– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सोमबार पनि सेयर बजारमा गिरावट आएको छ। बजारमा लगातारको गिरावटका कारण लगानीकर्ताहरु निराश बन्दै गएका छन्।
सधैँको साताजस्तै आज पनि हामीले बजारको अवस्था बुझ्न विभिन्न ब्रोकर हाउसमा पुग्ने कार्यलाई निरन्तरता दिएका छौँ। सबैभन्दा पहिले हामी काठमाण्डौको न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। बजार भने बिहानैदेखि घटिरहेको थियो।
बजार निरन्तर घटिरहेकोले लगानीकर्ताहरु तनावमा देखिन्थे। एक लगानीकर्ताले भने, ‘मैले २ महिनापहिले ९४ लाखको सेयर किनेको अहिले त १८ लाख घटिसकेछ। बैंकबाट मार्जिन कल पनि आयो। केही सेयर र पैसा लगेर बल्लबल्ल हिसाब मिलाएँ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘एचडीएल त राम्रै घट्यो।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ता भन्दै थिए, ‘अब बजार बढ्ने आधार नै छैन। अब बजेट भाषणले बढ्यो भने हो होइन भने बजार धेरै बढ्लाजस्तो लाग्दैन।’
त्यही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने, ‘मैले एचआईडीसीएलमा १०० रुपैयाँ घाटामा सेयर बेचेँ। अप्परमा त कति हो कति ? मलाई त अब बजार आउन नै मन लाग्दैन, आयो कि तनाव हुन्छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बरु जग्गामा हालेको भए हुने रहेछ।’
ती लगानीकर्ताको बोली भुइँमा खस्न नपाउँदै अर्का लगानीकर्ताले भने, ‘जग्गामा पनि फसिने रहेछ। जग्गा दिन्छु भनेर ५ वर्षपहिले पैसा लगेको अहिलेसम्म न जग्गा न पैसा भएको छ मेरो।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार २५ अंकले घटिसकेको थियो।
केही समयको बसाइपछि हामी त्यहाँबाट अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘बजार आज २२०० तल आउलाजस्तो छ। यो गभर्नरको बोलीले बजार झनै खस्यो।’
उनीसँगै बसेका अर्का लगानीकर्ता सोध्दै थिए, ‘नबिल बैंक र सिद्धार्थ बैंक बढेको छ, कारण के हो ? बढाएर बेच्ने दाउ हो कि ?’
त्यहाँबाट हामी अनामनगरमै रहेको आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) पुग्यौँ। दिउँसोको १ बजिसकेको थियो। बजार २२०० बाट तल कारोबार भइरहेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताहरु निराश देखिन्थे।
एक लगानीकर्ताले निराश हुँदै भने, ‘बजार अब १–२ वर्ष नै यस्तै होलाजस्तो छ। गभर्नर र मन्त्रीको कुरै मिल्दैन।’
त्यहीँ भेटिएका अर्का लगानीकर्ताले राजनीतिक गफ गर्दै भने, ‘काठमाण्डौ महानगरको चुनाव बालेनले जित्ने पक्का भयो। ठूला पार्टीदेखि जनता वाक्क भइसके।’
त्यहाँ केही समयको बसाइपछि हामी अनामनगरकै इम्पेरियल सेक्युरिटिज (स्टक बोकर नं. ४५) पुग्यौँ। दिउँसोको २ बज्दै थियो। त्यहाँ उपस्थित लगानीकर्ता भन्दै थिए, ‘बजार अब जेठ १७ गतेपछि बढ्छ, मैले त बजेट आउने १ दिन अगाडि किन्ने हो। आजै किन किन्ने ?’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago