– अर्जुन तिमिल्सिना

काठमाण्डौ । केही सातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार आज आइतबार पनि सामान्य अंकले घटेर बन्द भयो। बजारको पछिल्लो अवस्था, लगानीकर्ताको मनोबल र समस्या तथा ब्रोकर सञ्चालकको विचार बुझ्ने क्रमलाई सधैँझैँ साताको पहिलो दिन पनि हामीले निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी राजधानीको व्यस्त स्थान ज्ञानेश्वर र नक्सालका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालनको विचार बुझ्ने कोसिस गरेका छौँ। 

सबैभन्दा पहिले हामी ज्ञानेश्वरस्थित आफ्नै भवनमा निर्मित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौँ। यो ब्रोकरमा लागनीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ उपस्थित लगानीकर्ता बजार बढ्न नसकेकोमा अन्यौलता नै प्रमुख कारण रहेको बताउँदै थिए। 

यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अब त सबैतिर लकडाउन पनि खुल्यो। होटेल सेक्टर चल्न सक्छ।’

उनको सहमति जनाउँदै सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘चन्द्रागिरि हिल्सको सेयर आज २ प्रतिशतले बढेको छ, यो त निक्कै घटेको छ। बाईजोनमा आएको देखिन्छ।’

उनीहरुसँगै बसेका एक लगानीकर्ताले नेपाल  ल्युब आयल (एनएलओ)को सेयरले देखाउँदै भने, ‘यो कम्पनी त लामो समयपछि आज कारोबारमा आएको देखियो। यो पनि एसटीसीकै अवस्थामा पुगेपछि पाइएला।’

सोही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले अहिले बजारमा अन्तर्राष्ट्रिय घटनाक्रमले पनि असर गरेको बताए। ‘बल्लबल्ल कोभिडको प्रभाव हटेको थियो, अब फेरि विश्वयुद्ध नै होला भन्ने डर पो भयो’, ती लगानीकर्ताले भने, ‘विश्व नै ध्रुवीकरण भएको अवस्थामा के हो के ? तेल बढेर आकाश छोयो। अब डलर सञ्चिती पनि घट्ने र तरलतामा थप दबाब पर्ने हो कि !’

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले बजार घट्नुपर्ने घटिसकेकोले अब धेरै नघट्ने दाबी गरे। 

केही समयको बसाइपछि हामी त्यहाँबाट नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौँ। केही समय हामीले ब्रोकर सञ्चालकसँग पनि भलाकुसारी गर्यौँ। अहिले बजार प्रभावित हुनुमा तरलता अभाव नै मुख्य कारण रहेको ती सञ्चालकले बताए। ‘विस्तारै तरलता सहज हुँदै गएपछि बजारले बाटो तय गर्नेछ’, ती सञ्चालकले भने। 

बिहान केही समय बजार बढेको थियो। त्यहाँ केही लगानीकर्ता स्क्रिनमा त कोही आफ्नै ल्यापटमा बजार हेर्दै कारोबार गर्न व्यस्त देखिन्थे। लगानीकर्ताले आपसमा अन्तर्राष्ट्रिय घटनाक्रमका विषयमा छलफल गर्दै थिए। 

नासामै भेटिएका एक लगानीकर्ताले बजार अब धेरै तल नजाने बताउँदै थिए। 

त्यहाँबाट हामी नक्सालकै सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। ब्रोकरमा धेरैजसो नयाँ लगानीकर्ता नयाँ खाता खोल्न आएका देखिन्थे। 

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘बजार अब जति घट्नु घट्यो, अब प्राविधिक रुपमा पनि २४८० भन्दा तल जाँदैन।’

उनीसँग रहेका अर्का लगानीकर्ता भन्दै थिए, ‘अब त यी डिस्प्ले पनि खुल्नुपर्ने, सबैतिर खुलिसक्यो।’ 

केही समयको बसाइपछि हामी नक्सालमै रहेको थ्राइभ सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १३) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता उपस्थिति निकै पातलो थियो। त्यहाँ भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘बजारमा सुनको मूल्य निकै उकालो लाग्यो। अब सुनमा लगानी गर्नुपर्छ जस्तो छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ता भन्दै थिए, ‘ढिका पाए त हो, नत्र गहना किनेर के गर्नु ? जर्तीमै ज्याला बढी जान्छ। सेयर किन्यो ब्रोकरले कमाउने, सुन किन्यो सुन पसलेले कमाउने, हामी त रमाउनेमात्रै त हो नि !’