– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य धमाधम भइरहेको छ। केही स्थानमा स्थगित मतदान हुँदैछन्।

सेयर लगानीकर्ताहरु पनि अहिले चुनावी नतिजाको प्रतीक्षामा छन् । मतदानअघि निर्वाचन प्रचारप्रसारका क्रममा केही लगानीकर्ता खुलेरै स्वतन्त्र उम्मेदवार बालेन साहलाई मत माग्न मैदानमै उत्रेका थिए ।  केहीले भने सामाजिक सञ्जालमार्फत बालेन साहलाई समर्थन गरेको पाइन्छ । 

यसै सिलसिलामा आज हामी सेयर लागनीकर्ता तथा अन्य आमजनमानसको विचार बुझ्न काठमाण्डौको मतगणना भइरहेको राष्ट्रिय सभागृह पुगेका थियौँ। त्यहाँ भित्र मतगणना भइरहेको थियो भने बाहिर सयौँको उपस्थितिमा माहोल निकै नै तातेको थियो । उनीहरु भन्दै थिए, ‘देशमा जनातले विकल्प चाहेका छन्। यसैको परिणाम हो, अहिले बालेन साहले लिड गरिरहेका छन्।’

बालेन साह काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेदवार हुन्। यो समाचार तयार पार्दासम्म पनि बालेन साहले आग्रता लिइरहेका छन्।

राष्ट्रिय सभागृहमै केही सेयर लगानीकर्ताका नेताहरुपनि भेटिए। उनीहरु पनि बालेन साहकै पक्षमा रहेको देखियो।

स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की ‘अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने ?’ भन्ने अभियानबाट बालेन साहको जन्म भएको बताउँछन्। सेयर बजारका लगानीकर्ताले किन बालेन साहलाई समर्थन गर्ने ? भन्ने जिज्ञासामा उनले बालेनको समर्थन भनेको ‘नो भोट’ अभियानकै एउटा पाटो भएको बताए। ‘अहिलेको मत परिणामबाटै थाहा हुन्छ बालेनले दोब्बर मतले जित्नेछन्’, उनले भने, ‘बालेनको जितले देशैभरि नै बिगुल फुक्नेछ । यसले नेपाली राजनीतिमा तरंग उत्पन्न गर्नेछ।’ 

बालेनले जितेमा देशमा लाखौँ ‘बालेन’ जन्मने कार्कीको भनाइ छ। 

त्यही भीडमा खोज्दै जाँदा हामीले अन्य सेयर लगानीकर्ताका नेता पनि भेट्यौँ । सेयर बजार विकास र विस्तारका पक्षमा उभिने हरि ढकाल पनि बालेन साहको पक्षमा निर्वाचनअघिदेखि नै रणनीतिक योजना तर्जुमा गर्न तथा भोट माग्न नै खटिएका थिए। ‘सेयर लगानीकर्ताले राजनीतिक वृतलाई राम्रोसँग बुझाउन खोजेका हुन् तर उनीहरुले इग्नोर गरे’, ढकालले भने, ‘केही समय पहिला ‘नो भोट’ अभियान पनि चलेको थियो । काठमाण्डौमा सेयर बजारमा लाग्ने कति युवा लगानीकर्ता छन् भन्ने आँकडा हामीसँग थियो । त्यही आधारमा हामीले युवा अन्दोलन अर्थात बालेन आन्दोलन चलायौँ । यो आन्दोलन २०६२÷६३ को अन्दोलनजस्तै युवा आन्दोलन हो । त्यही भएर हामीले पनि ३० वर्षे युवा बालेनलाई समर्थन गर्यौँ। यो भीड हेर्दा पनि उनले जनताको मन जितेका छन् भन्ने प्रस्ट हुन्छ।’ 

‘कांग्रेस तथा कम्युनिस्ट पार्टीमा धेरै युवा छन्, जसले अवसर पाएका छैनन्’, ढकालले थपे, ‘बालेन साह महानगरको राजनीतिक फोहोर सफा गर्न आएका हुन्। उनले जितेमा अब देशभर सयौँ बालेन साहको जन्म हुनेछ र तिनले बानेश्वरको फोहोर सफा गर्नेछन्।’

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यसको परिणाम देखिने दाबी पनि ढकालले बताए। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी पनि राष्ट्रिय सभागृहमै भेटिइन्। राजनीतिक पार्टीका रुपमा अन्य पार्टीमा आस्था भए पनि उनी बालेन साहलाई समर्थन गर्न बाध्य भएकी छन्। ‘खोइ हाम्रो पार्टीको त आसै छैन, त्यसैले झन्डा पनि ल्याइनँ’, उनले भनिन्, ‘यहाँ बालेनका समर्थकहरु धेरै छन्, यसले युवा जागरुक भएको मान्न सकिन्छ।’ 

त्यहाँ उपस्थिति केही समर्थले भने बालेनले जितेमा आगामी चुनावमा स्वतन्त्र उम्मेदवार धेरै उठ्ने बताए। केहीले बालेनको समर्थन गर्दै भारतको केजरिवालसँगै तुलना गर्दै थिए। ‘बालेन पनि केजरिवालजस्तै भएकोले केही आश गर्न सकिन्छ’, उनीहरुले भने, ‘बालेनले जितेमा देशको राजनीति तरंग उत्पन्न हुनेछ। ठूला दलको राजनीतिमा धक्का पुग्नेछ।’