– अर्जुन तिमिल्सिना
पोखरा । सधैँजस्तै साताको पहिलो दिन आइतबार हामीले ब्रोकर तथा लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामीले राजधानीबाहिर पोखराका लगानीकर्ता तथा ब्रोकरको विचार सुन्ने र बुझ्ने कोसिस गरेका छौँ। आज बजार खुल्दादेखि नै बीमा कम्पनीमा चमक आएको थियो । धेरैजसो बीमा कम्पनीमा आज ५ प्रतिशतभन्दा बढीले बढेको थियो भने केहीमा १० प्रतिशतले नै सर्किट पनि लागेको थियो । तर, बजार खुलेको पहिलो प्रहर बित्न नपाउँदै बीमा कम्पनीहरुमा आएको चमक विस्तारै हराउँदै गयो।
सबैभन्दा पहिले हामी पोखराको न्युरोडस्थित नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। सुरुमा बढेको बजार घट्न थालेपछि एक लगानीकर्ताले भने, ‘खेलाडीले सेयर नउठाएसम्म बजार बढ्लाजस्तो छैन।’
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले जबाफ दिए, ‘अहिले त खेलाडी पनि थला परिसके ब्याजदर बढेर। बढेको ब्याजमा पनि पैसा पाउने होइन । इन्स्योरेन्स त उठाउने नै हो, अरु फालेर कुन चाहिँ इन्स्योरेन्स उठाउँदा उचित होला ? ’
उनीहरुसँगै बसेकी एक महिला लगानीकर्ताले जबाफ दिइन्, ‘सानिमा लाइफ हुन्छ होला। एकपटक ८०० रुपैयाँसम्म पुगेको थियो।’
सोही ब्रोकर हाउसमा अर्का एक लगानीकर्ता पनि ‘प्रभु इन्स्योरेन्स नै उठाउँदा ठिकै होला’ भन्दै थिए।।
केही समयको बसाइपछि हामी पोखराको न्युरोडमै रहेको कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) पुग्यौँ। त्यहाँ हामीले केही समय ब्रोकर हाउसका सञ्चालकसँग बजारको अहिलेको अवस्थाका बारेमा कुराकानी गर्यौँ। ब्रोकर सञ्चालकले अहिले बजार नबढ्नुमा तरलता संकट नै मुख्य कारण भएको बताए। ‘आज इन्स्योरेन्समा भएको बढोत्तरी नटिक्नुमा लगानीकर्ताको मनोबल कमजोर देखिएको ती सञ्चालकको भनाइ थियो। धेरै लगानीकर्ता सहज रुपमा सेयर लोन नपाएका कारण सानो मार्जिनमा पनि नाफाबुक गर्ने अवस्था रहेको उनको विचार थियो।
आज बजारमा बीमा सेक्टर बढ्न नसकेपछि अरु सेक्टरमा पनि दबाब परेको ती सञ्चालकले बताए। ‘
तरलता सहज नहुन्जेल बजार बढ्न गाह्रो छ’, उनले भने।
केही समयको बसाइपछि न्युरोडमै रहेको कुमारी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। दिउँसको १ बजिसकेको थियो। बजारमा करेक्सन चल्दै थियो। त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘बैंकले अहिले निक्षेप खाज्दै ग्राहकका ढोका–ढोका चहार्दैछन्। तरलता संकट अझै लम्बिएलाजस्तो छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो चैतको प्रभावले बजार बढ्न नसकेको हो । अब एक सातापछि बजारले लय समात्छ।’
त्यहाँबाट हामी न्युरोडमै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) पुग्यौँ । त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। केही समय हामीले ब्रोकर सञ्चालकसँग कुरा गर्यौँ । त्यहाँका ब्रोकर सञ्चालकले पनि अहिले मुख्य समस्या पैसाकै भएको बताए। ‘ठूला लगानीकर्ता निष्क्रिय बस्दा पनि बजार चल्न नसकेको हो’, ती सञ्चालकले भने, ‘आज बजार घट्नुमा बीमा कम्पनीहरुले हकप्रद ल्याउन नपाउने भन्नेजस्ता हल्लाले पनि लगानीकर्तामा अन्यौलता देखिएका कारण हुन सक्छ।’
सोही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘बीमा कम्पनीहरुको सेयर केही टाठाबाठाले उठाएपछि एकपटक पक्कै बजार माथि लान्छन्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago