– अर्जुन तिमिल्सिना

काठमाण्डौ । केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्लो २ कारोबारमा गतिलो बाउन्सब्याक भएको छ। योसँगै लगानीकर्ताहरु उत्साहित बनेको देखिएको छ। 

साताको पहिलो दिन आइतबार सदाझैँ हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार तथा समस्या सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज बिहान ११ बज्दा नबज्दै काठमाण्डौको पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौँ। आज बजार खुलेदेखि निरन्तर बढिरहेको थियो।

प्राइमोमा एक लगानीकर्ताले लघुवित्तहरुको सेयरभाउ नबढेकोमा गुनासो गर्दै थिए। ‘यो साना किसान विकास लघुवित्तको सेयरमूल्य पनि बढ्नै सकेन’, ती लगानीकर्ताले भने, ‘यसपालि लघुवित्तमा खासै कमाउन सकिएन।’

ती लगानीकर्ताले मोबाइल हेर्दै भने, ‘आज त इन्स्योरेन्स पो बढेको छ। घट्न पनि धेरै घटेको थियो, अब इन्स्योरेन्स बढ्ने पालो जस्तो छ। पुँजी वृद्धिको पनि कुरा छ। एसियन लाइफ राम्रै बढ्ला जस्तो छ।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘नेपाल लाइफ पनि धेरै घटेको छ। ननलाइफमा शिखर पनि धेरै घटेको छ।’

यो बेलासम्म मध्याह्नको १२ बज्दै थियो। एक घन्टामा डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइसकेको थियो भने बजार पनि ४० अंकले बढेको थियो। 

प्राइमोमै भेटिएकी एक महिला लगानीकर्ता भन्दै थिइन्, ‘जीवन विकास लघुवित्तको २० कित्ता सेयर मलाई र आमालाई परेको थियो। एक लाखमाथि कमाइएको थियो तर दोस्रो बजारमा किनेका अन्य सेयरमा भने घाटै छ।’

ती महिला लगानीकर्ताले आफूलाई राष्ट्र उत्थान लघुवित्तको आईपीओ पनि परेको सुनाइन्। 

केही समयको बसाइपछि हामी पुतलीसडकमै रहेको अनलाइन सक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक महिला लगानीकर्ताले भित्र पस्दै भनिन्, ‘बढ्ने त हाइड्रो नै हो।’ उनले अपी हाइड्रो ५१४ रुपैयाँमा किन्न आदेश दिइन्। 

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘शिवम पनि माथि जाने देखिन्छ। धेरै घट्यो अब उठाउनुपर्छ।’

त्यहाँबाट हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) पुग्यौँ। दिउँसोको १ बज्दै थियो। बजारमा चमक कायमै थियो। त्यहाँ भेटिएका लगानीकर्ता पनि इन्स्योरेन्समा चमक आएको भन्दै थिए। ‘अब इन्स्योरेन्स कम्पनीहरुको लाभांशको पनि सिजन भएकोले इन्स्योरेन्स नै बढ्न सक्छ’, एक लगानीकर्ताले भने। 

न्युप्लाजमै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ केही लगानीकर्ता राजनीतिक गफमा व्यस्त देखिन्थे। 

प्रिमियरमा एक लगानीकर्ता भन्दै थिए, ‘चैतमा ब्याज नबढ्ने भएपछि अब बजार बढ्छ। चुनाव पनि हुन्छ। अब बल्ला लगानी गर्ने वातावरण बन्यो।’

अर्का एक लगानीकर्ताले भने आफू सेयर बजारमा नयाँ भएकोले धैर्यताको अभाव रहेको बताए। 

उनीसँगै रहेका अर्का लगानीकर्ताले भने, ‘बजार बढ्छ भनेर सबै पैसा एकैपटक लगाउनु गलत निर्णय हुन सक्छ।’