– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँजस्तै साताको पहिलो कारोबार दिन आइतबार हामीले सेयर बजारको अवस्था बुझ्न राजधानीका विभिन्न ब्रोकर हाउसमा पुग्ने कार्यलाई निरन्तर दिएका छौँ।
लामो समय गिरावट आएको सेयर बजारमा आज केही फरक माहोल देखिन्थ्यो। बजारमा भेटिएका लगानीकर्तामा आज पनि बजारको दिशाको के होला भन्नेमा द्विविधा परेको देखिन्थे। केही भने अब बजार बढ्ने नै हो भन्दै थिए।
सबैभन्दा पहिले हामी काठमाण्डौको अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। एक लगानीकर्ताले ‘बजार अब बढ्ने नै हो त ?’ भनेर आशंका व्यक्त गर्दै थिए।
ती लगानीकर्तासँगै बसेका अर्का लगानीकर्ता भने, ‘अवश्य बढ्छ, यहाँभन्दा कति घट्नु ?’
ती लगानीकर्ता ठट्यौली पारामा फेरि भने, ‘मेरो त धुलोपिठो नै भयो। राष्ट्र उत्थान लघुवित्त १७०० तिर किनेको घटेर १२०० आयो।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजारको उकालो यात्रा कायमै थियो। सेयर भोलुम खासै बढ्न सकेको थिएन।
त्यहाँबाट हामी अनामनगरमै रहेको आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भने, ‘बजारमा टर्नओभर छैन। बजार धेरै माथि जालाजस्तो त लाग्दैन मलाई।’
त्यहाँबाट हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भने, ‘बजार धेरै घटेकोले पनि फर्केको हो। अघिल्लो साता केही बढेकोले आज बढेको छ। मुख्य विषय बजारमा आत्मबल नै हो।’
‘बजारमा बिक्री आउँछ नै, त्यो बिक्रीलाई खाने खरिदकर्ता आए भने बजार माथि नै जान्छ। बजारमा खेलाडीले बढाए भन्नु गतल हो। अहिले बजार कसैले तलमाथि गर्न सक्दैन’, ती लगानीकर्ताले थपे, ‘बजारमा कन्फिडेन्स नै हो। मैले त आज नबेच्ने निर्णय गरेँ। मनोबल बलियो भयो भने बिक्रीकर्ता पछि हट्दै जान्छ। खरिदकर्ताले थप सेयर किन्दै जान्छ।’
यतिबेलासम्म दिउँसोको साढे १ बज्दै थियो। बजार ६० अंकले बढिसकेको थियो।
एसियनमै भेटिएका अर्का एक लगानीकर्ताले भने, ‘आजै बेच्न अलि हतार होलाजस्तो छ। अब केही दिन हेर्नै पर्ने हुन्छ।’
केही समयको बसाइपछि हामी न्युप्लाजाकै प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा पुग्याँै। त्यहाँ पनि लगानीकर्ता कारोबारमा व्यस्त देखिन्थे। एक लगानीकर्ताले भने, ‘अब पनि बढ्ने भनेको हाइड्रो नै हो। अप्पर र अरुण भ्याली हाइड्रोमा राम्रै खरिदकर्ता छन्।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘आज बजार चुनाव हुने निश्चित भएपछि बढेको हो। देश चुनावमय बनेको छ। अब सेयर बजार पनि तात्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago