– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ। आज दिनभर बजारमा बिक्रीचाप देखिएको थियो।
सधैँको साताजस्तै आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकरको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले काठमाण्डौको पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६)मा पुगेका थियौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। बिहानैदेखि बजार घटेकोमा इंगित गर्दै एक लगानीकर्ताले भने, ‘खोइ नबिल बंैक पनि घटेको घट्यै छ, रक्सी (एचडीएल) पनि बढ्न सकेको छैन।’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो इमर्जिङ नेपालको सेयरमा के छ ? बढेको बढ्यै छ। २ हजार रुपैयाँ पुग्छ भन्छन्।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘भोलुम कम छ, त्यही भएर होला।’
सोही ब्रोकर हाउसमा केही लगानीकर्ता अघिल्लो साता भएको बनभोज कार्यक्रम निकै रमाइलो भएको चर्चा गर्दै थिए। यति बेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार निरन्तर घटिरहेको थियो।
केही समयको बसाइपछि हामी पुतलीसडकमै रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। उपस्थित केही लगानीकर्ता आपसमा छल्फल गर्दै भन्दै थिए, ‘अब त ब्रोकर हाउसका डिस्प्ले पनि खोल्नुपर्ने हो। डिस्प्ले नखोलेर कारोबार कम भयो। किनकि घरमा बसेर भन्दा ब्रोकरमा आएपछि नकिन्नेले पनि सेयर किन्छ।’
त्यहाँ केही लगानीकर्ताहरु भने लगानी गर्दा केमा फाइदा हुन्छ भनेर छलफल गर्दै थिए। एक लगानीले भने, ‘जग्गामा गरेको लगानीमा सबैभन्दा बढी फाइदा हुने रहेछ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘फाइदा त सेयरमा पनि हुन्छ नि। हामीले आजको भोलि खोजेर पो हो।’
सोही ब्रोकर हाउसमा एक लगानीकर्ता भन्दै थिए, ‘यो एनटीसी १७०० तिर किनेको चुर्लुम्मै डुबियो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो इमर्जिङ नेपालमा पनि डुब्ने नै हुन्। चन्द्रगिरी २५०० माथि किन्ने चुर्लुम्मै भए।’
यत्तिकैमा ब्रोकरको डिभाइसमा फोन आयो। उताबाट एक लगानीकर्ताले सोधने, ‘यो नेपाल लाइफ किन यति घटेको हो ? मैले त २५०० माथि किनेको अहिले त १००० मा नै आयो।’
ब्रोकरले जबाफ दिए, ‘अघिल्लो वर्ष ७५ प्रतिशत र अहिले १४ प्रतिशत बोनस पनि खानुभयो नि ! त्यही समायोजन भएको हो।’
उताबाट फेरि जबाफ आयो, ‘त्यति खाएर नि फाइदा छैन।’
यो बेलासम्म दिनको १ बज्दै थियो। बजार २५ अंकले घटेको थियो। कारोबार १ अर्ब पनि भएको थिएन।
केही समयको बसाइपछि हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) मा पुग्यौँ। त्यहाँ पनि केही लगानीकर्ता इमर्जिङ नेपालको अस्वाभाविक बढाइप्रति गुनासो गर्दै थिए। केही भने तेलको बढेको मूल्यले देशको अर्थत्रन्त्रलाई नै नकारात्मक असर गर्ने चर्चा गर्दै थिए।
त्यहाँबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको राम्रै उपस्थिति थियो। बजार बढ्न नसकेकोप्रति गुनासो गर्दै एक लगानीकर्ताले भने, ‘न हाम्रो सेयर १ रुपैयाँ बढेर खान्छ न त १ रुपैयाँ बढेर दिन्छ। बजार नै यस्तो के भयो ?’
यहीँ उपस्थित एक लगानीकर्ताले भन्दै थिए, ‘यो युनियन लाइफमा खरिदचाप देखिएको छ। के छ यसमा ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘१५ प्रतिशत बोनसको चर्चा छ।’
एक महिला लगानीकर्ताले सोध्दै थिइन्, ‘के किन्दा होला अब ?’
उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘बढ्ने त फेरि इन्स्योरेन्स नै हो, क्रसहोल्डिङ नभएका कम्पनीमा लगानी गर्दा राम्रै हुन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago