- अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामीेले बिहान ११ बज्दा नबज्दै काठमाण्डौको सुन्धारास्थित सुन्धार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। केही समय हामीले ब्रोकर हाउसका सञ्चालकसँग पनि कुरा गर्यौँ। ब्रोकर सञ्चालकले अहिले बजारमा तरलता अभाव नै मुख्य समस्या रहेको बताए। ठट्यौली पारामा उनले भने, ‘अर्थमन्त्रीले खोज्छु भन्नुभएको छ क्यारे, भेटिन्छ कि ! पैसा सहज भए नै बजार माथि जाने त हो नि।’
ती ब्रोकर सञ्चालकले अर्थमन्त्रीले समस्या पहिचान गरेर तथ्यांकका आधारमा बोल्न सुझाव पनि दिए। ‘अहिले सेयर वा घरजग्गा राखेर पनि मैले चिनेको साथीले ६ महिनादेखि ऋण पाएको छैन’, उनले भने।
चुनावी माहौल बने र बजेट खर्च भएमा केही सहज हुने ती ब्रोकर सञ्चालकको भनाइ छ।
सोही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले सोधे, ‘अहिले बैंक तथा वित्तीय क्षेत्रले हरेक महिना भुक्तानी (ईएमआई) मार्फत ब्याज मागेका छन्, अब बजारमा कस्तो असर पर्छ ?’
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘यो त झन राम्रै होला, अब त्रैमासिक रुपमा सेयर बजारमा प्रभाव पर्दैन।’
एक अर्का लगानीकर्ताले भने फोन गरेर सोध्दै थिए, ‘के किन्दा हुन्छ ?’
ब्रोकरबाट जबाफ आयो, ‘आज नेपाल लाइफको बुक क्लोज छ, यही ठिक होला।’
केही समयको बसाइपछि हामी खिचापोखरीस्थित मार्केट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ता भन्दै थिए, ‘इन्स्योरेन्स कम्पनीको पुँजी बढाउने हल्ला छ, के किन्दा होला ?’
सँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘सूर्या लाइफ हुन्छ होला ?’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो सिद्धार्थ इन्स्योरेन्सको पनि राम्रै कारोबार भएको छ। अब फेरि चमक इन्स्योरेन्समै आउलाजस्तो छ।’
केही समयपछि हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १०) मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति ठिकै थियो। लगानीकर्ताले क्रिप्टोकरेन्सीको चर्चा गर्दै थिए।
अर्का एक लगानीकर्ताले भन्दै थिए, ‘यो जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनसका लागि आज बुक क्लोज हुँदैछ।’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मलाई १० कित्ता परेको छ, यसैले दसैँ मान्ने हो।’
सोही ब्रोकर हाउसमा अर्का एक लगानीकर्ताले भने, ‘सीआईटी धेरै घट्यो, अब किन्ने बेला आयो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले एसबीआई बैंक नबढेकोमा चिन्ता गर्दै थिए।
केही समयको बसाइपछि हामी कमलादीमै रहेको दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३३)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ताले भने, ‘एमसीसी पास भएपछि पैसा आउँछ भन्थे, खोइ कता गयो ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘आजको भोलि आउने हो र ?’
आज कारोबार घटेकोमा टीप्पणी गर्दै अर्का एक लगानीकर्ता भने, ‘लगानीकर्ता किन्न पनि चाहँदैनन्, घटेर बेच्न पनि चाहँदैनन् ! बजारमा अन्यौलता भयो। टीएले अब त पक्कै बढ्छ भन्छन् तर कहिले बढ्ने होला खोइ ?’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago