– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँको साताझैँ आज सोमबार पनि हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

बजेट आइतबार सार्वजनिक गरिएको थियो। बजेट सार्वजनिकपछि लगानीकर्तामा आज बजार के होला भन्ने जिज्ञासा सामाजिक सञ्जाजहरुमा बिहानैदेखि देखिएको थियो। 

हामी आज काठमाण्डौको कमलादीआसपासका विभिन्न ब्रोकर हाउसमा पुग्यौँ। बजारमा नेप्सेचोक पनि भनेर चिनिने कमलादीका सबै ब्रोकरमा लगानीकर्ताको उपस्थिति राम्रै देखिन्थ्यो। 

बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले हामी केहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) मा पुग्याँै। त्यहाँ केही लागानीकर्ता आपसमा बजार घटेकोमा अर्थमन्त्रीलाई दोष दिँदै बसेको पाइयो। 

त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘बजेटपछि पनि बजार बढ्न सकेन। यस्तै हो भने त बजार तलै आउलाजस्तो छ। बजार घट्दा कोही बोल्ने होइन।’

त्यहाँ केही समयको बसाइपछि हामी कमलादीकै प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिती राम्रै थियो। यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार ३० अंकभन्दा बढीले घटेको थियो। 

प्रज्ञानमा भेटिएका एक लगानीकर्ताले आज बजार नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबी)को सेयर कारोबारले पनि घटेको बताए। ‘अझै २ लाख कित्ता बिक्रीमा रहेको छ’, ती लगानीकर्ताले भने, ‘यसै त बजेटले बजार कमजोर भएको थियो, त्यसमाथि यो एनआईबीको कारोबारले झनै बिगार्यो।’

उनीसँगै रहेका अर्का लगानीकर्ताले भने, ‘यो सेयर बजारमा पनि आक्कलझुक्कल मात्रै कमाइने रहेछ।’

सँगै बसेका अर्का साथीले भने, ‘यो बजारमा त झुक्काएर कमाउने त हो नि बाठाहरुले !’

‘मेगा बैंक हेर्नुहोस् न, केही दिनपहिले एनआईबीसँग मर्ज जाने भनेर ३० रुपैयाँ त बढ्यो नि ! यो बजारमा अहिलेको बेला ३० रुपैयाँभन्दा कति खानु त ?’, उदाहरण दिँदै प्रज्ञानमै भेटिएका अर्का लगानीकर्ताले भने, ‘सबै ५८ र २८ बाट खाएको छ। दीपेन्द्र अग्रवालको खेल पनि हुन सक्छ। मर्जर भाँडियो भने त मेगा बैंक २०० मै आउँछ।’

उनीसँगै बसेका एक लगानीकर्ताले निराश हुँदै भने, ‘बजार त यही अवस्था रहे २००० नै नआउला भन्न सकिन्न।’

प्रज्ञानबाट हामी कमलादीकै श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। केहीले हिजोको बजेट राम्रो नआएको भन्दै अर्थमन्त्रीलाई सराप्दै थिए। केही भने नेपाल लाइफको सेयर २२०० रुपैयाँमा किनेर १७०० रुपैयाँमा घाटामै बेचेर राम्रै गरेको भन्दै मख्ख देखिन्थे। 

एक लगानीकर्ताले भने, ‘मैले त नेपाल लाइफ बेचेर सूर्या लाइफ किनेँ, मेरो साथीले एक हप्तापहिले नै ५० हजार कित्ता उठाएको रहेछ, अब धेरै घट्दैन। अब त सूर्या लाइफ राम्रो हुन्छ भन्छन्।’

उनीसँगै बसेका साथीले भने, ‘नेपाल लाइफ भने नेपाल लाइफ नै हो नि ! अघिल्लोपटक पनि ७५२ रुपैयाँमा आएर माथि गएको थियो।’ 

त्यहाँबाट हामी दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड  सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) मा पुग्यौँ। यतिबेलासम्म दिउँसोको २ बज्दै थियो। बजार निरन्तर घट्दै थियो। 

त्यहाँ उपस्थित एक लगानीकर्ताले भन्दै थिए, ‘सेयर त किन्ने यस्तै बेला हो। तर, आज किन्यो भोलि घाटा, भोलि किने पर्सि घाटा, अब त खल्ती नै खाली भइसक्यो।’