– अनन्त्य सुन्दर
काठमाण्डौ । साताको पहिलो दिन कारोबार भएको आज बजारमा ७.७३ अंकको गिरावट आउँदा कारोबार रकम ३.२ अर्ब भएको छ। विगत केही सातादेखि नेपाली सेयर बजारमा उत्साहजनक कारोबार हुन नसकेको अवस्था छ।
सरकारले पुँजीगत खर्च नगर्नुको साथै आयात बढ्दा तरलता चाप अहिले पनि उस्तै छ। सेयर बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्तासँग थप लगानी गर्ने पुँजी नभएको अवस्था छ। बैंक तथा वित्तीय संस्थाले पनि कर्जा दिने अवस्था नभएकाले लगानीकर्ताको कर्जा लिएर सेयर कारोबार गर्ने बाटो बन्द भएको छ।
साताको हरेक आइतबारझैँ हामीले आज पनि विभिन्न ब्रोकर हाउसमा गएर त्यहाँ उपस्थित लगानीकर्ता र बजारको कुरा सुन्ने कार्य जारी राखेका छौँ। आज ब्रोकर हाउसमा विगतको दिनहरुको तुलनामा कम थियो। उपस्थित भएकाहरु पनि बजारबाहेक अन्य क्रियाकलाप र गफमा नै व्यस्त देखिन्थे।
बजारमा कारोबार सुरु भएको केही समयपछि काठमाण्डौको अनामनगरस्थित दीपशिखा सेक्युरिटिज (ब्रोकर नम्बर ३८) मा लगानीकर्ताको आउने क्रम सुरु हुँदै थियो। आज एमसीसी पास हुने लगभग निश्चित भएकाले लगानीकर्ता पाँचथर पावरजस्तो राम्रो हाइड्रोमा लगानी गर्न सुझाव दिँदै थिए।
‘एनटीसीमा के छ?’, एक लगानीकर्ताले प्रश्न गर्दै उपस्थित अर्का लगानीकर्तालाई सोधे। छेउमा बसेको लगानीकर्ताले उत्तर दिँदै भने, ‘२००० त पक्का पुग्छ रे भन्छन्।’
ती लगानीकर्ताले जबाफ दिँदै के थिए अर्का लगानीकर्ताले भने, ‘५८ ले सबै उठाएको छ। अब त फाल्ने बेला पनि हुन् लग्यो होला, अब किन्यो भने त फसिन्छ मात्र।’
अर्का लगानीकर्ताले ती लगानीकर्ताको ‘होमा हो’ मिलाउँदै एनटीसीको सेल आएको दिन त बजार नै राताम्मे हुन्छ होला भनेर थपे।
अनामनगरस्थित आर्यतारा सेक्युरिटिज (ब्रोकर नम्बर ५७) मा उपस्थित लगानीकर्ता भने आज बजार ५० अंकले बढेर बन्द हुन्छ भन्दै थिए। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘म त आज नेपाल लाइफ किन्दैछु।’
छेउमा बसेका अर्का लगानीकर्ताले जबाफ दिँदै भने, ‘यो मूल्यमा नकिने कुनमा किन्ने ? मसँग त रु. २३०० को नेपाल लाइफ अझै छ।’
यसको त बोनसको मुद्दा छ रे भन्छन् त भनेर अर्का लगानीकर्ताले जिज्ञासा राखे। उनको उत्तर दिँदै छेउका लगानीकर्ताले भने, ‘मूल्य घटाएर आफूले सेयर थुपार्नलाई हो। पोहोर पनि यस्तै हल्ला गरेका थिए।’
एमसीसी पास भयो भने त बजार दुई–तीन दिन बढ्न सक्ने अर्का लगानीकर्ताले बताए। ‘५५ अर्बले के नै हुन्छ र ?’, छेउमा बसेका अर्काले जवाफ दिँदै भने।
ती लगानीकर्ताको प्रश्नको जबाफ दिँदै उनले भने, ‘५५ अर्ब त रकममा आउनेमात्र हो। एमसीसी आएपछि अन्य आर्थिक गतिविधि पनि त बढ्छ नि।’
त्यसपछि हामी न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज (ब्रोकर नम्बर ३२) तिर लाग्यौँ। अन्य ब्रोकरको तुलनामा भने त्यहाँ लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो। तर, त्यहाँ उपस्थित केही लगानीकर्ता भने टिकटक हेर्नमा व्यस्त थिए।
केही लगानीकर्ता भने एमसीसी आज नै टुंगो लाग्छ भन्दै थिए। एक लगानीकर्ता भन्दै थिए, ‘एमसीसी जे भए पनि गठबन्धन टुट्यो भने त्यसको भोलिपल्टदेखि दुई–दिन बजारले सर्किट हान्छ। बजारमा पैसा जति सबै एमालेसँग छ। गभर्नर पनि उस्कै पार्टीको हो।’
आईपीओ नपरेर दिक्क भएका एक लगानीकर्ता भने, ‘अबदेखि आईपीओ विशेष गरेर हाइड्रोमा एप्लाई गर्दैनँ। पैसामात्र काट्छ। सेयर पर्ने होइन।’
त्यसपछि हामी छेउमा नै रहेको एसियन सेक्युरिटिज (ब्रोकर नम्बर २६) तर्फ लाग्यौँ। अरु बेला नयाँ साथै पुराना लगानीकर्ताको घुइँचो हुने एसियन सेक्युरिटिजमा आज भने लगानीकर्ताको उपस्थिति शून्य थियो।
कालिकास्थानमा रहेको नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) मा भने ६–७ जना लगानीकर्ता उपस्थित थिए। उपस्थित लगानीकर्ता लुडो खेल्नमा व्यस्त देखिन्थे। अन्य लगानीकर्ता भने उनीहरुलाई अपडेट दिँदै थिए।
आज प्रिमियर, एसियनका साथै नेपाल स्टक हाउसको दृश्य हेर्दा बजारमा कारोबार रकममात्र नभएर लगानीकर्ता पनि सुस्ताएको देखिन्थ्यो। अधिकांश लगानीकर्ताले आफूसँग भएको पुँजी सेयरमा लगानी गरेका छन्। थप लगानी गर्न न त लगानीकर्ता आफूसँग पुँजी छ न त अन्य संस्थाहरुले कर्जा दिने अवस्था नै। त्यसैले धेरैजसो लगानीकर्ता कारोबार नगरी गफ गर्नका लागि भए पनि ब्रोकर अफिस धाउने गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago