह्याङ हुने समस्या पनि देखिन्छ।’

कोहिनूरमा केही समयको बसाइपछि हामी पोखराको न्युरोडमै रहेको कुमारी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थित बाक्लो नै रहेको थियो। एक लगानीकर्ता भन्दै थिए, ‘हकप्रद आउने आशले अरुण कबेलीको सेयर किनेको झन् घट्यो।’

उनीसँगै रहेका अर्का लगानीकर्ताले भने, ‘एमसीसी जसरी पनि पास हुन्छ, त्यही भएर मैले त मज्जाले साहस ऊर्जा खरिद गरेको छ। एकपटक बढेर ७०० रुपैयाँमाथि पुगेको थियो, अब कसो नबढ्ला र ?’

उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘आज पनि जलविद्युतमा नै आकर्षण देखियो, बढ्ने त हाइड्रो नै हो।’

त्यहाँबाट हामी पोखराको न्युरोडमा रहेको त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुग्यौँ। यतिबेलासम्म दिउँसोको १ बज्दै थियो। बजार निरन्तर घटिरहेको थियो। 

त्रिशक्तिमा भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘काठमाण्डौमा सडक तात्न थाल्यो, बजार के उँभोे लाग्ला र खोइ ?’ 

उनीसँगै रहेका अर्का लगानीकर्ताले भने, ‘एमसीसी जसरी पनि पास गर्छन् नै, केही दिन घटे पनि उछाल आउने त हाइड्रोमै हो।’

पोखराको न्युरोडमै रहेको नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) मा पुग्दा दिउँसोको २ः३० बज्दै थियो। बजार ४० अंकले घटेको थियो। त्यहाँ एक लगानीकर्ता भने केही अलमलमा देखिन्थे। त्यत्तिकैमा उनीसँगै बसेका अर्का लगानीकर्ताले मोबाइलमा समाचार देखाउँदै भने, ‘प्रधानमन्त्रीले एमसीसी जसरी पनि पास हुने भनेका छन्, बजार अब ठूलो अंकले घट्दैन।’