– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नयाँ वर्षको पहिलो कारोबार दिन भएकोले सेयर बजार के होला ? भन्ने चासो ब्रोकर हाउसहरुमा भेटिएका धेरै लगानीकर्तामा देखिन्थ्यो। अघिल्लो साताको अन्तिम कारोबार दिनमा बजार बढेर बन्द भएको थियो। आज कारोबारको पहिलो प्रहरमा करिब १२ अंकभन्दा बढेको थियो तर विस्तार घट्न थालेको बजार झन्डै ३० अंकको गिरावटका साथ बन्द भयो।
आज लामो समयपछि डिस्प्ले खुलेका कारण पनि ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति केही बढी र भिन्न देखिन्थ्यो। लागानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार बुझ्ने क्रममा सधैँको साताजस्तै आज पनि हामीले निरन्तरता दिएका छौँ।
आज बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले हामी काठमाण्डौको नक्सालस्थित थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर १३) मा पुग्यौँ। त्यहाँ डिस्प्ले खोलिएको थिएन। लगानीकर्ताको उपस्थिति पनि निकै पातलो थियो।
थ्राइबमा हामीले केही समय ब्रोकर सञ्चालकसँग भलाकुसारी गर्यौँ। बढेको बजार विस्तारै घटेकोप्रति संकेत गर्दै ब्रोकर सञ्चालकले भने, ‘बजारमा पहिला बैंकले कर्जा परिचालन गर्न ग्राहक खोज्न भन्थेँ, अहिले निक्षेप खोज्दै आएको अवस्था रहेको छ।’
मुख्य समस्या तरलता र ब्याजदर नै भएको ती सञ्चालकको भनाइ थियो। ‘अहिले धेरै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्’, उनले भने, ‘आफ्नै पैसा हुनेलाई अहिलेको यो बजारमा राम्रा कम्पनीका सेयर किन्ने अवसर छ, दीर्घकालमा अवश्य फाइदा हुन्छ।’
मध्याह्नको १२ बज्दै थियो। बजार विस्तारै घट्दै थियो। कारोबार निकै सुस्त ३०–३५ करोडमा सीमित थियो।
थ्राइबमा केही समयको बसाइपछि हामी नक्सालकै सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) पुग्यौँ। त्यहाँ भने डिस्प्ले खोलिएको थियो।
सनीमा केही नयाँ लगानीकर्ता फारम भर्दै थिए भने केही पुराना लगानीकर्ता बजार हेर्दै थिए। घटेको बजारलाई संकेत गर्दै एक महिला लगानीकर्ताले भनिन्, ‘यो शिखर इन्स्योरेन्स कति घटेको हो ? यो वर्ष केही दिन्नजस्तो छ।’
सँगै बसेका पुरुष लगानीकर्ताले भने, ‘बजार घटेपछि घट्ने नै भयो, पुँजी बढाउनै पर्नेछ केही न केही त दिन्छ नै।’
त्यही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘आउने मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत ४–१२ को क्याप हट्ने विषय छ रे ! राष्ट्र बैंकमा तयारी हुँदैछ भन्छन्।’ उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘चुनाव आउँदैछ, केही न केही त अवश्य हुन्छ।’
केही समयको बसाइपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। ब्रोकर हाउसका डिस्प्ले खोलिएको थियो। दिउँसोको १ बज्दै थियो। बजारमा निरन्तर गिरावट आइरहेको थियो।
सुमेरुमा भेटिएका लगानीकर्ताहरु नयाँ वर्षले पनि सेयर बजारमा राम्रो संकेत नदिएको बताउँदै थिए। ‘बजार बढ्ला भन्दा झनझन् घटेको घट्यै भयो’, एक लगानीकर्ता भने।
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अहिले नै हतास हुनुहुँदैन साथी ! एक न एक दिन बजार अवश्य बढ्छ। बजारले केही राम्रै समाचार पर्खेको छ।’
सुमेरुमै भेटिएका एक लगानीकर्ता भने ‘एउटा वाणिज्य बैंकमा विदेशबाट एफडीआईमार्फत ठूलै पैसा अउँदैछ’ भन्दै थिए। ‘अब विकास खर्च पनि बढ्दैछ। बजार सधैँ घट्दैन, हतास हुनु हुँदैन’, ती लगानीकर्ताले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago